सामाजिक सञ्जालमार्फत हाम्रा निर्दोष शिक्षक-कर्मचारीहरूमाथि समेत आधारहीन आरोप लगाइयो- सुकुना मावि
साउन ७, २०८३ ९:२८
काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमार्फत निर्दोष शिक्षक तथा कर्मचारीहरूमाथि आरोप लगाउने काम भइरहेको दाबी गरेको छ । विद्यालय प्रशासन, शिक्षक अभिभावक सङ्घ र विद्यालय व्यवस्थापन समितिले संयुक्त विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिनलाई प्रभाव पार्ने र मानमर्दन गर्ने किसिमका गतिविधि भएको गुनासो गरेका हुन् ।
२ साउनदेखि ‘S/K/N Confession & Meme’ नामक फेसबुक पेजबाट शिक्षक-कर्मचारीका कमी-कमजोरीहरू औँल्याइएकोमा विद्यालयले सो समूहलाई धन्यवाद दिँदै दोषीले हदैसम्मको सजाय पाउनुपर्ने र पीडितले न्याय पाउनुपर्ने राय राखेको छ । घटनामा आरोपित शिक्षक-कर्मचारीहरूलाई विद्यालयले तत्काल निलम्बन गरी निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायलाई सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
तर, निष्पक्ष छानबिनको प्रक्रिया चलिरहेकै अवस्थामा प्रमाण र तथ्यभन्दा बाहिर गएर होहल्ला एवं प्रचारबाजीका आधारमा निर्दोष शिक्षक-कर्मचारीहरूको मनोबल गिराउने र विद्यालयको वर्षौँदेखिको साख धमिल्याउने काम भएको भन्दै विद्यालयले दुःख व्यक्त गरेको छ ।
“निर्दोष शिक्षक-कर्मचारीहरूमाथि समेत विभिन्न किसिमका आरोप-प्रत्यारोपहरू लगाई मनोबल गिराउने, सुकुना मा. वि. को वर्षौँदेखिको साखलाई धराशायी बनाउने, प्रमाण र तथ्यका आधारमा भन्दा पनि होहल्ला एवम् प्रचारबाजीका रूपमा निर्दोष शिक्षक-कर्मचारीहरूको मानमर्यादामा आँच आउने किसिमका गतिविधिहरू निरन्तर दोहोऱ्याइरहेको हुँदा हामी अत्यन्त दुःखी छौँ,” विज्ञप्तिमा भनिएको छ ।
विद्यालयमा शिक्षण सिकाइका अतिरिक्त अन्य विषयमा सुझाव वा गुनासो भएमा सुरक्षित रूपमा विद्यालय प्रशासन, गुनासो सुनुवाइ समिति, विद्यालय व्यवस्थापन समिति, नगरपालिका शिक्षा शाखा वा स्थानीय प्रहरी प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी तथा वडा प्रतिनिधि सम्मिलित पाँच सदस्यीय गुनासो सुनुवाइ समिति समेत गठन गरिएको विद्यालयले जनाएको छ ।
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले उक्त फेसबुक पेजमार्फत शिक्षक तथा कर्मचारीहरूमाथि गम्भीर यौन दुर्व्यवहार र अशोभनीय व्यवहारको आरोप लगाउँदै एक्स्पोज गरिरहेका छन् । शिक्षकहरूले रातको समयमा ‘डार्लिङ’, ‘बेबी’, ‘सेक्सी’ जस्ता अश्लील मेसेज पठाउने, संवेदनशील अङ्गको तस्बिर माग्ने, प्राक्टिकल अङ्क बढाइदिने वा प्रश्नपत्र आउट गरिदिने लोभ देखाएर भिडिओ कल र फोटो माग्ने, अनुचित तरिकाले छुने तथा ‘राति कोठामा आऊ’ भन्दै बोलाएको देखिने स्क्रिनशट सार्वजनिक भएका छन् ।
साथै, विद्यालयका बस चालक र सहचालकले समेत छात्राहरूलाई अवाञ्छित मेसेज पठाएर जिस्क्याउने गरेको र प्रधानाध्यापक स्वयम्ले पनि राति मेसेज पठाउने तथा उजुरीहरू पर्दा ‘छोरी जस्तै गरेर छोएको हो’ भन्दै घटना ढाकछोप गर्न खोजेको आरोप विद्यार्थीहरूले लगाएका छन् ।
ती सामग्री सार्वजनिक भएपछि प्रहरीले सोमबार विद्यालयका शिक्षक अविरल मास्के, किशोरलाल गच्छदार तथा विद्यालय बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरेको थियो । त्यस्तै मंगलबार नृत्य प्रशिक्षक भीमप्रसाद नेपाल पक्राउ परेका थिए ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८३ ९:५२
