close

नथिङको मिडरेञ्ज फोन २एका मुख्य स्पेक लिक, फेब्रुअरीमा सार्वजनिक हुने अपेक्षा

टेकपाना टेकपाना

पुस २, २०८० १०:५०

नथिङको मिडरेञ्ज फोन २एका मुख्य स्पेक लिक, फेब्रुअरीमा सार्वजनिक हुने अपेक्षा

काठमाडौं । नथिङ ब्रान्डले आगामी दिनमा सार्वजनिक गर्ने फोन नथिङ फोन २एका स्पेसिफिकेसन लिक भएका छन् । टिप्सटर योगेश ब्रारले आइतवार उक्त फोनको टेस्ट युनिटका तस्विर, मुख्य स्पेसिफिकेसन, अन्य विवरणसँगै सार्वजनिक हुने सम्भावित बाहिर ल्याएका हुन् ।

नयाँ लिक अनुसार नथिङ फोन टुए मा १२० हर्जको ओलेड प्यानल, ५० मेगापिक्सेलका दुई ओटा क्यामेराको सेटअप, नथिङ फोन २ जस्तै देखिने रिडिजाइन गरिएको ग्लिफ इन्टरफेस, एन्ड्रोइड १४ मा आधारित नथिङ ओएस २.५, १२८ जीबी स्टोरेजसँग गाँसिएको आठ जीबी र्‍याम रहनेछन् ।

यसका साथै नथिङ फोन टुएमा डाइमेन्सिटी ७२०० चिप रहने कुराको पनि यो लिकले पुनः निश्चित गरेको छ । नथिङले मिडियाटेक चिपसेट प्रयोग गर्न थालेको यो नै पहिलो पटक हो, यससँगै आगामी दिनमा कम्पनीले डाइमेन्सिटी प्रयोग गरेका मिडरेञ्ज स्मार्टफोन र स्न्याप ड्रागन राखिएका फ्ल्यागशिप फोनबीचको भिन्नता समेत देख्न सकिनेछ ।

टेस्ट युनिटका तस्विरको कुरा गर्नु पर्दा नथिङ फोन टु एको अगाडि र पछाडि भाग देख्न सकिन्छ । तर रिडिजाइन गरिएको ग्लिफ सिस्टम भने त्यसमा देख्न सकिंदैन । यद्यपि त्यसमा पछाडि भागमा रहने दुई ओटा क्यामेरा सिस्टम फोनको माथिल्लो भागमा नभएर अलि तल बीच भागतर्फ देखिन्छन् ।

फोनको अगाडि भागमा हेर्ने हो भने नथिङ फोन टुमा जस्तै डिस्प्लेको बीच भागमा सेल्फी क्यामेराको पञ्चहोल देख्न सकिन्छ । ब्रारले नथिङ फोन टुएको सार्वजनिक हुने सम्भावित मिति समेत उल्लेख गरेका छन्, जुन चाहिँ सन् २०२४ मा हुने मोबाइल वर्ल्ड कँग्रेस रहेको छ ।

त्यसो त नथिङले यस अघि नै २७ फेब्रुअरीका दिन हुने कार्यक्रमका लागि निमन्त्रणाहरू पठाइसकेको छ । सम्भवतः सोही कार्यक्रममा नथिङ फोन थ्रीसँगै नथिङ फोन टुए पनि सार्वजनिक हुनेछ । ब्रारले यो फोनको मूल्य ४०० अमेरिकी डलर हुने अपेक्षा समेत व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २, २०८० १०:५०