close

नेपाल भाषा सिक्न चाहनेहरूका लागि उपयुक्त एप सार्वजनिक

टेकपाना टेकपाना

असार ७, २०८१ १४:१३

नेपाल भाषा सिक्न चाहनेहरूका लागि उपयुक्त एप सार्वजनिक

काठमाडौं । नेपाल (नेवारी) भाषाको डिक्सनरी (शब्दकोष) एप सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल लिपी ट्युटोरियल र नेपाल भाषा डिक्सनरी एप सार्वजनिक गरिएको हो ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल लिपि गुठी र गैरनाफामूलक संस्था डबलीको सहकार्यमा एक वर्षदेखि विकास भइरहेको एप पूर्ण भर्सनमा उपलब्ध भएको छ । 

“हामीले तीन वर्षअघि वेबसाइटमार्फत नेपाल भाषाको डिक्सनरी सुरु गरेका थियौं,” टेकपानासँग कुरा गर्दै नेपाल भाषा एपका सदस्य अस्मित मल्लले भने, “वेबसाइटमा नेपाल भाषा मात्रै उपलब्ध थियो । आजका मितिमा एप पनि निकै आवश्यक भएकाले हामीले एप ल्याएका हौं ।”

मल्लका अनुसार एपमा ४१ हजार २३१ ओटा शब्द, ४८ हजार ४५१ ओटा अर्थ र १२२३ ओटा भनाइहरू राखिएका छन् । त्यस्तै एपमा १०५० ओटा बच्चाका नामहरू पनि उपलब्ध गराइएको छ ।  

“हामीले नेपाल भाषा शब्दको अर्थ मात्र उपलब्ध गराउने भन्ने तरिकाले काम गरिरहेका थियौं,” मल्लले अगाडि भने, “पछि सिक्नका लागि पनि काम लाग्छ भन्ने हिसाबले नेपाल भाषा नजानेकाहरूका लागि पनि अर्थ थाहा पाउन सकिने फिचर राख्यौं ।”

एप डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

एपमा के छन् विशेषता ? 

एप खोल्नासाथ त्यसमा सबैभन्दा माथि सर्चबार देख्न सकिन्छ । त्यहाँ नेपाल भाषाबाट नेपाल भाषा, अङ्ग्रेजीबाट नेपाल भाषा र नेपालीबाट नेपाल भाषाको अप्सन छान्न सकिन्छ । नेपाली भाषा राखेर नेपाल भाषाको शब्द खोज्न अन्तिमको अप्सन छान्नुपर्ने हुन्छ । अङ्ग्रेजीबाट नेपाल भाषा छान्नका लागि दोस्रो अप्सन छान्नुपर्ने हुन्छ भने नेपाल भाषाबाट नेपाल भाषा छान्नका लागि पहिलो अप्सन छान्न सकिन्छ । 

त्यसको तलपट्टि नेपाल संवत र अङ्ग्रेजी मिति राखिएको देख्न सकिन्छ । त्यसको तलपट्टि ‘वर्ड अफ दि डे’ अर्थात् दिनको शब्दको सेक्सन राखिएको छ । त्यसभन्दा तल फोटो राखिएको छ भने त्यसको तल अर्थ खुलाइएको छ । त्यसको छेउमा स्पिकरको आइकन पनि राखिएको छ । त्यसमा ट्याप गर्दा शब्द उच्चारण गरिएको सुन्न सकिन्छ । 

र, अन्तिममा हरेक दिन अपडेट हुने गरी छ ओटा नेवा शब्द राखिएको देख्न सकिन्छ । 

त्यस्तै माथि दायाँपट्टि तीन ओटा बारको अप्सन देख्न सकिन्छ । त्यसमा ब्राउज ‘ए टु जेड’ (Browse A-Z) को अप्सन राखिएको छ । सो अप्सनमा ट्याप गर्दा ए देखि जेडसम्मका अक्षर राखिएको छ । त्यसमध्ये आफूलाई उपयुक्त शब्द छान्न सक्नुहुन्छ । 

त्यसभन्दा तल प्रपभर्व्स (Proverbs) को अप्सन छ । त्यसमा थुप्रै भनाइ, उखान टुक्टा राखिएका छन् । त्यस्तै त्योभन्दा तल नामको अप्सन छ । आफ्ना बालबालिकाको नाम त्यही राखिएका नामबाट छनोट गरेर राख्न सकिन्छ । 

मेनु सेक्सनमा क्विजको अप्सन पनि राखिएको छ । इजी, मोडरेट र हार्ड गरी तीन प्रकारका क्विज खेल्न सकिन्छ । त्यसमा नाथि नेपाल भाषा राखिएको हुन्छ । त्यसलाई अङ्ग्रेजी वा नेपाली भाषामा के भनिन्छ भन्ने अप्सन तल राखिएको हुन्छ । त्यसबाट सही शब्द छान्नुपर्ने हुन्छ । 

त्यसैगरी रोमन शब्दलाई नेपाल लिपिमा कन्भर्ट गर्ने सुविधा पनि एपमा राखिएको छ । नेपाल लिपि प्रयोग गर्नुपर्ने भए आवश्यक अनुसार कन्भर्ट गरी प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८१ १५:३३