काठमाडौं । छिमेकी देश भुटानमा एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिङ्क सञ्चालनमा आउने भएको छ । भुटान इन्फोकम एन्ड मिडिया अथोरिटी (बीआईसीएमए)ले हालै मात्र स्टारलिङ्कलाई इन्टरनेट सेवा प्रदायक (आईएसपी)को रूपमा अनुमति प्रदान गरेको हो ।
स्टारलिङ्कले विशेषगरी दुर्गम र पहुँचविहीन स्थानहरूमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । अनुमति पाएसँगै स्टारलिङ्कले भुटानी ग्राहकका लागि विभिन्न प्याकेज उपलब्ध गराएको छ ।
यस अनुसार रेसिडेन्सियल प्याकेजका लागि ११० एमबीपीएस इन्टरनेटको मासिक शुल्क ४२ सय भुटानी नगुल्ट्रम (करिब सात हजार रुपैयाँ) पर्नेछ । त्यसैगरी, रेसिडेन्सियल लाइटको मासिक शुल्क तीन हजार नगुल्ट्रम (करिब पाँच हजार रुपैयाँ) रहने छ । त्यस्तै व्यवसाय, सरकारी कार्यालय र संस्थाका लागि ५ देखि २२० एमबीपीएस गतिसम्मका प्याकेज ल्याइएको छ, जसको मासिक शुल्क ४२ सयदेखि चार लाख नगुल्ट्रम (सात हजारदेखि ६४ हजार रुपैयाँ)सम्म पर्छ ।
यी प्याकेजमा केही डेटा सीमा रहेको र मोबाइल नेटवर्क सेवाको लागि स्टारलिङ्क सिधै उपयोग गर्न नसकिने जनाइएको छ । मस्को इन्टरनेट सेवा लिन इच्छुक प्रयोगकर्ताले स्टारलिङ्क किट किन्नुपर्ने हुन्छ । यसअन्तर्गत सबैभन्दा सस्तो किटको मूल्य १७,००० नगुल्ट्रम (२७ हजार रुपैयाँ) पर्नेछ ।
हाल स्थानीय दूरसञ्चार सेवाप्रदायकहरू भुटान टेलिकम र ताशि सेल (TashiCell)ले मासिक चार हजार नगुल्ट्रममा ८ एमबीपीएस र ५० हजार नगुल्ट्रममा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराइरहेका छन् । यी कम्पनीका योजनाहरू तुलनात्मक रूपमा सस्तो भए पनि स्टारलिंकले उच्च गतिको सेवा दिनसक्ने भएकाले दुर्गम क्षेत्रका लागि उपयोगी हुने बताएको छ ।