काठमाडौं । गत शुक्रबार र शनिबार देशका अधिकांश भेगमा परेको अविरल झरी र त्यसपछि आएको बाढीले विद्युतीय सवारी पनि प्रभावित भएका छन् । हात्तीवन, नख्खु, कुलेश्वर लगायतका क्षेत्रमा घर तथा पार्किङ स्थलमै बाढी पसेको र लामो समयसम्म त्यहीँ गाडी फस्दा विभिन्न समस्या देखिएको छ ।
सामान्यतः आधुनिक विद्युतीय सवारी साधन 'वाटरप्रुफ' हुन्छन्, जसका कारण सामान्य वर्षामा विद्युतीय गाडीमा खासै असर पर्दैन । तर लामो समयसम्म पानीमा डुब्दा गाडीको ब्याट्रीमा पानी पसेर खिया लाग्ने र गाडीको परफर्मेन्समा नकारात्मक असर पर्ने डर हुन्छ ।
त्यस्तै ब्याट्री हाउजिङ अर्थात् ब्याट्रीलाई सुरक्षित राख्न बनाइएको तहबाट पानी छिरेको अवस्थामा सर्ट सर्किट भई आगलागीको समेत जोखिम हुने सम्भावना हुन्छ । गाडीको सेफ्टी मेकानिज्म, थर्मल मेकनिज्म तथा अनबोर्ड चार्जिङ सिस्टममा समस्या आई चार्ज गर्दा जोखिम हुने तथा चार्ज स्लो हुनेजस्ता समस्या देखा पर्नसक्ने जानकारहरू बताउँछन् ।
ईभी वितरकहरूका अनुसार नेपालका आएको बाढीका कारण विद्युतीय गाडीहरूमा सामान्य समस्या देखा परेको छ । सर्ट सर्किटलगायतका गम्भीर समस्याहरू भने रिपोर्ट भएका छैनन् । ग्राहकले रिपोर्ट गरेका गुनासा समाधान गर्न उनीहरूले विभिन्न योजना ल्याउन थालेका छन् ।
ग्राहको घरमै पुगेर टाटा ईभी मर्मत गर्दै सिप्रदी
नेपाली बजारका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ग्राहकको घरमै पुगेर बाढीबाट क्षति पुगेका ईभीहरूलाई मर्मत सेवा प्रदान गर्ने भएको छ । सिप्रदीले यसका लागि ‘फ्लड फिक्स रिस्टोरेसन सर्भिस क्याम्प’ घोषणा गरेको छ ।
सर्भिस क्याम्पको तयारीमा निशान
निशान तथा ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले क्षति पुगेका गाडीहरूको मर्मत सम्भारको लागि सर्भिस क्याम्प गर्ने भएको छ । कम्पनीकी मार्केटिङ हेड प्रिजा कोइरालाका अनुसार हाल उपत्यकाभित्रबाट ग्राहकहरूको केही गुनासो आएको र अन्य ग्राहकबाट सूचना संकलनको काम भइरहेको छ ।
"भ्यालीभित्रबाट केही गुनासा आएका छन् । हामीले उहाँहरूको समस्यालाई समाधान गर्न सहजीकरण गरिरहेका छौं । यही हप्ताभित्र सञ्चालन हुनेगरी सर्भिस क्याम्प सुरु गर्ने तयारी भइरहेको छ," उनले भनिन् ।
बीमा सहजीकरणदेखि मर्मत सम्भारमा बीवाईडी र एमजी
नेपाली बजारका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स नेपाल र एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स पनि क्षति पुगेका ईभीहरूको मर्मत सम्भारमा जुटेका छन् । बीवाईडीका आफ्टर सेल्स डिपार्टमेन्ट हेड सुशील तन्डुकारका अनुसार सोमबारसम्म बीवाईडीका १० युनिट गाडीमा बाढीको कारण क्षति भएको रिपोर्ट प्राप्त भएको छ ।
बीवाईडीले आफ्नो जनशक्तिलाई ग्राहकको स्थानमै पठाएर गाडी मर्मत गर्ने तथा सर्भिस सेन्टरसम्म पुर्याएर थप सेवा दिने तयारी गरेको तन्डुकारले बताए । यससँगै कुनै गाडीमा केही गम्भीर किसिमको समस्या देखापरे बीमा रकम भुक्तानीको लागि आवश्यक सहजीकरण प्रक्रिया सुरु गरिएको उनले बताए ।
यस्तै बाढीको कारण क्षति पुगेका एमजी गाडीहरूको मर्मत सम्भार तथा बीमा सहजीकरणको लागि आफूहरू लागिपरेको पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए । उनका अनुसार सोमबारसम्म एमजीका ६ युनिट गाडीमा समस्या देखिएको सूचना प्राप्त भएको छ भने थप सूचना संकलनको कार्य भइरहेको छ ।
क्यूआरटी बनाएर मर्मत सम्भारमा ह्युन्डाई
नेपालको लागि ह्युन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाई ब्रान्डका गाडीहरूको मर्मत सम्भार तथा उद्धारको लागि शुक्रबारदेखि क्विक रेस्पोन्स टिम बनाएर अघि बढेको जनाएको छ ।
यो टिमले ह्युन्डाईका विद्युतीय तथा अन्य गाडीहरूको मर्मत सम्भारको काम गरिरहेको कम्पनीका महाप्रबन्धक दीपक थपलियाले बताए ।
देशभरका सर्भिस सेन्टरबाट मर्मत सम्भार सेवा दिँदै सीजी मोटर्स
सीजी मोटर्सले क्षति पुगेका गाडीको मर्मतका लागि देशैभर १९ सर्भिस सेन्टरबाट एकसाथ सेवा सुरु गरेको छ । कम्पनीका मार्केटिङ हेड किरण आचार्यका अनुसार हाल सीजीले विभिन्न माध्यमबाट आफ्ना सवारीमा पुगेको क्षतिको विवरण संकलन गरिरहेको छ । गुनासो प्राप्त भए लगत्तै ग्राहककै स्थानमा पुगेर गाडी मर्मत सम्भारको लागि आवश्यक सहजीकरण गरेको आचार्यले बताए ।
"बाढीको कारणले केही गाडीमा समस्या देखिएको गुनासो प्राप्त भएका छन् । गुनासोको आधारमा हाम्रा जनशक्तिहरू फिल्डमै पुगेर मर्मत सम्भारको काम गरिरहनुभएको छ । गाडीलाई 'टो' गरेर सर्भिस सेन्टरसम्म ल्याउन परेको अवस्थामा सहजीकरण गरिरहेका छौँ," उनले भने ।
उल्लिखित बाहेक अन्य ईभी वितरक/बिक्रेताहरूले पनि आफूले नेपाली बजारमा भित्र्याएका विभिन्न ब्राण्डका गाडीहरूमा बाढीको कारण पुगेको क्षतिलाई मध्यनजर गर्दै मर्मत सम्भारका कार्य अघि बढाएका छन् । यसका लागि ग्राहकहरूले वितरकहरूको सर्भिस डिपार्टमेन्टमा सम्पर्क गरी आवश्यक सुझाव तथा सहजीकरणको माग गर्नसक्ने बताइएको छ ।