close

फ्याक्टचेकः झापामा केपी ओलीलाई मतदाताले लेखेटे भन्दै जेनजी विद्रोहको काठमाडौँको भिडिओ भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

माघ २६, २०८२ १९:६

फ्याक्टचेकः झापामा केपी ओलीलाई मतदाताले लेखेटे भन्दै जेनजी विद्रोहको काठमाडौँको भिडिओ भाइरल

काठमाडौँ । पछिल्ला केही दिनयता नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापामा मतदाताले कुटेको भन्ने दाबीसहितका भिडिओ फेसबुक र टिकटकमा भाइरल भएका छन् । ती भिडिओमा घरमा आगलागी भइरहेको दृश्य समेत देखिन्छ । 

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक पुष्टि भएको छ । वास्तवमा पाँच महिनाअघिको जेन-जी विद्रोहका क्रममा काठमाडौँको प्रदर्शन हुँदा खिचिएको भिडिओलाई केपी ओलीसँग जोडेर गलत सन्दर्भमा फैलाइएको पाइएको हो ।

दाबी

शनिबार, ७ फेब्रुअरी २०२६ अपरान्ह ५ः०३ बजे ‘कृष्ण अयाँल’ नामका प्रयोगकर्ताले एक भिडिओ अपलोड गरे । भिडिओको क्याप्सनमा लेखिएको छ, “हत्यारा केपिअोलिलाइ आज झापामा जनताले रामधुलाई गरेका छन् सास राखे नेपालीको ३२.५ अर्ब पैसो कम्बोडियामा छ त्यो ल्याउनु पर्छ #नेपाल ।” 

१९ सेकेन्डको उक्त भिडिओमा आगजनी भइरहेको देखिन्छ । एउटा नेपालको झण्डा देखिएको छ । अडियोमा भने ‘केपी चो'र’ भन्दै नारा लगाइरहेको सुनिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ५७०० बढी रियाक्सन र ५०९ कमेन्ट आएका छन् । भिडिओमा दुई लाख बढी भ्युज छ भने त्यसलाई १२०० बढी पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिन रेकर्ड ।

 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले ‘इनभिड-विभेरिफाई’ टुलबाट किफ्रेम निकालेर रिभर्स इमेज सर्च गर्दा उक्त भिडिओ फेसबुकमा ‘राष्ट्रिुय स्वतन्त्र पार्टी’ नामक फेसबुक पेजले सोही भिडिओ र क्याप्सन ८ फेब्रुअरी बिहान १ः१४ बजे राखेको फेला पर्‍यो । उक्त भिडिओमा ६७०० बढी रियाक्सन र ४६६ बढी कमेन्ट आएका छन् भने त्यसलाई ८३९ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट । 

त्यस्तै राजकुमार शाही ठकुरी नामक प्रयोगकर्ताले पनि सोही भिडिओ र क्याप्सन राखेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

गुगलमा रिभर्स इमेज सर्च गरेपछि हामी २५ जनवरी २०२६ मा टिकटकमा ‘kasgav_Khadka10’ युजरनेम भएका प्रयोगकर्ताले अपलोड गरेको भिडिओमा पुग्‍यौँ । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “केपि ओलि झापा मा भोट माग्न जादा जनता ले यसरी लखेटे ।” उक्त भिडिओमा २१ हजार बढी लाइक, २०१ कमेन्ट, ८६३ सेभ भएको छ । चार लाख २० हजार बढी भ्युज आएको सो भिडिओ २५०० भन्दा बढी पटक शेयर भएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

टिकटकमा उक्त भिडिओका लागि प्रयोग भएको अडियो ‘rajesh_chhetri345’ नामक टिकटक अकाउन्टले राखेको भिडिओबाट प्रयोग भएको पाइयो । हेर्नुहोस् भिडिओ । 

उक्त भिडिओ २४ जनवरी २०२६ मा अपलोड गरिएको थियो । त्यसमा काठमाडौँ तीनकुने क्षेत्रमा प्रदर्शन भइरहेको देखिन्छ । ‘केपी ओली’ विरुद्धको नारा लगाएको भए पनि २३ र २४ भदौपछि काठमाडौँ तीनकुनेमा प्रदर्शन नै भएको छैन । यसबाट जेन-जी प्रदर्शनको भिडिओ झन्डै पाँच महिनापछि फरक अडियोमा राखेको पाइयो । 

हामीले केशव खड्का नामक प्रयोगकर्ताको टिकटक अकाउन्ट विश्लेषण गर्‍यौँ । त्यस क्रममा उनले  सोही भिडिओ तर फरक क्याप्सन राखेको पायौँ । १९ नोभेम्बर २०२५ मा राखिएको उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “महेस बस्नेत विरुद्ध जेन्जी हरुको आन्दोलन्😜।” त्यसमा भने २२ सेकेन्डको क्लिप राखिएको छ । हेर्नुहोस् भिडिओ । 

उक्त भिडिओमा प्रयोग भएको अडियो भने फरक छ । उक्त अडियोको स्रोत खोज्दै जाने क्रममा ‘यात्रा डेलीडटक’ नामक टिकटक अकाउन्टबाट १९ नोभेम्बर २०२५ मा ‘महेस बस्नेत सिमरा विमानस्थलमा आउने भएपछि विरोधमा उत्रिएका जेन-जी युवा र नेकपा एमालेका समर्थकहरूबिच भिडन्त’ क्याप्सनसहितको भिडिओ राखेको फेला पार्‍यौँ । हेर्नुहोस् भिडिओ । गुगल म्यापमा ‘सिमरा विमानस्थल’ सर्च गरेर स्ट्रिट भ्यु हेर्दा झडप भएको ठाउँ सिमरा विमानस्थल भएको पुष्टि भयो । हेर्नुहोस् म्याप्स

यसबाट के पुष्टि भयो भने केशव खड्का नामक प्रयोगकर्ता जानाजान समय समयमा भ्रम फैलाइरहेका हुन्छन् । एउटै भिडिओ एक पटक सिमरामा महेश बस्नेतले कुटाइ खाए भनेका छन् भने अर्को पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा कुटाइ खाएको दाबी गरेका छन् । 

हामीले उक्त भिडिओ कहाँको हो भन्ने विश्लेषण गर्न खोज्यौँ । त्यस क्रममा गुगल म्याप्समा खोज्दा भिडिओ नेपालटार तार्केश्वर क्षेत्रको रहेको पुष्टि भयो । गुगल म्याप्समा हेर्नुहोस् । अनि तल हेर्नुहोस् झापाको भन्दै भाइरल भएको भिडिओको स्क्रिनशट र गुगल म्याप्समा देखिएको नेपालटार तार्केश्वर वडा नम्बर ११ क्षेत्रको दृश्य । 

यसबाट केशव खड्का नाम गरेका प्रयोगकर्ताले नेपालटार क्षेत्रको भिडिओ राख्दै झापामा ओलीले मतदाताबाट कुटाइ खाएको दाबी गरेको खुल्यो । हामीले उक्त भिडिओ कहिलेको हो भन्ने पहिचान गर्न रिभर्स इमेज सर्च विधि प्रयोग गर्दा पनि सो भिडिओ पहिलो पटक अपलोड भएको मिति फेला पार्न सकेनौँ । तर, २३ र २४ भदौको जेन-जी विद्रोहका क्रममा प्रदर्शनकारीले प्रहरी चौकी तोडफोड र आगजनी गर्ने बेलाको रहेको भन्ने देखिन्छ । 

भाइरल भइरहेको भिडिओमा कतै पनि केपी ओली देखिँदैनन् । न त मतदाता भेटघाटका क्रममा जाँदा प्रयोग हुने पार्टीको झण्डा वा अन्य ब्यानर देखिएका छन् । व्यावसायिक सञ्चार माध्यममा खोज्ने क्रममा पनि ओलीलाई मतदाताले लखेटेको भन्ने समाचार कतै आएको पाइएन । 

यी विभिन्न तथ्यलाई आधार टेकपाना फ्याक्टचेक डेस्क ‘झापामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मतदाताले कुटे/लखेटे’ भन्ने दाबी भ्रामक रहेको निष्कर्षमा पुग्यो । 

दाबी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापामा मतदाताले कुटपिट गरेर लखेटे । 

दाबीकर्ता

‘कृष्ण अयाँल’, ‘राजकुमार शाही ठकुरी’ नामका फेसबुक प्रयोगकर्ता, ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नामबाट खोलिएको फेसबुक पेज, ‘kashav_Khadka10’ र ‘rajesh_chhetri345’ नामका टिकटक प्रयोगकर्ता ।

तथ्य 

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओको विषयमा गरिएको तथ्यजाँच अनुसार गुगल म्याप र भिजुअल विश्लेषणका आधारमा सो दृश्य झापाको नभई काठमाडौँको नेपालटार तार्केश्वर क्षेत्रको भएको पुष्टि हुन्छ । यो भिडिओ हालैको नभएर करिब पाँच महिनाअघि काठमाडौँमा भएको ‘जेन-जी विद्रोह’का क्रममा खिचिएको हो । 

भिडिओमा सुनिएको ‘केपी चो’र’ भन्ने नारा र अन्य अडियोपछि फरक सन्दर्भबाट काटेर भ्रामक रूपमा जोडिएको पाइएको छ । यसअघि पनि सोही भिडिओलाई ‘सिमरामा महेश बस्नेतमाथि आक्रमण भएको’ भन्ने दाबीका साथ शेयर गरिएको थियो । भिडिओमा कतै पनि केपी ओली देखिएका छैनन् भने कुनै पनि आधिकारिक सञ्चार माध्यमले यस्तो घटनाको कभरेज गरेका छैनन् ।

निष्कर्ष

झापामा केपी शर्मा ओलीलाई मतदाताले लखेटेको भन्ने दाबी भ्रामक हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८२ २२:२२