close

जबरजस्ती करणीको भिडिओ रेकर्ड, डिलिट गर्ने भन्दै बोलाएर सामूहिक बलात्कार अनि स्न्यापच्याटमा शेयर

टेकपाना टेकपाना

जेठ १४, २०८३ ११:४

जबरजस्ती करणीको भिडिओ रेकर्ड, डिलिट गर्ने भन्दै बोलाएर सामूहिक बलात्कार अनि स्न्यापच्याटमा शेयर

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमीमा एक बालिकामाथि पटक-पटक जबरजस्ती करणी गरी सोको भिडिओ रेकर्ड गरेर सामाजिक सञ्जालमा फैलाएको घटना सार्वजनिक भएको छ । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले यस घटनामा संलग्न ३ तीन जना बालकहरू विरुद्ध सामूहिक जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा बाल अदालत भक्तपुरमा अभियोगपत्र दर्ता गरेसँगै यो घटना बाहिर आएको हो ।

अनुसन्धान प्रतिवेदन अनुसार घटनाको सुरुवात १४ माघ २०८१ मा भएको देखिन्छ । मुख्य अभियुक्तका रूपमा रहेका बालक (परिवर्तित नाम ११२३) ले पीडित १६ वर्षीया बालिकालाई आफ्नो घरमा बोलाएर पहिलो पटक जबरजस्ती करणी गरेका थिए ।

करणी गर्ने क्रममा उनले आफ्नो मोबाइल प्रयोग गरी करिब २० सेकेन्डको भिडिओ रेकर्ड गरेका थिए । उक्त समयमा बालिका डराएका कारण उनले यो कुरा कसैलाई पनि जानकारी गराउन सकेकी थिइनन् । अभियुक्तले सो भिडिओ डिलिट गरिदिने आश्वासन दिए पनि उनले त्यसलाई सुरक्षित राखेर पछि ब्ल्याकमेलिङको माध्यम बनाएको देखिन्छ ।

पहिलो घटनाको करिब एक महिनापछि अर्थात् १२ फागुन २०८१ मा अभियुक्त ११२३ ले पुनः बालिकालाई सम्पर्क गरे । उनले 'म तिम्रो भिडिओ डिलिट गरिदिन्छु, भेट्न आऊ' भन्दै फकाएर बालिकालाई मध्यपुर थिमी-६ चपाचोस्थित अर्का अभियुक्त परिवर्तित नाम ११२९ को कोठामा पुर्‍याए । त्यहाँ पहिले नै अन्य दुई सहयोगीहरू ११२६ र ११२९ तयारी अवस्थामा रहेका थिए ।

पीडित बालिकाका अनुसार कोठामा पुगेपछि सुरुमा ११२३ ले उनलाई भिडिओ देखाए जस्तो गरेर ओछ्यानमा लडाए र जबरजस्ती करणी गरे । त्यसपछि उनले ढोका खोलिदिए र बाहिर रहेका अन्य दुई जना ११२६ र ११२९ भित्र छिरे ।

उनीहरू तीनै जनाले आपसी सल्लाह गरी दुई जनाले बालिकाको हात र खुट्टा समातेर पालैपालो सामूहिक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ ।

यस सामूहिक बलात्कारको घटनामा मुछिएका अर्का अभियुक्त हुन्, सलोन श्रेष्ठ । पीडित बालिकाको बयान अनुसार सलोन श्रेष्ठ मुख्य बाल अपराधी (११२३) का दाजु पर्ने व्यक्ति हुन् । १६ चैत २०८१ तिर एसईई परीक्षा सकिएपछि सलोनले स्कुटरमा आएर 'काम छ' भन्दै पीडितलाई बाहिर बोलाई स्कुटरमा राखेर ११२३ को घरको कोठामा लगेका थिए ।

त्यहाँ अन्दाजी साँझ ६:३० बजे सलोन श्रेष्ठले पनि बालिकालाई जबरजस्ती करणी गरेको र त्यसपछि उनीहरूले नै पीडितलाई घरसम्म पुर्‍याइदिएको बयानमा उल्लेख छ ।

बाल अपराधी ११२३ को बयान अनुसार उनी र सलोन श्रेष्ठसँगै भुष्या बाजा बजाउने भएकोले उनीहरूबिच चिनजान भएको हो । सलोनको उमेर अन्दाजी १९ वर्ष रहेको र उनको घर भक्तपुर जिल्ला, मध्यपुर ठिमी-३ गठ्ठाघर रहेको बयानमा उल्लेख छ ।

सलोन श्रेष्ठको उमेर र बस्ने ठाउँको सामान्य जानकारी भए तापनि उनको मोबाइल नम्बर, बुवाआमाको नाम र यकिन तीनपुस्ते विवरण बाल अपराधीलाई पनि थाहा नभएको र हालसम्म खुल्न नसकेको कुरा कागजातमा उल्लेख छ ।

उनको सम्पूर्ण विवरण (तीनपुस्ते विवरण) खुलेपछि मात्र उनी र सहयोगी बाल अपराधीविरुद्ध छुट्टै मुद्दा अदालतमा पेस गरिने कुरा अभियोगपत्रमा स्पष्ट पारिएको छ ।

स्न्यापच्याट र इन्स्टाग्राममा भिडिओ शेयर

मुख्य अभियुक्तले जबरजस्ती करणीका बेला मोबाइलमा कैद गरेको भिडिओ स्न्यापच्याट र इन्स्टाग्राम मार्फत एक-अर्कामा शेयर गरी पीडित बालिकाको चरित्र हत्या समेत गरेको पाइएको छ । अभियुक्त ११२३ ले आफ्नो स्न्यापच्याट आईडीबाट अर्का अभियुक्त ११२६ को आईडीमा सो भिडिओ पठाएका थिए ।

जुन पछि अन्य व्यक्तिहरूसम्म पुर्‍याइएको अनुसन्धानबाट खुलेको छ । उक्त भिडिओ सामाजिक सञ्जालमा फैलिएर पीडित बालिका अध्ययनरत विद्यालयका शिक्षक र साथीहरूसम्म पुगेपछि मात्र यो गम्भीर घटना सार्वजनिक भएको हो ।

पीडित बालिका अध्ययनरत विद्यालयका शिक्षकले भिडिओ फेला पारेपछि लगत्तै यसबारे विद्यालय प्रशासनलाई अवगत गराएका थिए । विद्यालय प्रशासनमार्फत पीडित बालिकाकी आफन्त (आन्टी) लाई विद्यालयमा बोलाएर घटनाका बारेमा जानकारी गराइएको थियो ।

उनले अभिभावकलाई बालिकाको करणी गरिएको भिडिओ बाहिरिएको जानकारी दिँदै आफ्नो छोरीलाई राम्रोसँग सोधपुछ गर्न र बुझ्न सुझाव दिएका थिए । साथै उनले आफूले प्राप्त गरेको भिडिओ प्रमाणको रूपमा आवश्यक पर्न सक्ने भन्दै पीडितका अभिभावकलाई उपलब्ध गराइदिएका थिए ।

शिक्षकले उक्त भिडिओ पीडितको अभिभावकबाहेक अन्य कसैलाई पनि नपठाएको र गोपनीयताको ख्याल गरेको उल्लेख छ ।

भिडिओ शेयर गरी पीडितलाई मानसिक यातना र दुःख दिएको पुष्टि भएपछि अभियुक्तहरू विरुद्ध सामूहिक बलात्कारका साथै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत समेत कारबाहीको माग गरिएको छ ।

के हुनसक्छ सजाय ?

अभियुक्तहरू १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरका नाबालिग भएकाले उनीहरूलाई प्रचलित कानुन बमोजिम वयस्कलाई हुने सजायको आधा सजाय माग गरिएको छ । १६ वर्षदेखि १८ वर्षसम्मका बालिकालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

सामूहिक रूपमा जबरजस्ती करणी गरेकाले थप ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

अभियुक्तहरू नाबालिग भएकाले माथि उल्लेखित सजाय (१०-१२ वर्ष कैद + ५ वर्ष थप कैद) को आधा सजाय उनीहरूलाई हुन सक्छ ।

त्यस बाहेक सामाजिक सञ्जालमा भिडिओ फैलाएर चरित्र हत्या गरेको कसुरमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

नाबालिगका हकमा यो सजाय पनि आधा हुनेगरी मागदाबी लिइएको छ ।अभियुक्तहरूबाट पीडित बालिकालाई मनासिब क्षतिपूर्ति भराइदिन र कानुन बमोजिमको जरिबाना (५ लाख रुपैयाँको आधा) रकम पीडित राहत कोषमा जम्मा गर्न समेत माग गरिएको छ ।

यदि अभियोग पुष्टि भएमा उनीहरूलाई वयस्कलाई हुने कूल कैद र जरिबानाको आधा सजाय बाल अदालतको फैसला अनुसार हुनेछ ।

 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १६:३१