close

एनसेल एपमा एनपीएल लाइभ हेर्न सकिने, हरेक चौकामा विद्यार्थीका लागि शैक्षिक सामग्री

टेकपाना टेकपाना

मंसिर १३, २०८१ २१:३४

एनसेल एपमा एनपीएल लाइभ हेर्न सकिने, हरेक चौकामा विद्यार्थीका लागि शैक्षिक सामग्री

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो मोबाइल एपमार्फत नेपाल प्रिमियर लिग (एनपीएल)को लाइभ देखाउने भएको छ । लिगको 'पावर्ड बाई' समेत रहेको एनसेलले आफ्ना ग्राहकका लागि यो सुविधा उपलब्ध गराउन लागेको हो ।

कम्पनीले यसबारे थप जानकारी छिट्टै सार्वजनिक गर्ने जनाएको छ । आठ फ्रेन्चाइज टिम सम्मिलित लिग शनिबारदेखि सुरु हुँदैछ ।

त्यस्तै, एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्ने उद्देश्यसहित नयाँ पहल सुरु गरेको छ । यसअन्तर्गत प्रत्येक खेलमा हानिने प्रत्येक चौकाबापत ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चार ओटा शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

फाउन्डेसनका अनुसार शैक्षिक सामग्रीले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्नेछ । प्रत्येक शैक्षिक किटमा आवश्यक सामग्री समावेश हुनेछ, जसले स्रोतको अभाव कम गर्न र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा योगदान प्रदान गर्नेछ ।

“क्रिकेटले एकता र प्रेरणा प्रदान गर्छ । यस पहलमार्फत हामी क्रिकेटको चाख र यसको शक्तिको उपयोग गरी ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ । शिक्षा दिगो विकासको मुख्य आधार हो, र यो पहलले भावी पुस्तालाई सक्षम बनाउने हाम्रो प्रतिबद्धता दर्शाउँछ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।

फाउन्डेसनले शैक्षिक सामग्रीको वितरण क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय, र सरोकारवालाहरूको समन्वयमा गरिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८१ २१:४२