close

गुगल ड्राइभ, वनड्राइभ, ड्रपबक्स जस्ता निःशुल्क क्लाउड स्टोरेज एकै ठाउँबाट प्रयोग गर्ने तरिका

सञ्जीवन राई सञ्जीवन राई

चैत १३, २०८० १५:४१

गुगल ड्राइभ, वनड्राइभ, ड्रपबक्स जस्ता निःशुल्क क्लाउड स्टोरेज एकै ठाउँबाट प्रयोग गर्ने तरिका

काठमाडौं । तपाईंले धेरै अनलाइन स्टोरेज अकाउन्ट खोल्नु भएको छ भने तिनको व्यवस्थापन गर्न निकै गाह्रो हुने गर्छ । यही कुराको समस्या समाधान गर्न अहिले विभिन्न क्लाउड माउन्टर (Cloud Mounter) उपलब्ध छन् । जसले तपाईंलाई एकै क्लाउड स्टोरेज अकाउन्टबाट अन्य अकाउन्ट व्यवस्थापन गर्न सहयोग गर्छन् । 

तिनलाई क्लाउड स्टोरेज मेनेजरका नामले समेत चिन्ने गरिन्छ । त्यस्ता क्लाउड स्टोरेज मेनेजरले गुगल ड्राइभ, ड्रपबक्स जस्ता अनलाइन स्टोरेज सर्भिसलाई एकै इन्टरफेसमा ल्याउने गर्छ । त्यति मात्र नभएर एफटीपी/एसएफटीपी (फाइल ट्रान्स्फर प्राेटाेकल/सेक्युर सेल फाइल ट्रान्स्फर प्राेटाेकल) र वेब डीएभी कनेक्सनलाई समेत एकीकृत गर्ने गर्छ । 

यी सबै काम गर्न क्लाउड स्टोरेज मेनेजरले तपाईंले चलाइरहनु भएकै फाइल मेनेजर (विन्डोज एक्स्प्लोर, म्याकओएस फाइन्डर) प्रयोग गर्ने छ । त्यसो हुँदा ती छुट्टा छुट्टै भर्चुअल ड्राइभ भौतिक ड्राइभ जसरी फाइल मेनेजरमा देखिने गर्छन् । जसले प्रयोग गर्न निकै सजिलो बनाउँछ । तर ती भर्चुअल ड्राइभ लोकल स्टोरेज ड्राइभभन्दा केही ढिलो भने हुन्छ । 

तिनलाई तपाईंले अन्य बाह्य सफ्टवेयर अथवा ब्राउजर बिना आफ्नै नियमित कम्प्युटर फोल्डर जसरी काम गर्न सक्नुहुन्छ । जस्तै; ब्राउज गर्ने, कपि गर्ने, रिनेम गर्ने, डिलिट गर्ने, ब्याकअप गर्ने आदि । अझ यी क्लाउड स्टोरेज मेनेजरहरू अमेजन एसथ्रीसँग कम्प्याटबिल सर्भिसहरूसँग एकीकृत समेत हुन सक्छन् । 

तर क्लाउड स्टोरेज मेनेजरहरूलाई एप्पलको आईक्लाउडले भने सपोर्ट गर्दैन । एप्पलले गोपनीयता सुरक्षाको विषयका कारण अन्य कम्पनीहरूमा आईक्लाउडको पहुँच दिएको छैन । 

क्लाउड माउन्टिङ टुल कसरी प्रयोग गर्ने ?

क्लाउड स्टोरेज मेनेजर अर्थात् क्लाउड माउन्टिङ टुलको सफ्टवेयर इन्स्टल गरिसकेपछि तपाईंले गर्नुपर्ने अर्को काम आफ्नो सर्भिससँग तिनलाई जोडनु हो ।

यदि तपाईंले प्रयोग गर्नु भएको सर्भिस ड्रपबक्स, गुगल ड्राइभ, वान ड्राइभ जस्ता मेनस्ट्रिमका छन् भने क्लाउड माउन्टिङ टुलले तीनको वेबसाइटबाटै कनेक्ट हुन खोज्छन् । तपाईंले गर्नुपर्ने काम तिनको पासवर्ड राखेर लगइन गर्ने अथवा कोड कपि गर्नुपर्ने हुन्छ । 

यदि स्टोरेज सर्भिस एसथ्रीसँग मिल्दो छन् भने (जस्तै; वासाबी) तपाईंले मेनस्ट्रिम स्टोरेजको तुलनामा कनेक्सन गर्न अलि बढी काम गर्नुपर्ने हुन्छ । जस्तै; तपाईंले एसथ्री सर्भिसको वेबसाइटबाट एक्सेस की र सिक्रेट की पत्ता लगाउनुपर्ने हुन्छ । धेरै जस्तो क्लाउड मेनेजरले भने एसथ्री कनेक्सनका लागि टेम्प्लेट उपलब्ध गराउने गर्छ ।

यदि क्लाउड सर्भिसमा सेकेन्ड लेभलको इन्क्रप्टेड फोल्डर छ भने पनि तपाईंले क्लाउड मेनेजर सफ्टवेयर प्रयोग गर्न नपाउन सक्नुहुन्छ ।

एक पटक तपाईंले क्लाउड स्टोरेजमा आफ्नो कनेक्सन बनाइसकेपछि त्यसलाई 'माउन्ट' गर्न सक्नुहुन्छ । जसले तपाईंको फाइल मेनेजरमा भर्चुअल ड्राइभ बनाउने गर्छ । तर कतिपय मेनेजरले स्वत: भर्चुअल ड्राइभ माउन्ट गर्ने गर्छन् ।

 

फाइल एक्सप्लोलरमा देखिने भर्चुअल ड्राइभ 

सजिलोका लागि क्लाउड स्टोरेज मेनेजरले माउन्ट भएका ड्राइभमा सामान्यतया फाइलमा गरिने सबै काम गर्न अनुमति दिने गर्छ । तर तपाईंले अलि सतर्कता अपनाउनु पर्ने हुन्छ । किनकी तपाईंले क्लाउडमा स्टोरेज गरेको गरेको फाइल लोकल ड्राइभ जसरी देखिने गर्छन् । कतिपय अवस्थामा तपाईंले 'रिड ओन्ली' मोड राख्न सक्नुहुन्छ ।

तर त्यस्ता ड्राइभले कम्प्युटरमा भएको लोकल ड्राइभ जसरी काम भने गर्दैनन् । जुन तपाईंले अपेक्षा पनि गर्नु हुँदैन । ती ड्राइभ चलाउँदा ल्याग हुनु सामान्य हो । फेरी एउटा सर्भिसबाट अर्को सर्भिसमा फाइल कपि गर्नु भनेको डाउनलोड गरेर अपलोड गर्नु पनि हो । यसकारण इन्टरनेट ब्यान्डविथ राम्रो हुन जरुरी छ । 

यी रेगुलर ब्याकअप जसरी भने हुँदैनन् । जहाँ एउटा फाइल कम्प्युटरमा हुन्छ भने अर्को क्लाउडमा । भर्चुअल ड्राइभमा भएका फाइल प्राय: अनलाइनमा हुने गर्छ । तर केही प्रोग्रामले डिभाइसमा क्यास फाइल राख्ने गर्छन् । 

त्यस्ता क्लाउड स्टोरेज मेनेजर चलाउँदा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा यी प्रोग्राममा तपाईंको क्लाउड स्टोरेज पासवर्ड चाहिने गर्छ । त्यसका लागि विश्वास महत्त्वपूर्ण हुन्छ । 

सजिलोका लागि हामीले क्लाउड माउन्टिङ टुल 'रे ड्राइभ' (Rai Drive) मा कसरी अनलाइन क्लाउड स्टोरेज प्रोग्राम इन्टिग्रेट गर्ने भनेर  एउटा डेमो तल देखाएका छौं:

 

 

यसका साथै रे ड्राइभ सहित अन्य क्लाउड माउन्टिङ टुलबारे तल चर्चा गरेका छौं:

क्लाउडमाउन्टर (Cloud Mounter)

यसले केही सीमा राखेर फ्रिभर्सन उपलब्ध गराएको छ । जस अन्तर्गत ड्रपबक्स, गुगल ड्राइभ, वानड्राइभमा रिड/राइट कनेक्सन उपलब्ध गराउने गर्छ । अन्य क्लाउड स्टोरेज सर्भिसमा भने 'रिड वन्ली' मोड मात्र छ । जुन फ्रिटायरमा उपलब्ध हुन्छ । सशुल्क चलाएको खण्डमा भने यसमा भएका सबै सीमाहरू हट्छन् ।

यसको शुल्क प्रति व्यक्ति २९ डलर र पाँच व्यक्तिका लागि ९९ डलर रहेको छ । यसका माउन्ट ड्राइभहरू नेटवर्क शेयरिङका पनि हुने गर्छन् । जसले गर्दा तिनले सबै सफ्टवेयरमा काम नगर्न सक्छन् ।

यो समस्याबाहेक यसको राम्रो पक्ष यसको इन्टरफेस निकै सरल र प्रयोग गर्न सजिलो छ । एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 
 

माउन्टेन डक (Mountain Duck)

यसले मेनस्ट्रिम सहित एसथ्रीसँग कम्प्याटिबल स्टोरेजहरूमा समेत काम गर्छ । यो नि:शुल्क साइबर डकको व्यावसायिक भर्सन हो । तर तपाईंले १४ दिनसम्म यसको नि:शुल्क परीक्षण गर्न सक्नहुन्छ । 

यसको अलि नराम्रो पक्ष इन्टरफेस हो । एसथ्री कनेक्सनका लागि यसमा निकै झन्झटिलो छ । तपाईंले लामो सूचीबाट आफ्नो क्लाउड स्टोरेज सर्भिस छान्नुपर्ने हुन्छ । हुन त तपाईंले लामो सूचीबाट सर्च गरेर पनि आफ्नो क्लाउड स्टोरेज सर्भिस छान्न सक्नुहुन्छ । 

एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

एक्सपान ड्राइभ (Expan Drive)

 

अन्य क्लाउड सर्भिस मेनेजरको तुलनामा एक्सपान ड्राइभ माउन्टिङको मामिलामा निकै राम्रो छ ।  यसले आफ्नै फाइल ब्राउजर पनि उपलब्ध गराएको छ । तर डिभाइसकै फाइल मेनेजरसँग पनि इन्टिग्रेसन हुन सक्छ । अझ यसले एसएमबी/सीआईएफ शेयरलाई पनि माउन्टिङ गर्न सक्छ । 

यसमा ड्राइभ माउन्ट गर्न र गरेकालाई हटाउन पनि निकै सजिलो छ । तपाईंले यसलाई सात दिनको ट्रयालमा नि:शुल्क चलाउन सक्नुहुन्छ । 

एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

रे ड्राइभ (Rai Drive)  

 

यस प्लेटफर्मबाट नि:शुल्क ८ ओटा क्लाउड स्टोरेज सर्भिस व्यवस्थापन गर्न सकिन्छ । तर यस प्लेटफर्मले विज्ञापन देखाउने  गर्छ । यसको शुल्कको ढाँचा पनि अलि फरक छ । यद्यपि याे चलाउन निकै सजिलो छ । 

सामान्यत: एक व्यक्तिका लागि आठ क्लाउड स्टोरेज सर्भिस पर्याप्त हो । विज्ञापन देखिने भएकाले तपाईं अलि सतर्क भने हुनुपर्छ । तपाईंले यसलाई जति कम प्रयोग गर्नु हुन्छ, विज्ञापन त्यति नै कम देखिन्छ ।

एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एयर लाइभ ड्राइभ (Air Live Drive)

 

यसबाट पनि तीन ओटा सर्भिस नि:शुल्क चलाउन सकिन्छ । यसबाट पनि ड्राइभ माउन्ट गर्न र हटाउन सजिलो छ । यसको इन्टरफेसका कारण भने सुरुमा केही अलमल पार्न सक्छ । यदि तपाईंले यसको सशुल्क भर्सन चलाए थप फिचर सहित बारम्बार भर्सन परिवर्तन गर्ने मेसेज पनि देखा पर्दैन । एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यी माथि उल्लेख गरिएका बाहेक अन्य विभिन्न क्लाउड माउन्टर पनि हुन्छन् । अब तपाईं कति क्लाउड स्टोरेज अकाउन्ट चलाउनुहुन्छ, तिनका आधारमा कुन प्रयोग गर्ने भन्ने निक्यौर्ल गर्नुपर्ने हुन्छ । सम्झनु पर्ने कुरा, हामीले माथि चर्चा गरेका सबै टुल कम्प्युटरसँग सम्बन्धित एप्लिकेसन हुन् ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १६:२२