फ्याक्टचेक: इमाडोलमा आरोपी ‘भट्टले पिसाब फेर्दा युवतीले भिडिओ खिचेको’ दाबीसहित भाइरल तस्बिर एआई निर्मित
असार २६, २०८३ ९:१९
काठमाडौं । आइतबार इमाडोल क्षेत्रमा एक पुरुषले बाटोमा गोप्य अङ्ग देखाएर दुर्व्यवहार गरेको भन्दै पीडित युवतीले भिडिओ सार्वजनिक गरिन् । उक्त भिडिओ भाइरल भएसँगै सोमबार (६ जुलाई) आरोपी पक्राउ परे । पक्राउ पर्नेमा रक्षा मन्त्रालय अन्तर्गत कार्यरत ५५ वर्षीय शिक्षा अधिकृत सुरेन्द्र भट्ट रहेका छन् । तर पछिल्ला दिनमा सामाजिक सञ्जालमा उक्त घटनाबारेमा फरक अर्थ लाग्ने किसिमको तस्बिर तथा दाबी भाइरल भइरहेको छ ।
सामाजिक सञ्जालमा आरोपी भट्टले पिसाब फेरिरहेको बेलामा युवतीले भिडिओ खिचेको जस्तो देखिने तस्बिर भाइरल भइरहेको हो । उक्त तस्बिरसँगै कार्यालयबाट फर्किने बेलामा भट्टले ‘भित्तामा फर्किएर पिसाब फेरेको’ तर भिडिओ र मनिटाइजेसनका लागि युवतीले ती पुरुषको बदनाम गरेको लगायतका दाबी गरिएको छ ।
उक्त विषयमा टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानबाट भट्टले पिसाब गरिरहेको बेलामा खिचिएको दाबी गरिएको तस्बिर एआई सिर्जित रहेको पाइएको छ । भट्ट कार्यालयबाट फर्किने बेलामा मदिरा सेवन गरेको र बाटोमा पिसाब फेरेको भन्ने दाबी पनि काल्पनिक कथाका कारण फैलिएको पाइएको हो । हालसम्म उक्त घटनाका बारेमा युवतीले सार्वजनिक गरेको भिडिओ र प्रहरीलाई ‘अभद्र व्यवहारसम्बन्धी कसुर’ मा जाहेरी दिएको सन्दर्भ मात्र आधिकारिक रूपमा सार्वजनिक छ । आरोपीको आधिकारीक बयान सार्वजनिक नभएको समयमा नै ‘पिसाब फेरेको बेलामा भ्युजका लागि भिडिओ सार्वजनिक गरेको’ भन्दै भ्रम फैलाइएको तथ्यजाँचका क्रममा पुष्टि भएको हो ।
दाबी
फेसबुकमा ‘K.P Gartaula’ नामको अकाउन्टबाट ८ जुलाई दिउँसो १:५३ मा एक पोस्ट भएको छ । ७१ हजार बढि फलोअर्स रहेको Khusbu Oli Supporters फेसबुक ग्रुपमा उनले पीडित युवतीको तस्बिर र आरोपी पुरुषले पिसाब फेरिरहेको बेलामा युवतीले तस्बिर खिचेको देखिने गरि दुई वटा तस्बिर जोडिएको फाेटाे शेयर गरेका हुन् । शेयर गरिएको तस्बिरमा “पाता कसेर अनुसन्धान हुनुपर्छ दुबै पक्षको” लेखिएको छ । उनले सो तस्बिरले युवतीको गल्ती देखिन्छ कि पुरुषको भन्दै प्रश्न समेत रहेका छन् ।
उनले लेखेका छन्, “अहिले सामाजिक संजालमा निकै भाइरल भएको र तात्तातो बहसमा आएको बिषय हो एउटा अधिकृत जस्तो मान्छेले बाटामा हिडदै गरेकि किशोरिलाइ गुप्ताङ देखायो भनेर । तर यहां तलको तस्बिरबाट के निष्कर्ष निकाल्न सकिन्छ ?। यो तस्बिरमा देखिएको फोटोले किशोरिको गल्ति देखिन्छ कि त्यो पिसाब फेर्ने मानिसको ? सामाजिक संजालमा भाइरल हुन र भ्युज बढाउन वा मनिटाजेसनबाट डलर कमाउन यस्तो हर्कत गर्न पाइन्छ ?अनि चरित्र हत्या गरि समाजबाटै तिरस्कृतको पात्र बनाउने छुट के उ नारि भएकैले पाउने हो र? अब तपाइहरु आफै मुल्याकंन गर्नुहोस गल्ति को बाट कति भएको छ ? मुल्याकंनको जिम्मा तपाइहरु माथि !!”
हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भइरहेको पाइएपछि हामीले गुगल रिभर्स इमेज सर्च गरेर थप दाबीहरू खोज्यौं । सामाजिक सञ्जाल ‘एक्स’ प्रयोगकर्ता ‘Mike Budhathoki’ ले ८ जुलाई बिहान १०:५२ मा सोही तस्बिर पोस्ट गरेको फेला पर्यो । पोस्टमा उनले प्राकृतिक बाध्यताका कारण भित्तामा फर्किर पिसाब फेरिरहेको भए त्यस्तो अवस्थामा अपराधी झैँ हिरासतमा राख्नु कानुनी र मानवीय दृष्टिकोणले गलत भएको तर्क गरेका छन् ।
उनले लेखेका छन्, “डिजिटल युगमा आवरण हेरेर मात्र न्याय हुँदैन। सुरेन्द्र भट्टको केसमा सूक्ष्म र निष्पक्ष अनुसन्धान होस्। अपराधी उम्किनु हुँदैन, तर निर्दोषको अस्मिता सामाजिक सञ्जालको भ्युजका लागि बलिको बोको बन्नु हुँदैन ।
डिजिटल युगमा आवरण हेरेर मात्र न्याय हुनुहुँदैन। कसैले रुँदै भिडियो बनाउँदैमा ऊ शतप्रतिशत पीडित र अर्को पक्ष दोषी हुनैपर्छ भन्ने छैन। सुरेन्द्र भट्टको केसमा सुक्ष्म र निष्पक्ष अनुसन्धान होस्। यदि उनी प्रोस्टेटका बिरामी हुन् र प्राकृतिक बाध्यताका कारण भित्तातर्फ फर्केर पिसाब फेर्दै थिए भने, उनलाई अपराधी झैं हिरासतमा राख्नु कानुनी र मानवीय दुवै दृष्टिकोणले गलत हो। अपराधी उम्किनु हुँदैन, तर निर्दोषको अस्मिता र आत्मसम्मान सामाजिक सञ्जालको भ्युजका लागि बलिको बोको बन्नु हुँदैन।”
हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

‘Budha Hiralal’ नामका फेसबुक प्रयोगकर्ताले “एआई हो की खास कुरा के हो” क्याप्सनसहित ८ जुलाई साँझ ६:५४ मा सोही तस्बिर शेयर गरेका छन् । उनले शेयर गरेको तस्बिरमा लेखिएको छ, “यो फोटो हेर्दाखेरि खासमा न्याय कसले पाउनुपर्छ कमेन्ट गर्नुहोस्” । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
खोजी गर्दै जाने क्रममा ‘सन्तोष कार्की मौसुफ’ नामका फेसबुक प्रयोगकर्ताले उक्त तस्बिर शेयर गर्दै लामो पोस्ट गरेको फेला पर्यो । ८ जुलाई बिहान ५:२१ मा सार्वजनिक गरेको उक्त पोस्टमा उनले अघिल्लो दिन आफूले सुरेन्द्र भट्टको घटनाबारेमा पोस्ट लेखेको र उक्त घटनाको अर्को पाटोको बारेमा लेखिएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “प्रिय मित्रहरू, हिजो मैले सामाजिक सञ्जालमा भाइरल भएको एउटा ५५ वर्षीय सरकारी अधिकृत, सुरेन्द्र भट्टजीको घटनाबारे एउटा पोस्ट राखेको थिएँ। त्यसमा आएका मिश्रित प्रतिक्रियाहरूलाई गम्भीरतापूर्वक लिएर म आज यो घटनाको अर्को पाटो र मेरो धारणा स्पष्ट पार्न चाहन्छु।”
उनले सो पोस्टमा सुरेन्द्र भट्ट (आरोपी) मधुमेहको बिरामी भएको र कार्यालयबाट फर्किने क्रममा होटलमा खाजा र रक्सी खाएर घर फर्किरहेको बेलामा पिसाब लागेपछि गल्लीको भित्तामा फर्किएर पिसाब फेरेको र सोही बेलामा युवतीले आइपुगेको दाबी गरेका छन् । युवती आइपुगेको देखेपछि पाइन्टको चेन लगाएर घरतर्फ लाग्न लाग्दा युवतीले ‘गोप्य अङ्ग देखायो’ भन्दै भीड बटुलेको र भिडिओ बनाएर सामाजिक सञ्जालमा राखिएको दाबी गरिएको छ ।
यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । पोस्टलाई यो सामग्री तयार पार्दासम्म ११ हजार बढिले रियाक्ट गरेका छन् भने ९४३ पटक शेयर, ३४ सय भन्दा धेरै पटक कमेन्ट गरिएको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

‘सन्तोष कार्की मौसुफ’ले माथिको पोस्टभन्दा अघिल्लो दिन अर्थात् ७ जुलाई बिहान ५:२१ मा अर्को पोस्ट राखेको देखियो । सार्वजनिक पोस्टमा उनले इमाडोल घटनाको परिवेशमा घटनाको पात्रको नाम परिवर्तन गरेर काल्पनिक कथा भनेका छन् । जुन कथा इमाडोल घटनाको पीडित युवतीले सार्वजनिक गरेको भिडिओको भन्दा भन्दा फरक छ । तर पोस्टको तस्बिरमा भने इमाडोलमा अश्लील हर्कत गरेको भन्दै युवतीले सार्वजनिक गरेको भिडिओबाट नै निकालिएको किफ्रेम प्रयोग गरिएको छ ।
मोसुफले ७ जुलाईमा सार्वजनिक गरेको उक्त पोस्टमा सरकारी कर्मचारी अफिस जान लागेको (माथिको पोस्टमा भने अफिसबाट फर्किने बेला भनिएको छ) बेलामा पिसाब लागेर फेरिरहेको बेलामा युवतीले देखेको र भिडिओ खिच्न थालेको ‘कथा’ भनिएको छ । भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त घटना यौन दुर्व्यवहारको नभइ गलतफहमी भएको भन्दै ती पुरुष निर्दोष साबित भएको उक्त पोस्टमा उल्लेख गरिएको छ । उक्त पोस्टको अन्त्य तिर उक्त पोस्ट कहानी भएको उल्लेख गरिएको छ ।
पोस्टमा लेखिएको छ, “यो कहानीले एउटा सम्भावित परिदृश्य प्रस्तुत गरेको छ जहाँ हतारमा लिइएको निर्णयले निर्दोष व्यक्तिलाई फसाउन सक्छ। यौन दुर्व्यवहारका वास्तविक घटनाहरू अमानवीय हुन् र तिनको कडा विरोध हुनुपर्छ। तर, हामीले यो पनि बुझ्नुपर्छ कि कुनै पनि घटनाको सत्यताको गहिराइमा पुगेर मात्र निष्कर्ष निकाल्नु न्यायोचित हुन्छ ।” यो पोस्टलाई यो सामग्री तयार पार्दासम्म तीन हजार बढीले रियाक्ट गरेका छन् । सो पोस्टमा १२ सय बढि रियाक्सन र तीन सय बढि शेयर गरिएको छ । हेर्नुहोस् पोस्ट, पोस्टको रेकर्डेड भर्सन र स्क्रिनशट ।

सन्तोष कार्की मौसुफले दुई दिनमा राखेका यी दुई फरक फरक पोस्ट विश्लेषण गर्दा ७ जुलाईमा लेखकले घटनाका पात्रहरूको नाम परिवर्तन गरेर राजेश र सरिता राखेर एउटा काल्पनिक कथा बुनेका छन् । यसमा वास्तविक तस्बिर समेत प्रयोग गरिएको छ । यसले पाठकलाई “यस्तो पनि हुन सक्छ है” भन्ने संशय पैदा गरेको छ । पोस्टको अन्त्यमा उक्त कथा काल्पनिक भएको सन्दर्भ पनि खुलाइएको छ ।
उक्त पोस्टले सामाजिक सञ्जालमा चर्चा कमाएपछि त्यसको भोलिपल्ट पुन उनले अघिल्लो दिनको काल्पनिक कथालाई ‘सुरेन्द्र भट्ट’ को वास्तविक घटना भएको दाबी गरेका छन् । यहाँ अघिल्लो दिन यस्तो पनि सम्भावना हुन्छ भनेर काल्पनिक कथा र भोलिपल्ट सोही कथालाई वास्तविक जसरी स्थापित गर्न खोजिएको छ ।
उक्त पोस्टहरूमा घटनाका आरोपी ‘कार्यालयबाट फर्किने क्रममा मदिरा सेवन गरेको र भित्तामा फर्किएर पिसाब फेरेको’ दाबी गरिएको छ । नेपाल प्रहरीका अनुसार घटनाका आरोपी रक्षा मन्त्रालय अन्तर्गत काम गर्ने शिक्षा अधिकृत हुन् भने सार्वजनिक स्थलमा गोप्य अङ्ग प्रदर्शन गरेको घटना आइतबार साँझ घटेको हो ।

२२ चैतमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू शनिबार र आइतबार बिदा हुने गरेका छन् । रक्षा मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारी आइतबार (सार्वजनिक बिदाका दिन) कार्यालयबाट फर्किने क्रममा उक्त घटना भएको भनिनु आफैँमा शङ्कास्पद देखिन्छ ।
त्यसपछि हामीले पीडित युवतीले सार्वजनिक गरेको भिडिओ हेर्यौं । सो भिडिओमा युवतीले बाटोमा हिँडिरहेको बेलामा ति पुरुषले लुगा खोलेर देखाएर यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् ।
युवतीले आइतबार (५ जुलाई) साँझ ६ बजेतिर सामाजिक सञ्जालमा शेयर गरेको भिडिओमा भनेकी छिन्, “यो मान्छेले है, म यो बाटो हिडिरहेको थिए यो मान्छेले मलाई आफ्नो लुगा खोलेर देखाइदियो के ।”
उनले स्थानीयसँग ती पुरुषलाई समात्न सहयोग मागेकी छिन् । स्थानीयलाई घटनाको बारेमा सुनाउँदै भनेकी छिन्, “म एक्लै हिँडिरहेको थिए, उसले मलाई पूरै खोलेर देखाइदियो के ।” उनले ‘के गरेको थियो मैले तँलाई?’ भन्दै ती पुरुष माथि आक्रोश पोखेकी छिन् । उनले भिडिओमा ती पुरुषलाई खुट्टा ढोगेर माफी समेत माग्न लगाएकी छिन् ।
सो भिडिओ शेयर गर्दै उनले क्याप्सनमा लेखेकी छिन्, “आज म एक्लै बाटो हिँडिरहेकी थिएँ । मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ । तर पनि करिब ४० वर्ष जतिको एक जना मानिसले बीच बाटोमै मलाई देखेर आफ्नो लुगा खोलेर अश्लील व्यवहार गर्यो ।” सो भिडिओमा उनले बाटोमा हिँडिरहेको बेलामा एक्कासि अश्लील हर्कत गरेको उल्लेख गरेकी छिन् । जुन दाबी गरिएको जस्तो ‘भित्तामा फर्किएर पिसाब फेरेको’ भन्दा फरक घटना सन्दर्भ हो ।
त्यसपछि हामीले सामाजिक सञ्जालमा युवतीले घटनाको आरोपी भट्टले पिसाब फेरिरहेको देखिने तस्बिरको तथ्यजाँच गर्यौं । एआई डिटेक्सन टुल हाइभ मोडेरेसनले सो तस्बिर ९९.९ प्रतिशत एआई निर्मित भएको देखायो । जहाँ ओपन एआईको जेपीटी इमेजबाट तस्बिर बनेको सम्भावना ९८.८ प्रतिशत देखायो ।

त्यसपछि हामीले उक्त तस्बिर ‘भेरिफाई ओपन एआई जेनेरेटेड इमेजेज’मा राखेर हेर्यौँ । सो तस्बिर ओपन एआई टुल्सको प्रयोग गरेर नै तयार पारेको पुष्टी गर्यो ।

त्यसपछि हामीले जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई सम्पर्क गर्यौं । उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट भट्टलाई ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बताए । उनले भने, “उहाँ अहिले पनि हिरासतमा नै हुनुहुन्छ । हामी अनुसन्धान गर्दै छौं ।”
उनका अनुसार हाल पीडित युवतीले दिएको जाहेरीको आधारमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ । उनले आरोपी पुरुषसँग बयान लिइएको र उक्त बयान सरकारी वकिल कार्यालयले प्रतिवेदन तयार पारेपछि मात्र सार्वजनिक हुने बताए । अहिले घटनाका बारेमा अनुसन्धान जारी भइरहेकाले सामाजिक सञ्जालमा घटनाको बारेमा तोडमोड गरेर नराख्न आग्रह गरे । उनले भने, “सामाजिक सञ्जालबाट प्रभावमा नपरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।”
दाबी
इमाडोल घटनाका आरोपी ५५ वर्षीय सुरेन्द्र भट्टले बाटोमा भित्तातर्फ फर्किएर पिसाब फेरिरहेको बेलामा युवतीले भ्युज र डलर (मनिटाइजेसन) कमाउनका लागि भिडिओ खिचेर उनको बदनाम गरिन् भन्ने दाबी र पिसाब फेरिरहेको बेलामा युवतीले खिचिरहेको जस्तो देखिने फोटो भाइरल ।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ताहरू ‘K.P Gartaula’, ‘सन्तोष कार्की मौसुफ’, ‘Budha Hiralal’ र ‘एक्स’ प्रयोगकर्ता ‘Mike Budhathoki’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
१. एआई निर्मित तस्बिर: पुरुषले पिसाब फेरिरहेको र युवतीले भिडिओ खिचिरहेको देखिने तस्बिर एआईद्वारा बनाइएको हो । ‘हाइभ मोडेरेसन’ र ‘भेरिफाइ ओपन एआई इमेजेज’ले यो तस्बिर एआई निर्मित भएको पुष्टि गरेको छ ।
२. काल्पनिक कथाको प्रयोग: यो भ्रम फैलाउन ‘सन्तोष कार्की मौसुफ’ नामका प्रयोगकर्ताको मुख्य भूमिका देखिएको छ । उनले सुरुमा ७ जुलाईमा यस घटनालाई ‘काल्पनिक कथा’ भन्दै पात्रको नाम परिवर्तन गरेर पोस्ट गरेका थिए । तर, भोलिपल्ट उनले सोही काल्पनिक कथालाई वास्तविक घटना भन्दै सुरेन्द्र भट्टको नाम जोडेर सार्वजनिक गरेर भ्रम फैलाए ।
३. तथ्यगत त्रुटि: दाबीमा भट्ट कार्यालयबाट फर्किने क्रममा उक्त घटना भएको भनिएको छ । तर, घटना भएको दिन आइतबार (५ जुलाई) सार्वजनिक बिदा थियो । सरकारी कर्मचारी भट्ट बिदाको दिन कार्यालयबाट फर्किरहेको भन्ने दाबी नै मेल खाँदैन ।
४. भिडिओको सन्दर्भ: पीडित युवतीले सार्वजनिक गरेको सक्कली भिडिओमा उनले ती पुरुषले बाटोमा आफूलाई देखेर लुगा खोली अश्लील हर्कत गरेको आरोप लगाएकी छिन् । भिडिओमा ती पुरुषले पिसाब फेरेको सन्दर्भ नै छैन बरु उनले माफी मागेको देखिन्छ ।
५. प्रहरी अनुसन्धान: जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार भट्टलाई ‘अभद्र व्यवहारको कसुर’ मा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । आरोपी भट्टको बयान के छ भन्ने कुरा हालसम्म सार्वजनिक भइसकेको छैन ।
निष्कर्ष
इमाडोल घटनाका आरोपीले पिसाब फेरिरहेको बेला युवतीले भिडिओ खिचेको भन्ने दाबी भ्रामक हो । सोसँगै भाइरल भएको तस्बिर एआई निर्मित अर्थात् ‘फेक’ हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८३ ९:२८
