close

के तपाईंले रोमनमा नेपाली लेखेर च्याटजीपीटीसँग कुरा गर्नु भएको छ ?

सञ्जीवन राई सञ्जीवन राई

चैत ७, २०८० १९:३७

के तपाईंले रोमनमा नेपाली लेखेर च्याटजीपीटीसँग कुरा गर्नु भएको छ ?

काठमाडौं । भाषाकै कुरा गर्दा अहिले विश्वभर अङ्ग्रेजी भाषाको दबदबा छ । प्रविधि क्षेत्रमा पनि यसको प्रभाव छुट्ने कुरा भएन । यसकारण अहिलेका धेरैजसो चर्चित एआई टुल अङ्ग्रेजी भाषामै आधारित छन् । 

एआई टुललाई निर्देशन दिने प्रम्प्ट जति राम्रो भयो, नतिजा त्यति नै सटीक आउँछ । तर धेरै सूचना अङ्ग्रेजीमा छन् । किनकी एआई मोडेललाई तालिम नै अङ्ग्रेजी भाषामा रहेको डेटा सेटमा दिइएको छ । 

अहिलेका केही चर्चित एआई टुल स्थानीयकरण हुन थालेका छन् । त्यस अन्तर्गत एउटामा मात्र नभएर विभिन्न भाषामा ती टुल चलाउन सकिन्छ ।

यसको राम्रो उदाहरण ओपनएआईको च्याटजीपीटी, माइक्रोसफ्टको कोपाइलट, गुगलको जेमिनाई आदि हुन् । ती एआई टुल बहुभाषामा प्रयोग गर्न सकिन्छ ।

यी टुलले के नेपाली भाषा सपोर्ट गर्छन् त ? सायद नेपाली प्रयोगकर्ताबीच यो चासोको विषय हुन सक्छ ।

हामीले जेमिनाई, कोपाइलट र च्याटजीपीटीमा यसबारे परीक्षण गरेका छौं । नेपाली भाषा देवनागरी र रोमन लिपीमा लेख्ने गरिन्छ । हामीले यी दुवै लिपी ती टुलमा प्रयोग गरेका छौं । सबैभन्दा सुरुमा गुगलको जेमिनाईको नतिजा हेरौं:​ 

गुगलको चर्चित च्याटबट जेमिनाईलाई नेपाली र रोमनमा दुवै प्रश्न सोध्दा च्याटबट निकै कमजोर भएको पाइयो । हामीले च्याटबटमा सगरमाथाबारे निकै सामान्य प्रश्न सोधेका थियौं ।

नेपालीमा प्रश्न गर्दा च्याटबटले यस भाषामा प्रतिक्रिया दिन नसक्ने बतायो । रोमनमा प्रतिक्रिया दिएपनि त्यो स्तरीय थिएन । बटले रोमनमा दिएको उत्तर हिन्दी भाषाबाट प्रभावित भएको थियो । 

हाम्रो परीक्षण दौरान नेपाली भाषामा कुरा गर्न यो च्याटबट उपयुक्त पाइएन ।

अब कुरा गरौं, माइक्रोसफ्टको कोपाइलट (Copilot) बारे । 

जेमिनाईलाई जस्तै हामीले यस टुलमा पनि नेपाली र रोमनमा सगरमाथाबारे प्रश्न गर्यौं । यसले दुवैमा जवाफ दिन सक्यो । दुवै माध्यममा यसले दिएको जवाफ निकै उत्कृष्ट छ । तर त्यसो भन्दै गर्दा पूरै भर परिहाल्नु भने हुँदैन ।

यस टुलले आफूले ल्याएको सूचनाको स्रोत समेत दिने गर्छ । जसले गर्दा थप सूचना लिन परे त्यसमा क्लिक गर्न सकिन्छ । त्यस्तै उत्तरको अलि तल त्यही विषयसँग सम्बन्धित थप प्रश्न पनि आफैं तयार पारिदिएको हुन्छ । त्यसमा क्लिक गरेर पनि आफूले सोधेको विषयबारेमा थप जानकारी लिन सकिन्छ । 

कोपाइलटले रोमनमा दिने जवाफ अहिलेका युवापुस्ताले नेपाली र अङ्ग्रेजी दुवै मिसाएर बोले जस्तै हुने गरेको पाइयो । जुन निकै रमाइलो हुन सक्छ । नेपालीमा भने अनुवादको समस्या अझैं पनि धेरै रहेको छ । शब्द चयन र वाक्य संरचनामा भने यो टुलले राम्रै गरेको पाइयो । 

त्यस अर्थमा यस टुलमा नेपाली भाषामा कुराकानी गर्न सकिन्छ । सम्झनु पर्ने कुरा कोपाइलट ओपनएआईको जीपीटी मोडेलमा आधारित रहेको छ ।

अब ओपनएआईकै च्याटजीपीटीको कुरा गरौं ।

माथिका दुई एआई टुललाई गरेको प्रश्न नै च्याटजीपीटीमा हामीले गर्यौं । यसले पनि ती दुवै लिपीमा उत्तर दिन सक्यो । यस टुलमा जवाफको स्रोत उपलब्ध हुँदैन । त्यसो हुँदा यसको उत्तर कोपाइलटको भन्दा भिन्न हुन्छ ।

देवनागरी र रोमन दुवै माध्यममा दिएको उत्तर निकै आकर्षक पाइयो । किनकी यसले प्राय: अधिकांश सूचना दिएको थियो । तर कतिपय तथ्य, शब्द गलत भएको पायौं । अनुवादका कारण त्यस्तो भएको हुन सक्छ । तर यसले तयार पारेको वाक्य संरचना र अनुच्छेद भने लोभ लाग्दो पायौं । 

यसमा पनि नेपाली युनिकोड र रोमनमा कुराकानी गर्न सकिने पायौं ।

निष्कर्ष

माथि उल्लेख गरिएका टुललाई मोबाइल एप र वेब दुवैमा चलाउन सकिन्छ । यीमध्ये गुगलको जेमिनाईमा नेपाली र रोमनमा कुरा गर्न नसकिने देखियो । माइक्रोसफ्टको कोपाइलट र ओपनएआईको च्याटजीपीटीमा भने काम चलाउन नेपाली र रोमनमा कुरा गर्न सकिने निश्चित छ । 

इन्टरनेटमा कमजोर उपस्थिति भएको नेपाली भाषालाई यी टुलले यतिको सपोर्ट गर्नु सराहनीय छ । हामीले धेरै विषयबारे कुरा गर्दा कतिपय ठाउँमा राम्रै गरेको पाएका थियौं त कतिपय ठाउँमा नराम्रो । 

विशेष गरी यी टुलमा अनुवादको समस्या र हिन्दी भाषाको प्रभुत्व रहेको पाइन्छ । तर भविष्यमा ती टुलबाट निकै राम्रो नतिजाको अपेक्षा अवश्य गर्न सकिन्छ । तपाईंले अहिले सामान्य कामका लागि यी टुलमा नेपाली भाषा प्रयोग गर्न सक्नुहुन्छ । तर यसैमा भर भने पर्नु हुँदैन ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १५:३७