काठमाडौं । अमेजन विश्वकै ठूलो अनलाइन रिटेलर हो । यस कम्पनीले १५ लाख ३२ हजार बढीलाई रोजगारी दिएको छ । त्यहीमध्येकै एक कर्मचारीले केही नगरेरै डेढ वर्षमा तीन लाख ७० हजार डलर (करिब चार करोड ९२ लाख रुपैयाँ) कमाएको दाबी गरेका छन् ।
व्यावसायिक व्यक्तिहरूले प्रयोग गर्ने सामाजिक सञ्जाल ब्लाइन्डमा अमेजनका ती वरिष्ठ कर्मचारीले यस्तो दाबी गरेका हुन् । गुगलबाट निकालिएपछि अमेजनमा टेक्निकल प्रोग्राम मेनेजरका रूपमा उनले काम गरिरहेका छन् ।
“मैले ‘केही नगर्ने’, ‘सजिलै पैसा कमाउने’, र ‘अन्ततः पीआईपीमा पर्ने’ मनसायले सामेल भएँ,” उनले पोस्टमा भनेका छन् । पीआईपी भन्नाले पर्फमेन्स इन्प्रुभमेन्ट प्लान (प्रदर्शन सुधार योजना) हो, जुन कर्मचारीले काम नगरेको विषयलाई कम्पनीले औपचारिक रूपमा सम्बोधन गर्ने प्रक्रिया हो ।
उनले डेढ वर्षको अवधिमा आफूले कुनै पनि मुख्य लक्ष हासिल नगरेको बताएका छन् । यस अवधिमा सात ओटा टिकेट समाधान गर्ने काम गरेको र एउटा अटोमेटेड ड्याशबोर्ड तयार पारेको उनले उल्लेख गरेका छन् । त्यो ड्याशबोर्ड पनि च्याटजीपीटी प्रयोग गरी जम्मा तीन दिनमा तयार पारेको उनको भनाइ छ । तर, उनले कम्पनीलाई यो च्याटबट बनाउन तीन महिना लागेको भनेर झुक्याएका थिए ।
यो अवधिमा तीन लाख ७० हजार डलर कमाइसकेको र कम्पनीबाट त्यस्तो कुनै गुनासो नआएको उनको भनाइ छ । उनले सोधेका छन्, “अब यस कम्पनीमा म कति समय टिक्छु होला ?”
उनले ब्लाइन्ड प्लेटफर्ममा राखेको पोस्टको स्क्रिनशट अहिले एक्स लगायतका सामाजिक सञ्जालमा शेयर भइरहेको छ । जसमा मिश्रित प्रतिक्रियाहरू आएका छन् । केहीले कर्मचारीले च्याटजीपीटी जस्ता प्रविधिको सदुपयोग गरेको धारणा राखेका छन् भने केही ठूला कर्पोरेट संरचनाहरूभित्र गहिरो समस्या उजागर भएको जनाएका छन् ।