close

फेसबुकमा लोभ देखाउँदै ठगी गर्ने अनलाइन जुवा प्लेटफर्म नेपालमा फेरि सक्रिय

टेकपाना टेकपाना

असोज १५, २०८१ १८:२३

फेसबुकमा लोभ देखाउँदै ठगी गर्ने अनलाइन जुवा प्लेटफर्म नेपालमा फेरि सक्रिय

काठमाडौं । ठगी गर्ने उद्देश्यले नेपालमा फेरि अनलाइन सट्टेबाजी प्लेटफर्महरू सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जालमा सशुल्क विज्ञापन गरेर यस्ता प्लेटफर्महरू सोझा प्रयोगकर्तालाई ठगी गर्न लागिपरेका हुन् । झट्ट हेर्दा अवसरजस्तो देखिने यी प्लेटफर्महरूमा पैसा कमाउने सपना सजिलै बन्छ, तर वास्तविकता भने ठगीको धन्दा मात्र हो ।

तीमध्ये जयबाजी, बीजे८८ जस्ता प्लेटफर्मले आक्रामक तरिकाले नेपालमा प्रचार गरिरहेको देखिन्छ । हालै खोलिएका फेसबुक अकाउन्टमार्फत त्यस्ता प्लेटफर्मको विज्ञापन गरिएको पाइन्छ । झट्ट हेर्दै फसाउन सक्ने गरी विज्ञापनमा विवरण राखिएका छन् । 

उदाहरणका लागि जयबाजी प्लेटफर्मको विज्ञापन गरिएको ‘नेपाल रोयल क्वेस्ट’ नामक पेज गत ३१ जुलाई २०२४ मा मात्र खोलिएको हो । यस पेजमा जम्मा १६ फलोअर छन् । तर मेटाको एड लाइब्रेरीमा गएर हेर्दा भने उक्त पेज खोलिए पछि आठ ओटा विज्ञापन राखिसकेको देखिन्छ । तीमध्ये अधिकांश विज्ञापनमा 'नेपाली खेलाडीहरूका लागि विशेष' भन्दै प्रचार गरिएको छ । 

यी दुवै प्लेटफर्मको विज्ञापनमा प्लेटफर्मको वेबसाइट लिङ्क राखिएको छ । वेबसाइटमा फोन नम्बर राखेर अकाउन्ट खोल्ने विकल्प दिइएको छ । अझ डरलाग्दो कुरा त के छ भने यस प्लेटफर्मलाई नेपाली भएको देखाउन नेपाली भाषाको प्रयोग गरिएको छ । यसले गर्दा सामान्य प्रयोगकर्ता पनि उक्त प्लेटफर्मतर्फ आकर्षित हुने र अकाउन्ट बनाई उनीहरूले भनेको जस्तै गर्ने देखिन्छ । 

यसका साथै प्रत्यक्ष कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ । बाहिर सामाजिक सञ्जालमा यी प्लेटफर्मका एजेन्टसँग सम्पर्क गर्ने विकल्प छैन । तर वेबसाइटमा टेलिग्राम र ह्वाट्सएप च्यानलको लिङ्क राखिएको छ ।  

यो प्लेटफर्ममा जति जनालाई जोड्न सकिन्छ, जोड्नेलाई त्यति नै फाइदा हुने, कमिसन बढी पाइने, खेलाडीको सुरक्षा गर्ने, ईवालेट तथा बैंकमार्फत पैसा पठाउने जस्ता कुरा लेखी लोभ देखाइएको छ । यसरी नै प्रलोभनमा पारेर यसअघि  फिफिया, एनईसी निजमेगन, सीजी बेटजस्ता प्लेटफर्म सोझा प्रयोगकर्तालाई ठगी गरी फरार भएका थिए । 

नेपालमा कुनै पनि प्रकारको जुवा प्रतिबन्धित छ । तर यस्ता अनलाइन प्लेटफर्महरूले नयाँ तरिका अपनाउँदै सर्वसाधारणलाई झुक्याइरहेका छन् । आकर्षक विज्ञापन र चटपटे अफरहरूको माध्यमबाट लोभ्याउँदै यी प्लेटफर्महरूले ठूलो संख्यामा सर्वसाधारणको रकम असुलिरहेका छन् । विशेषगरी युवापुस्ता यस्ता प्रलोभनमा परेर आर्थिक संकटमा फसिरहेका छन् ।

सामान्यतः बेटिङ साइटले सुरुमा प्रयोगकर्तालाई जितेको भान गराउँछन् । तर अन्त्यमा प्रयोगकर्ताबाटै लाखौं रुपैयाँ लुट्ने गर्छन् । 

यसअन्तर्गत सबैभन्दा पहिले एउटा वालेट अकाउन्ट दिएर रकम ट्रान्सफर गर्न लगाइन्छ । नेपाली वालेटबाट ट्रान्सफर गरेको उक्त रकम प्लेटफर्ममा देखिन्छ । त्यसपछि प्रयोगकर्ताले अनलाइन क्यासिनो, फिशिङ, लट्री आदिमा रकम जम्मा गरेर खेल्न सक्ने बताइन्छ । 

यी प्लेटफर्ममा प्रयोग भएका बैंक अकाउन्ट तथा वालेट अकाउन्टहरू पनि प्रलोभनमा परेर राखिएको जस्तो देखिन्छ । यस प्लेटफर्ममा उपलब्ध गराइएको एक नम्बरमा सम्पर्क गर्दा एक महिलाले फोन उठाइन् । उनले छोराले नै धेरैजसो मोबाइल प्रयोग गर्ने बताइन् । यसबाट उनका छोरा नै आमाको फोन नम्बर राखी अवैध प्लेटफर्ममा आबद्ध भएको देखिन्छ ।

यस्ता प्लेटफर्मले क्षणिक रूपमा फाइदा दिए पनि कालान्तरमा घर न घाटको बनाउन सक्छन् । यसकारण अनलाइन जुवाको लोभमा परेर आफ्नो सम्पत्ति गुमाउनुअघि सर्वसाधारणले एक पटक सोच्नैपर्छ कि यो अवसर होइन, धोका हो ।

प्रविधिको दुरुपयोग गरेर ठगी धन्दा चलाउने व्यक्तिहरूले नयाँ-नयाँ अनलाइन एप र वेबसाइटहरू मार्फत आफ्नो जाल फैलाएका छन् । प्रयोगकर्ताले सजिलैसँग आफ्नो व्यक्तिगत विवरण र बैंक खाता जानकारी दिएपछि उनीहरू ठगको शिकार बन्न पुग्छन् । यस्ता प्लेटफर्महरूमा एक पटक फसेपछि पैसा फिर्ता पाउन गाह्रो मात्र होइन, असम्भव नै हुन्छ ।

यस ठगीको फन्दाबाट बच्न सर्वसाधारणलाई सतर्कता अपनाउन र अनलाइनमा आर्थिक कारोबार गर्दा बढी सचेत रहन विज्ञहरूले सुझाएका छन् । अर्कोतर्फ सरकार र सुरक्षा निकायको निरन्तर निगरानी नहुँदासम्म यस्ता ठगीका घटनाहरू बढ्दै जाने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: असोज १५, २०८१ १९:१०