काठमाडौं । डिजिटल बैंकिङ सेवालाई सुरक्षित, सरल र छिटो बनाउने उद्देश्यका साथ एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग समझदारी गरेको छ । यो सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत सुरक्षित र अनुमतिमा आधारित डेटा आदानप्रदान गर्न सक्ने भएका छन् ।
यस प्रविधिको प्रयोगपछि बैंकका ग्राहकले अनलाइन बैंकिङका विभिन्न फारामहरू भर्दा आफ्नो प्रमाणित व्यक्तिगत विवरणहरू नागरिक एपबाट सिधै अटो-फिल (स्वतः भरिने) गर्न सक्नेछन् ।
ग्राहकहरूले आफ्नो नाम, ठेगाना र अन्य व्यक्तिगत विवरणहरू पटक–पटक हातले टाइप गरिरहनु पर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ । कागजी प्रक्रियामा कमी आउने र बैंकिङ सेवा प्राप्त गर्ने समय निकै छोटो हुने बैंकको विश्वास छ ।
यो सेवामा ग्राहकको गोपनीयता र सुरक्षालाई उच्च प्राथमिकता दिइएको दुवै पक्षको दाबी छ । ग्राहकले नागरिक एपमार्फत सोही समयमा स्पष्ट रूपमा अनुमति नदिएसम्म बैंकले कुनै पनि विवरण हेर्न वा प्रयोग गर्न पाउने छैन । साथै, नागरिक एपबाट लिइएको जानकारी जुन विशिष्ट कामका लागि मागिएको हो, त्यसैमा मात्र प्रयोग गरिने सुनिश्चितता गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: साउन २, २०८३ २०:३०
