close

गोप्रो क्यामेराको आकर्षक विज्ञापन अफर देखाएर ह्याक गरिँदै युट्युब च्यानल, कसरी जोगाउने ?

टेकपाना टेकपाना

जेठ २५, २०८२ १४:२५

गोप्रो क्यामेराको आकर्षक विज्ञापन अफर देखाएर ह्याक गरिँदै युट्युब च्यानल, कसरी जोगाउने ?

काठमाडौँ । एक्सन क्यामेरा ब्रान्ड ‘गोप्रो’को विज्ञापन गरेबापत आकर्षक रकम दिने प्रलोभन देखाएर युट्युब च्यानल ह्याक गर्ने गिरोह सक्रिय भएको छ । लाखौँ सब्स्क्राइबर भएका कन्टेन्ट क्रियटरलाई लक्षित गरी पठाइने यस्ता स्क्याम ईमेलमार्फत च्यानल नै कब्जामा लिने घटनाहरू बढन थालेको पाइएको हो ।

ह्याकरहरूले सुरुमा ‘Get Involved with GoPro’ (गोप्रोसँग आबद्ध हुनुहोस्) जस्ता आकर्षक विषय राखेर निकै व्यावसायिक देखिने ईमेल पठाउँछन् । उक्त ईमेलमा आधिकारिक जस्तै देखिने सम्झौता पत्रको लिङ्क पठाइएको हुन्छ । वर्डफाइलमा हुने उक्त सम्झौता पत्रमा क्रियटरले गर्नुपर्ने काम र पाउने रकमको विवरण उल्लेख हुँदा जोकोही सजिलै विश्वासमा पर्न सक्छन् । 

जब क्रियटर सम्झौताका लागि तयार हुन्छ, ह्याकरले एउटा सफ्टवेयर इन्स्टल गर्न लगाउँछ र त्यसमार्फत डकुमेन्ट पठाउन भन्छ । तर, उक्त ‘.exe’ फाइल नै मालवेयर (भाइरस) हो, जुन इन्स्टल हुनासाथ ह्याकरले क्रियटरको कम्प्युटरमा पहुँच बनाएर युट्युब च्यानल लगायतका अकाउन्ट कब्जामा लिन्छ ।

(तस्बिरः विशाल श्रेष्ठ)

यस विषयमा साइबर सुरक्षा अनुसन्धानकर्ता विशाल श्रेष्ठ भन्छन्, “यो अट्याक खासगरी ५ लाखभन्दा बढी सब्स्क्राइबर भएका युट्युबरलाई लक्षित गरेर आएको थियो, मलाई पनि यस्तै ईमेल आएको थियो । उनीहरूले [email protected] जस्तो आधिकारिक देखिने, तर वास्तवमा अस्तित्वमै नभएको ईमेल प्रयोग गर्छन् । सम्झौताका लागि प्रयोग गर्न लगाइने सफ्टवेयर पनि सक्कली 'DocuSign' जस्तो देखिए पनि त्यो नक्कली साइट हो ।”

(नक्कली सम्झौता पत्र)

स्क्यामरले इन्स्टल गर्न लगाएको ‘.exe’ फाइलले कसरी डिभाइस नै कब्जा गर्न सक्छ भन्ने विषयको अध्ययन भइरहेको छ । त्यसबाट प्राप्त विवरण पछि यहाँ उल्लेख हुनेछ ।

यस्ता ठगीबाट बच्न साइबर सुरक्षाका जानकारले ईमेल पठाउनेको ठेगाना राम्ररी जाँच गर्न, अपत्यारिलो र आकर्षक अफर देख्नासाथ शङ्का गर्न, व्याकरण र शब्दमा ध्यान दिन सुझाव दिएका छन् । कुनै पनि लिङ्क खोल्नुअघि सम्बन्धित कम्पनीको आधिकारिक वेबसाइटबाट पुष्टि गर्न र शङ्कास्पद फाइल कहिल्यै डाउनलोड नगर्न पनि उनीहरूको सुझाव छ । श्रेष्ठले यस्ता ठगीबारे अन्य क्रियटरलाई पनि बेलैमा सचेत हुनुपर्नेमा जोड दिए ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १४:३७