काठमाडौं । शनिबार अर्थात् ८ मार्च २०२५ देखि सामाजिक सञ्जालमा फेसबुकमा ‘छोराले आमालाई जिउँदै गाडेको’ दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । विभिन्न फेसबुक पेजहरूले एउटै भिडिओ डाउनलोड गर्दै क्याप्सन कपी पेस्ट गर्दै अपलोड गरिरहेका छन् । केहीले उक्त घटना गुम्लीको भनेका छन् भने केहीले झापा त, केहीले कुनै जानकारी नै दिएका छैनन् ।
टेकपानाको तथ्यजाँचबाट यो भिडिओमा देखिएको घटना एक वर्ष अघिको रहेको खुलेको छ । यो घटना ३० फागुन २०८० मा झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ७ मा भएको थियो । १८ वर्षीय नाति धिरज बिकले हजुरआमा ८२ वर्षीया नरमाया बिकको हत्या गरेका थिए । त्यही बेलाको भिडिओलाई लिएर अहिलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले भ्रम फैलाएको देखिएको हो ।
दाबी
८ मार्च २०२५ देखि सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ भाइरल भइरहेको छ । २ मिनेट ११ सेकेन्डको भिडिओ ‘बाह्रदशी गाउँपालिकाको शेरोफेरो’ नामको फेसबुक पेजले आइतबार अपलोड गरेको देखिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ४८ हजार बढी भ्युज, ८६५ रियाक्सन र ७४ कमेन्ट आएका छन् ।
दुई लाख २४ हजार बढी फलोअर भएको ‘हाम्रो प्यारो देश नेपाल’ नामको फेसबुक पेजले सोही भिडिओको १ः४५ सेकेन्डको दृश्य अपलोड गरेको छ ।
भिडिओको क्याप्सनमा लेखिएको छ, “फाल्गुन २४ शनिबार, आफ्नै आमालाई आफ्नै सन्तानले जिउदै पुरेपछि ।” हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्कक । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २५०० बढी रियाक्सन १३१ कमेन्ट र ३७५ शेयर आएको देखिन्छ ।
यसरी घटना शनिबार भएको भन्दै कैयौं पेजले भिडिओ सार्वजनिक गरेका छन् । केहीले यो घटना गुल्मीको भएको दाबी गरेका छन् भने केहीले झापाको भएको दाबी गरेका छन् । फेसबुकमा ‘आफ्नै सन्तानले जिउदै पुरेपछि’ कीवर्ड सर्च गर्यो भने सयौं भिडिओ भेटिन्छन् ।
तथ्य जाँच
हामीले भिडिओको वास्तविकता पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय झापालाई सम्पर्क गर्यौं । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक चिरञ्जिवी दाहालले मिडियाबाट फोन आएको थाहा पाउने बित्तिकै भने, “आमालाई छोराले जिउँदै गाडेको विषय के हो भन्ने बुझ्न खोज्नु भएको होला है । हाम्रोमा केही आएको छैन । हाम्रो जिल्लामा होइन ।”
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले पछिल्ला केही दिनमा सन्तानले आमालाई जिउँदै पुरेको भन्ने कुनै खबर नआएको बताए ।
यसबाट दाबी गरिएका दुई ठाउँबाट यो घटना अहिलेको नभएको जानकारी पायौं । त्यसपछि हामीले फेसबुकमा दाबी गरिएको ‘गौरादह आमा हत्या’ भन्ने कीवर्ड गुगलमा सर्च गर्यौं ।
त्यस क्रममा ३० फागुन २०८० मा पार्थ पौडेलले अन्नपूर्ण पोस्टमा लेखेको ‘हजुरआमाको हत्या गरी शव गाडेको अवस्थामा फेला, नातिसहित चार पक्राउ’ शीर्षकको समाचार फेला पार्यौं । हेर्नुहोस् ओरिजिनल लिङ्क अनि आर्काइभ लिङ्क । त्यस्तै १ चैत २०८० मा न्युज सञ्चालमा ‘गौरादहमा हजुरआमाको हत्या, नातिसहित चारजना पक्राउ’ शिर्षकको समाचार राखिएको फेला पर्यो ।
हामीले ग्रोक एआईमा यस घटनाको सबै जानकारी उपलब्ध गराएर यससँग मेल खाने स्रोत उपलब्ध गराउन अनुरोध गर्यौं । ग्रोक एआईले मकालु खबरले अङ्ग्रेजीमा लेखेको ‘Jhapa murder case: grandson commits murder under influence of cannabis’ शीर्षकको समाचारको लिङ्क उपलब्ध गरायो । उक्त समाचारमा दुई व्यक्ति पक्राउ परेको फोटो फिचर फोटोमा राखिएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।
हामीले मकालु खबरले समाचारमा राखेको फोटो र भाइरल भिडिओमा देखिएका युवकको हुलिया नियाल्यौं । त्यस क्रममा दुवै फोटोमा त्यतिबेला हत्याको आरोप लागेका १८ वर्षीय धिरज बिकका दुवै फोटोमा ‘अन्डर आर्मर’को कालो टि-शर्ट लगाएको फेला पार्यौं ।
यस विषयमा हामीले गौरादह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बलराम खरेलले यो घटना एक वर्ष अघिको भएको पुष्टि गरे । हामीले उनलाई भाइरल भिडिओ पठायौं । “भिडिओ खिच्ने र बोल्ने व्यक्ति धिरजका ठुलाबुवा राजेश बिश्वकर्मा हुन् । पछाडि वडा कार्यालयले बनाइदिएको घर छ । त्यो गाई बाँध्ने ठाउँ ग्वालोमा गाडेको हो,” भिडिओको तथ्यबारे बताउँदै खरेलले भने ।
अन्नपूर्ण पोस्ट र बाह्रखरीमा प्रकाशित समाचार अनुसार २५ फागुन २०८० शिवरात्रिको मध्यरातको माहोल थियो । ८२ वर्षीया वृद्धा नरमाया विकका नाति धिरजले गाँजा किन्नका लागि हजुरआमासँग पैसा मागे । तर, नरमायाले पैसा दिन इन्कार गरिन् । त्यही झोकमा धिरजले रडले टाउकोमा हानी हत्या गरे । र, गोठमा लिएर गाडे । त्यस क्रममा उनले साथीहरूको सहयोग लिएको अध्यक्ष खरेलले बताए । नरमाया हराएको पाँच दिनसम्म पनि फेला नपरेपछि उनका जेठा छोरा रमेश बिकले जिप्रका झापामा उजुरी दिएका थिए । त्यही दिन अर्थात् ३० फागुन २०८० मा नरमाया ग्वालीमा गाडिएको अवस्थामा फेला परेकी थिइन् । त्यहीबेला भिडिओ खिच्दै रमेशले धिरजसँग घटनाको बारेमा बुझ्न खोजिरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार घटनापछि तत्कालै कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसबेला धिरजसँगै उनका अन्य तीन साथी पक्राउ परेका थिए । पछि प्रहरीले धिरज बिक र राजु मलिकलाई सार्वजनिक गरेको थियो । खरेलका अनुसार मलिक केही समयमै छुटेका थिए भने दोषी ठहर भएका मुख्य आरोपी धिरज बिकलाइ विराटनगरको सुधार केन्द्रमा पठाइएको थियो । अहिले पनि उनी सुधार केन्द्रमै छन् ।
कसरी फैलियो एक वर्ष पुरानो भिडिओ ?
खरेलका अनुसार रमेश बिक आमाको वार्षिकीका लागि गत १५ फागुनमा धरानबाट झापा आएका थिए । वार्षिकी सकिएपछि उनले आफ्नो फेसबुक अकाउन्टमा एक वर्ष पुरानो भिडिओ अपलोड गरे । रमेशकी श्रीमतीको भनाइ उद्धृत गर्दै वडाध्यक्ष खरेलले भने, “बितिसकेको कुरा किन हाल्नुपर्यो भनेर उनकी श्रीमतीले हटाउन अनुरोध गरेकी रहिछन् । तर, उनले अटेर गरेर भिडिओ अपलोड गरि छोडेछन् ।” वडाध्यक्षले रमेशकी श्रीमतीको भनाइ उद्धृत गर्दै भिडिओ अपलोड गरेको बताए पनि उनको अकाउन्टमा भने अहिले उक्त भिडिओ छैन । रमेशले अपलोड गरेको भिडिओ सबैभन्दा पहिले कसले डाउनलोड गरेर सामाजिक सञ्जालमा फैलायो भन्ने खुलेको छैन ।
दाबी
झापा/गुल्मीमा एक युवकले आफ्नी आमालाई जिउँदै गाडेर मारे ।
दाबीकर्ता
हाम्रो प्यारो देश नेपाल, बाह्रदशी गाउँपालिकाको शेरोफेरो लगायतका फेसबुक पेज ।
तथ्य
यो ३० फागुन २०८० मा झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ७ मा भएको घटना हो । १८ वर्षीय नाति धिरज बिकले हजुरआमा ८२ वर्षीया नरमाया बिकको हत्या गरेका थिए । एक वर्ष पुरानो भिडिओ अहिलेको भन्दै भाइरल भइरहेको छ ।
निष्कर्ष
छोराले आमालाई जिउँदै गाडेर मारेको भन्ने दाबी गर्दै फैलिएको भिडिओ एक वर्ष अगाडि झापाको गौरादह नगरपालिका वडा नम्बर ७ को घटना हो । शिवरात्रिको रात हजुरआमासँग नाति १८ वर्षीय धिरज बिकले गाँजा किन्ने पैसा माग्दा नदिएपछि आवेगमा आएर रड प्रहार गर्दा हजुरआमाको ज्यान गएको थियो । कसैले थाहा नपाओस् भन्नका लागि धिरजले साथीहरूको सहयोगमा हजुरआमाको शव ग्वाली (गोठ) मा गाडेका थिए । यसकारण जिउँदै पुरेको दाबी गलत हो भने मृतक नरमाया बिक रमेश बिकको आमा नभएर हजुरआमा हुन् । एक वर्ष पुरानो उक्त भिडिओलाई लिएर अहिलेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
प्रतिक्रिया
तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा info@techpana .com मा तथ्य जाँच गर्नुपर्ने अनलाइन तथा सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।