close

दियालोले भित्र्यायो प्रदूषित पानीलाई प्राकृतिक रूपमा प्रशोधन गर्ने जेन-४ नानो-बायो प्रविधि

टेकपाना टेकपाना

साउन ५, २०८३ ११:५१

दियालोले भित्र्यायो प्रदूषित पानीलाई प्राकृतिक रूपमा प्रशोधन गर्ने जेन-४ नानो-बायो प्रविधि

काठमाडौं । नेपालको सफ्टवेयर तथा डिजिटल प्रविधि क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको दियालो टेक्नोलोजिजले जलस्रोत, माटो र वातावरणीय संरक्षणका लागि अत्याधुनिक जेन-४ नानो-बायो प्रविधि नेपालमा भित्र्याएको छ । कम्पनीले भारतको प्रतिष्ठित बायोरिजेन बायोसाइन्सेज प्रालिसँगको साझेदारीमा यो नवीन प्रविधि नेपालभर विस्तार तथा कार्यान्वयन गर्ने भएको हो ।

यससँगै नेपालमा पहिलो पटक जलाशय पुनर्जीवन, औद्योगिक फोहोर पानी व्यवस्थापन तथा माटो सुधारका लागि अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक जैविक प्रविधि व्यावसायिक रूपमा उपलब्ध हुनेछ ।

यसले कसरी काम गर्छ ?

साझेदारी अन्तर्गत जलाशयहरूको पुनर्जीवनका लागि एक्वारिगेटिन र बायोरिगेटिन नामक फाइकोरमिडिएसन प्रविधि नेपालमा प्रयोग गरिनेछ । यो प्रकृतिमा आधारित नानो न्युट्रिएन्ट प्रणाली हो, जसले पानीको पारिस्थितिक प्रणालीलाई प्राकृतिक रूपमै सन्तुलनमा ल्याउँछ ।

यो नवीन प्रविधिले पानीमा प्राकृतिक रूपमा रहेका लाभदायक सूक्ष्म जीवहरू, विशेष गरी डायटम्स तथा उपयोगी लेउलाई सूर्यको प्रकाश र कार्बनडाइअक्साइडको सहयोगमा सक्रिय बनाउँछ । यसले पानीमा प्राकृतिक रूपमै अक्सिजनको मात्रा बढाउनुका साथै पानीमा रहेका जैविक प्रदूषणका सूचकहरू बीओडी र सीओडीलाई उल्लेखनीय रूपमा घटाउने काम गर्छ ।

यसबाट पानीमा जम्मा भएका अतिरिक्त नाइट्रोजन र फस्फोरसको मात्रा कम गर्ने र दुर्गन्ध नियन्त्रण गर्न सकिन्छ । साथै जलाशयको पिँधमा जम्मा भएको जैविक लेदोलाई प्राकृतिक प्रक्रियाबाटै बिस्तारै विघटन गर्न यो प्रविधि उपयोगी मानिन्छ ।

यो प्रविधि सञ्चालनका लागि कुनै ठुलो भौतिक पूर्वाधार, हानिकारक रसायन वा अत्यधिक विद्युत्‌को आवश्यकता नपर्ने कम्पनीको दाबी छ ।

कहाँ-कहाँ हुनसक्छ यसको प्रयोग ?

यो प्रविधि जलाशय पुनर्जीवनमा मात्र सीमित नभएर विभिन्न क्षेत्रमा प्रभावकारी सिद्ध हुने कम्पनीले जनाएको छ । यसको सहयोगमा उद्योगहरूबाट निस्कने केमिकल र प्रदूषित पानीलाई प्राकृतिक र वातावरणमैत्री तरिकाले प्रशोधन गर्न सकिनेछ । माटोको गुणस्तर सुधार्न र खेतीपातीमा रासायनिक मल तथा कीटनाशकको प्रयोग न्यूनीकरण गर्न उपयोगी हुनेछ ।

घर तथा फार्महरूबाट निस्कने जैविक फोहोरलाई द्रुत गतिमा उच्च गुणस्तरको प्राङ्गारिक मलमा रूपान्तरण गर्ने कार्य पनि यसले गर्न सक्छ । गल्फ कोर्स, सार्वजनिक पार्क तथा पशुपालन फार्महरूको सरसफाइ र गन्ध नियन्त्रण गर्ने कार्यमा पनि यसको उपयोग गर्न सकिन्छ ।

विश्व बजारमा सफल प्रमाणित !

यो नवीन प्रविधिको सफल प्रयोग भारत, मलेसिया, भियतनाम, थाइल्याण्ड र संयुक्त राज्य अमेरिका जस्ता विभिन्न विकसित देशहरूमा भइसकेको छ । भारतको नयाँ दिल्लीस्थित प्रसिद्ध दिल्ली गल्फ क्लब, मलेसियाको सुङ्गाई गोङ नदी तथा भारतकै मथुरास्थित राधेश्याम कुण्ड जस्ता ठुला वातावरणीय सुधार परियोजनाहरूमा यो प्रविधि प्रयोग गरी पानीको गुणस्तरमा उल्लेखनीय र सकारात्मक सुधार आइसकेको छ ।

विस्तारको योजना

नेपालमा परम्परागत ढल वा पानी प्रशोधन केन्द्र स्थापना गर्न करोडौँको लगानी, ठुलो पूर्वाधार र विशेष दक्ष जनशक्ति आवश्यक पर्छ । तर, यो नानो-बायो प्रविधिमा ठुलो पूर्वाधार नचाहिने, न्यूनतम ऊर्जा खपत हुने र सीमित जनशक्तिबाटै सजिलै सञ्चालन गर्न सकिने भएकाले नेपालका नगरपालिका, गाउँपालिका र अन्य स्थानीय तहहरूका लागि यो अत्यन्तै प्रभावकारी, किफायती र व्यावहारिक विकल्प बन्ने विश्वास कम्पनीको छ ।

साझेदारीअनुसार बायोरिजेन बायोसाइन्सेजले आफ्ना जेन-४ जैविक उत्पादनहरू नेपालमा उपलब्ध गराउनेछ भने दियालो टेक्नोलोजिजले बजार विस्तार, प्रविधि कार्यान्वयन, डिजिटल मनिटरिङ र समग्र परियोजना व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ ।

दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर मेलिना खनालले भनिन्, "हाम्रो लक्ष्य केवल प्रदूषण नियन्त्रण गर्नु मात्र होइन, बरु हाम्रा जलस्रोत, माटो र समग्र प्राकृतिक पर्यावरणलाई नै पुनर्जीवन दिनु हो । यसका लागि हामीले वैज्ञानिक, दिगो र पूर्ण रूपमा वातावरणमैत्री समाधान नेपालमा ल्याएका छौं । यस साझेदारीले नेपालको वातावरण संरक्षणको क्षेत्रमा नयाँ र सकारात्मक सम्भावनाहरूको सिर्जना गर्ने विश्वास हामीले लिएका छौँ ।"

सन् २०१२ देखि नेपालको डिजिटल प्रविधि विकासमा क्रियाशील दियालो टेक्नोलोजिजले यसअघि नै विभिन्न क्षेत्रको डिजिटल रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको छ । कम्पनीले स्मार्ट खानेपानी व्यवस्थापन, पानी वितरण तथा प्रणालीको अटोमेसन, यातायात व्यवस्थापन, अनलाइन बस टिकेटिङ र भौगोलिक सूचना प्रणाली (जीआईएस) जस्ता क्षेत्रहरूमा नवीन सफ्टवेयर सोलुसन प्रदान गर्दै आएको छ ।

अब डिजिटल सफ्टवेयर प्रविधिसँगै जैविक विज्ञान (Biotech) को नवीनतम कडी जोडेर बागमती, रुद्रमती, इच्छुमती जस्ता धार्मिक एवं ऐतिहासिक महत्त्वका नदीहरू र विभिन्न तालपोखरीहरूको संरक्षण तथा पुनर्जीवनमा प्रभावकारी समाधान दिने कम्पनीको योजना छ । यो पहल आगामी पुस्ताका लागि स्वच्छ, स्वस्थ र दिगो वातावरण निर्माणका दिशामा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुने कम्पनीको अपेक्षा छ ।

 

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ ११:५४