close

भारत आउँदै एलन मस्क, के छ योजना ?

टेकपाना टेकपाना

चैत २९, २०८० ८:३०

भारत आउँदै एलन मस्क, के छ योजना ?

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्क भारत आउने भएका छन् । समाचार एजेन्सी रोयटर्सले मस्क निकट व्यक्तिसँग कुरा गर्दै उनी भारत भ्रमणमा आउन लागेको जनाएको हो । रोयटर्सका अनुसार मस्क २२ अप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्नेछन् । त्यसपछि भारतमा टेस्ला प्लान्ट स्थापना गर्ने र अन्य किसिमका लगानी तथा योजनाबारे घोषणा गर्नेछन् ।

रोयटर्सले यो जानकारी दिने स्रोतको नाम संवेदनशीलताका कारण गोप्य राखेको जनाएको छ । भारतमा झन्डै दुई महिनासम्म हुन लागेको लोक सभा निर्वाचनको पूर्वसन्ध्यामा अर्बपति उद्यमी मस्क भारत आउन लागेका हुन् । यसले गर्दा प्रधानमन्त्री मोदीको पार्टीमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरूले जनाएका छन् ।

पछिल्लो पटक जुनमा मोदीको न्युयोर्क भ्रमणका क्रममा उनीहरूबीच भेट भएको थियो । त्यसबखत मस्कले मोदीलाई भारतमा विद्युतीय गाडीको आयात कर घटाउन अनुरोध गरेको विभिन्न सञ्चार माध्यमले जनाएका थिए ।

भारतले हालै ल्याएको ईभी नीतिले विद्युतीय सवारीको आयात १०० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याउने नीति ल्याएको थियो । तर, त्यसका लागि ती कम्पनीले भारतमै कम्तीमा ५० करोड डलर बराबरको लगानी गरेर फ्याक्ट्री स्थापना गर्नुपर्ने सर्त राखेको थियो ।

रोयटर्सले यसअघि पनि टेस्लाका अधिकारी भारत भ्रमणमा आउने र त्यस क्रममा दुई अर्ब लगानीमा तयार हुने टेस्ला प्लान्टका लागि उपयुक्त स्थान पहिचान गर्ने जनाएको थियो । 

टेस्लाले हालै मात्र आफ्नो जर्मनीकाे प्लान्टमा भारतमा उपयुक्त हुने दायाँ हाते ड्राइभ कार स्थापना गर्न सुरु गरेको छ । विभिन्न सञ्चार माध्यमका अनुसार कम्पनीले यही वर्षको अन्तिमतिर भारतमा कार आयात गर्ने बताइएको छ । 

मस्कले हालै मात्र एक्समा पोस्ट राख्दै अन्य देशमा जस्तै भारतमा पनि विद्युतीय कार हुनुपर्ने धारणा राखेका थिए । विशेषगरी चिनियाँ बजारमा चर्को प्रतिस्पर्धा र अमेरिकासँगको राजनीतिक विवादका कारण पनि मस्कले भारतमा टेस्ला प्लान्ट स्थापना गर्न लागेको बताइएको छ ।

विद्युतीय सवारीको सन्दर्भमा भारतीय बजारमा टाटा मोटर्सको दबदबा छ । २०२३ मा भारतमा बिक्री भएकामध्ये कूल सवारीमध्ये जम्मा दुई प्रतिशत मात्र विद्युतीय सवारी बिक्री भएका थिए । सरकारले सन् २०२३ मा विद्युतीय सवारीको बिक्री बढाएर ३० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८० १८:३४