close

फोटोग्राफीमा रुचि राख्नेहरूका लागि आईफोन १६ प्रो एप्पलले ल्याउँदैछ यस्ता आकर्षक फिचर

टेकपाना टेकपाना

भदौ १७, २०८१ १९:६

फोटोग्राफीमा रुचि राख्नेहरूका लागि आईफोन १६ प्रो एप्पलले ल्याउँदैछ यस्ता आकर्षक फिचर

काठमाडौं । आईफोन १६ सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । यस पटक आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक हुने अनुमान गरिएको छ ।

अहिलेसम्म बाहिरिका जानकारी अनुसार ९  सेप्टेम्बरमा यी फोन सार्वजनिक हुनेछन् । आईफोनको यो नयाँ लाइनअप एआई, सफ्टवेयर अपडेट, क्यामेरा जस्ता अनेकन् कुराले चर्चामा छ । कतिपयले आईफोन १६ को लाइनअपमा रहेको आईफोन १६ प्रोलाई पकेट क्यामेराको रूपमा समेत व्याख्या गरेका छन् ।

यी बाहेक अन्य रोचक फिचरहरू पनि रहेका छन् । आज हामी तपाईंलाई आईफोन १६ को क्यामेरामा आउन सक्ने विभिन्न अपडेट तथा परिवर्तनबारे बताउँदै छौं ।

१. अल्ट्रा वाइड क्यामेरा 

एप्पल सम्बन्धी जानकारी लिक गर्दै आएका जेफ पूका अनुसार यस पटक आईफोनमा ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा आउनेछ । उनका अनुसार यो एप्पलका दुवै प्रो मोडलमा उपलब्ध हुने छ । 

एप्पलले सबैभन्दा सुरुमा आईफोन ११ प्रोमार्फत अल्ट्रा वाइड क्यामेरा लेन्स दिन थालेको थियो । तर उक्त क्यामेरा नराम्रो भएको भनेर टिप्पणी हुँदै आएको छ । हुन त त्यसपछिका आईफोनको भर्सनमा एप्पलले क्यामेरामा सुधार ल्याउने प्रयास नगरेको होइन । तर आईफोन १५ प्रोसम्म आइपुग्दा क्यामेरा जम्मा १२ मेगापिक्सेल र एपार्चर एफ २.२ मात्र छ ।

अब भने एकै चोटी एप्पलले क्यामेराको मेगापिक्सेल पनि बढाउने भएको हो । यसले गर्दा आईफोन १६ प्रोको अल्ट्रा वाइड क्यामेरा अहिलेसम्मकै अब्बल हुन सक्ने अनुमान गर्न सकिन्छ । 

२. सुधारिएको फाइभ एक्स टेलिफोटो क्यामेरा

एप्पलले आईफोन १५ प्रो म्याक्समार्फत् पहिलो पटक पाँच गुणासम्म जुम गर्न मिल्ने टेलिफोटो लेन्स सार्वजनिक गरेको थियो । सोही प्रकारको तर सुधारिएको लेन्स आईफोन १६ प्रो म्याक्समा पनि दिइने निश्चित रहेको बताइएको छ ।

जसमा १२० एमएमको लेन्स हुने चर्चा छ । यसअघि आईफोन १५ प्रो म्याक्समा ७२ एमएमको लेन्स राखिएको थियो । त्यस्तै यस टेलिफोटो लेन्सबाट खिचिने फोटो तथा भिडिओ स्तरीय बनाउने सफ्टवेयर पनि अपडेट हुने अपेक्षा गरिएको छ ।

३. क्याप्चर बटन

हालैको नयाँ चर्चा अनुसार आईफोन १६ सिरिजमा वास्तविक क्यामेराको महसुस गर्न सकिनेछ । यसका लागि डीएसएलआर क्यामेरामा हुने शटर बटन जस्तो आईफोनमा क्याप्चर बटन हुने बताइएको छ ।

चलेका हल्ला अनुसार फोटो/भिडि‍ओ खिच्दा फोकस गर्न र एक्सपोजर मिलाउन यो बटन प्रयोग गरिनेछ । द इन्फर्मेसनका अनुसार त यो बटनबाट जुम गर्न पनि सकिनेछ । 


४. एआई फोटोग्राफी 

फोटो खिचेर मात्र हुँदैन । त्यसलाई राम्ररी सम्पादन पनि गर्नु पर्छ । यसका लागि शक्तिशाली सफ्टवेयरको आवश्यकता पर्छ ।

आईफोन १६ सिरिजमा भने यसको कुनै पनि कमी नहुने बताइएको छ । किनकि सिरिजका प्रत्येक मोडेलमा आठ जीबीसम्म र्‍याम हुने र प्रो मोडेलमा एप्पलको नयाँ चिप ए १८ प्रो हुने बताइएको छ । 

त्यस्तै ग्राफिक्स प्रोसेसर हुने भएकाले फोटोग्राफीको सम्पादन सम्बन्धीका काम गर्न निकै सजिलो हुने निश्चित छ । त्यस्तै यस सिरिजमा एप्पल इन्टेलिजेन्स (एप्पलका एआई फिचर) आउने निश्चित छ । यसले पनि फोटोग्राफी तथा भिडिओग्राफी सम्बन्धी काम गर्न निकै सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।


५. लेन्सको समस्यामा सुधार

फोटो राम्रो आउनुमा लेन्सको महत्त्वपूर्ण भूमिका हुन्छ । एप्पलले आईफोन १६ प्रो सिरिजमा लेन्सको समस्या सुधार गर्ने बताइएको छ । यसका लागि एप्पलले अटोमिक लेयर डिपोजिसन (एएलडी) प्रविधि प्रयोग गरेको चर्चा छ ।

यसले फोटोमा आउने प्रकाशका धब्बा जस्तो इफेक्टलाई हटाउने बताइएको छ । त्यसो हुँदा फोटोको गुणस्तर अझ राम्रो हुने र द्रुत गतिमा रहेका वस्तुहरूको फोटो खिच्न समेत सजिलो हुने विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८१ १९:६