काठमाडौं । वनप्लस र यसको अभिभावक कम्पनी ओप्पोले जर्मनीमा फेरि एकपटक प्रतिबन्धको सामना गरेका छन् । यसअघि नोकियासँगको लामो पेटेन्ट विवाद समाधान भए पनि अहिले इन्टरडिजिटल नामक कम्पनीसँग विवाद उत्पन्न हुँदा स्मार्टफोन बिक्री रोकिएको हो ।
इन्टरडिजिटलसँगको यो विवाद फाइभजी र अन्य अत्याधुनिक मोबाइल प्रविधिमा आधारित पेटेन्टमाथि केन्द्रित रहेको बताइएको छ । यसअघि नोकियासँगको विवादका कारण वनप्लस र ओप्पोका उत्पादन जर्मनीमा प्रतिबन्धित थिए । अहिलेको घटनामा पनि चिनियाँ कम्पनीले लगभग त्यस्तै परिस्थितिको सामना गर्नुपरेको छ ।
योसँगै जर्मनीमा वनप्लसको अनलाइन स्टोरमा वनप्लस १२ सहितका स्मार्टफोन उपलब्ध हुन छाडेका छन् ।
वनप्लस फ्यानहरू भने यस प्रतिबन्धबाट निराश बनेका छन् । वनप्लसले छिट्टै समस्या समाधान गरी जर्मनीमा पुनः आफ्नो स्मार्टफोन बिक्री गर्ने आशा व्यक्त गरेको छ, तर फाइभजी प्रविधिमा आधारित पेटेन्ट मुद्दाहरू प्रायः जटिल र समय लाग्ने भएकाले यसले कम्पनीलाई थप चुनौती सिर्जना गर्ने सम्भावना छ ।