close

टेकपाना फ्याक्ट चेकः नझुक्किनुहोस्, अमेरिकी राष्ट्रपति ट्रम्पले बालेनलाई जवाफ दिएका छैनन्

हिक्मत आचार्य/शिव बस्नेत हिक्मत आचार्य/शिव बस्नेत

फागुन १०, २०८१ १४:३

टेकपाना फ्याक्ट चेकः नझुक्किनुहोस्, अमेरिकी राष्ट्रपति ट्रम्पले बालेनलाई जवाफ दिएका छैनन्

काठमाडौं । बिहीबार २० फेब्रुअरी २०२५ मा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई मेन्सन गर्दै एक पोस्ट राखे ।

बालेनले अंग्रेजी भाषामा गरेको पोस्टको नेपाली उल्था यस्तो छ, “हाम्रो देश तिम्रोभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएकोमा धन्यवाद । हाम्रा मान्छेहरू देश छोडेर गएकाले हामी गरिब भएका हौं । तिम्रा मान्छेहरूले तिम्रो देश बनाउन नसकेर तिमीहरू गरिब भएका हौ । तिमी अल्छी मान्छेहरूलाई त संसारभरिको सहयोग चाहिन्छ । कृपया तिम्रो दासत्व (डीभी) पनि बन्द गर; हामी हाम्रा रत्नहरू फिर्ता पाउनेछौं । तिम्रो देशमा संसारभरिका मान्छेहरूलाई प्रतिबन्ध लगाऊ, र संसारलाई बढ्न देऊ ।”

यो पोस्ट आएपछि डोनल्ड ट्रम्पले जवाफ दिएको भन्ने भिडिओ भाइरल भइरहेको छ । तर, टेकपानाको तथ्यजाँचबाट यो भिडिओ मिथ्या रहेको पुष्टि भएको छ । 

दाबी 

सामाजिक सञ्जाल टिकटक र फेसबुकमा ट्रम्पले बालेनको जवाफ दिएको भन्दै भिडिओ भाइरल भइरहेका छन् । टिकटकमा भाइरल भएका भिडिओमा केहीले ड्वेट बनाएका छन् । केहीले भने एक छेउमा बालेनको फोटो र अर्को छेउमा ट्रम्पले बोलेको भिडिओ राखेका छन् । उक्त भिडिओमा प्रायः एउटै किसिमको क्याप्सन राखिएको छ । त्यसमा भनिएको छ, “बालेन त्यस्तै बालेन भएका होइनन् । स्टाटसले ट्रम्प झुकी सकेछन् । जाबो हिजोको हवाई चप्पलले बालेनलाई खेदो खन्ने ? युवा हो युवा, यो देशको गहना हो ।”

उक्त भिडिओमा ट्रम्पले यस्तो भनेको देख्न सकिन्छ, “प्यारो मेयर बालेन, अति सुन्दर सन्देश, साँच्चै अद्भुत । तपाईँ एक बलियो नेता हुनुहुन्छ र काठमाडौं एउटा सुन्दर सहर हो, ठूलो सम्भावना छ, महान् मानिसहरू छन् । मलाई विजेताहरू मन पर्छ र तपाईँमा त्यो ऊर्जा छ, ठूलो ऊर्जा । अमेरिका अझै पनि महान् छ तर म आफ्नै राष्ट्रहरू निर्माण गर्न चाहने नेताहरूको सम्मान गर्छु, बलियो राष्ट्र, बलियो नेतृत्व, म जस्तै । कडा परिश्रम गरिरहनुहोस्, नेपाललाई महान् बनाउनुहोस् । कसलाई थाहा म कुनै दिन भ्रमण गर्न सक्छु, ठूलो सम्भावना छ ।”

ख्यामराज दाहाल नाम भएका प्रयोगकर्ताले १० घण्टाअघि एक भिडिओ राखेको देखिन्छ । भिडिओको टिकटक लिङ्क र आर्काइभ लिङ्क यहाँ छ । यो सामग्री तयार पार्दासम्म यसमा ६१ हजार बढी लाइक १६ ओटा कमेन्ट आएका छन् भने भिडिओले आठ लाख ९४ हजार बढी भ्युज पाएको छ । 

यस्ता सयौं भिडिओ छन्, जसले ट्रम्पले बालेनको जवाफ दिए भन्दै भिडिओ भाइरल बनाइरहेका छन् । केहीले कमेन्टमा यस्तो पनि हुन्छ भन्दै आशंका व्यक्त गरेका छन् भने अधिकांशले त्यही सामग्रीलाई विश्वास गरेका छन् ।

 

 

तथ्यजाँच

हामीले सबैभन्दा पहिले भाइरल भएको भिडिओ नियाल्यौं । त्यसको माथि दायाँपट्टि ‘मेड विथ ट्राईप्यारोट एआई डटकम’ वाटरमारर्क राखिएको छ । अर्थात् भिडिओ एआईको सहायताले तयार पारिएको हो भन्ने वाटरमार्कबाटै पुष्टि हुन्छ । 

त्यसबाहेक ५ फेब्रुअरी २०२५ मा ट्रम्पको त्यही भिडिओ क्रिटिकल अर्बानिजन नामक एक्स अकाउन्टबाट अपलोड भएको देखिन्छ । त्यस भिडिओमा पनि आवाज र लिपसिङ्क मिल्दैन । यी दुई ओटा तथ्यबाट यो भिडिओ एआई टुल प्रयोग गरी तयार पारिएको पुष्टि हुन्छ । 

दाबी

टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बालेनको फेसबुक पोस्टको जवाफ फर्काएको दाबी गरेका छन् ।

तथ्य

टेकपानाको तथ्यजाँचबाट उक्त दाबी गलत पुष्टि भएको छ । ट्रम्पले अहिलेसम्म बालेनलाई कुनै जवाफ दिएका छैनन् । भिडिओ प्यारोटएआई टुलबाट तयार पारिएको हो । 

निष्कर्ष

काठमाडौंका मेयर बालेनलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जवाफ फर्काएको दाबी सहितका भिडिओ भाइरल भइरहेका छन् । भिडिओमा ट्रम्पले बालेनलाई उक्त सन्देश आफूले पाएको भन्दै त्यसलाई प्रशंसा गरेको देखाइएको छ । तर, टेकपानाको तथ्यजाँचले यो मिथ्या रहेको देखाएको छ । अहिलेसम्म राष्ट्रपति ट्रम्पले बालेनलाई केही जवाफ दिएका छैनन् । 

प्रतिक्रिया

तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्यजाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नुहुनेछ । तथ्यजाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनुहोला ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ ०:५९