close

‘नथिङ फोन टु’ सार्वजनिक, मूल्य साढे ७८ हजार रुपैयाँ

टेकपाना टेकपाना

असार २७, २०८० १२:५०

‘नथिङ फोन टु’ सार्वजनिक, मूल्य साढे ७८ हजार रुपैयाँ

काठमाडौं । पारदर्शी फोनको उपनामबाट परिचित नथिङले फोन टु सार्वजनिक गरेको छ । यसअघि आफ्नो पहिलो फोन नथिङ फोन वन ल्याएको कम्पनीले मंगलबार फोन टु सार्वजनिक गरेको हो । यसो त नथिङ फोनले पारदर्शी ब्याक कभर मात्र नभई आईफोनजस्तै डिजाइन भएकाले पनि बढी चर्चा पाएको थियो ।

आईफोन स्तरकै फोन एन्ड्रोइड फोनका रूपमा आउनु र मूल्य पनि फिचर अनुसारकै राखेको भन्दै फोन वनको बढी तारिफ भएको थियो ।

नथिङका संस्थापक कार्ल पेई फ्ल्यागशिप किलर वनप्लसका सह-संस्थापक पनि हुन् । प्रयोगकर्तालाई मध्यनजर गर्दै उनीहरूको आवश्यकता अनुसारका फोन ल्याउनुपर्छ भन्ने मान्यता राख्ने उनले करिब एक वर्षको अन्तरालपछि नथिङ फोनको नयाँ सिरिज नथिङ फोन टु ल्याएका हुन् । 

कस्तो छ नथिङ फोन टु ?

लुक्स हेर्ने हो भने नथिङ फोन टु फोन वनभन्दा त्यति भिन्न देखिँदैन । यद्यपि डिजाइनमा कम्पनीले फोन टुमा केही परिवर्तन ल्याएको छ । 

क्यामेराका सन्दर्भमा नथिङ फोन टुको डिजाइन फोन वन जस्तै छ । फोनमा दुई ओटा रियर क्यामेरा (वाइड र अल्ट्रावाइड) तथा एउटा सेल्फी क्यामेरा रहेको छ । 

कम्पनीले फोन टुमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० क्यामेरा समावेश गरेको छ । जसलाई मिड-रेञ्जकै क्यामेरा सेन्सर मान्न सकिन्छ । यो फोन वनभन्दा स्तरीय क्यामेरा सेन्सर हो भने कम्पनीले प्रोसेसर पनि उत्तिकै स्तरीय उपलब्ध गराएको दाबी गरेको छ । 

अर्को रियर क्यामेरामा भने कम्पनीले ५० मेगापिक्सेलको सामसङ जेएन वन सेन्सर समावेश गरेको छ । बाँकी क्यामेरा फिचर भने नथिङ फोन वनकाे जस्तै छन् । 

सेल्फी क्यामेराका सन्दर्भमा कम्पनीले ३२ मेगापिक्सेलको सोनी आईएमएक्स ६१५ क्यामेरा सेन्सर उपलब्ध गराएको छ । यसअघिको नथिङ फोन वनमा भने १६ मेगापिक्सेलको आईएमएक्स ४७१ सेन्सर राखिएको थियो ।

नथिङ फोन टु २०२२ को एन्ड्रोइडको दुनियामा शक्तिशाली चिपसेट मानिएको स्न्यापड्रागन ८ प्लस जेनद्वारा सञ्चालित छ । पछिल्लो समय सामसङले ल्याएका प्रिमियम फोनहरूमा पनि यही चिपसेट राखिएको छ ।

नथिङ ओएस २.० र एन्ड्रोइड १३ मा आधारित यो सिरिजमा कम्पनीले तीन वर्षको एन्ड्रोइड अपडेट र चार वर्षको सेक्युरिटी अपडेट उपलब्ध गराउने बताएको छ । 

नथिङ फोन टुमा ६.७ इन्चको डिस्प्ले राखिएको छ । जब कि फोन वनमा ६.५५ इन्चको डिस्प्ले राखिएको थियो ।

डिस्प्ले सुरक्षाका लागि कम्पनीले यो सिरिजमा गोरिल्ला ग्लास फाइभ उपलब्ध गराएको छ । यसअघि डिस्प्लेको दायाँपट्टि सेल्फी क्यामेरा राखिएको थियो भने अहिले बीच भागमा कटआउट डिजाइनमा क्यामेरा राखिएको छ ।

१२० हर्ज रिफ्रेस रेट भएको नथिङ फोन वनमा पहिलेको जस्तै एलटीपीओ ओएलईडी डिस्प्ले राखिएको छ । 

फोनमा कम्पनीले ४७०० एमएएच क्षमताको ब्याट्री दिएको छ । जसलाई चार्ज गर्न कम्पनीले ४५ वाटको फास्ट चार्जर दिएको छ । 

वायरलेसका सन्दर्भमा यो फोनले १५ वाट सपोर्ट गर्ने र रिभर्स चार्जिङका सन्दर्भमा ५ वाट सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।

नथिङ फोन टुको मूल्य कति होला ?

यसअघि केही विशेष फिचरमात्र लिक भएको फोन टु कस्तो होला भन्ने धेरैको उत्सुकता थियो । कम्पनी अनुसार यो सिरिज ८ र १२ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ ।

८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य ५९९ अमेरिकी डलर (करिब ७८ हजार ५०० रुपैयाँ) तोकिएको छ । 

त्यस्तै १२ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ६९९ डलर (करिब ९२ हजार रुपैयाँ) र १२ जीबी र्‍याम र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ७९९ डलर (करिब एक लाख पाँच हजार रुपैयाँ) राखिएको छ ।

मंगलबारदेखि प्रि-अर्डरका लागि खुलाइएको सो फोन आगामी सोमबारदेखि अमेरिकामा उपलब्ध हुनेछ । नेपाली बजारमा याे फाेन आउन केही महिना लाग्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असार २७, २०८० १३:४१