close

लाइसेन्स परीक्षा पास गराउन १५ देखि २० हजार घुस, अख्तियारको छापा

टेकपाना टेकपाना

असार १, २०८२ ८:१५

लाइसेन्स परीक्षा पास गराउन १५ देखि २० हजार घुस, अख्तियारको छापा

काठमाडौँ । अनुत्तीर्ण परीक्षार्थीबाट पैसा लिएर सवारीचालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को परीक्षामा पास गराउने कार्यमा संलग्न रहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुरस्थित यातायात व्यवस्था कार्यालय र विभिन्न ड्राइभिङ सेन्टरहरूमा छापा मारेको छ ।

आयोगका अनुसार सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने क्रममा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मिलेमतोमा पास गराउने र त्यसबापत रकम असुल्ने गरिएको उजुरी परेपछि टङ्गालस्थित अख्तियारको टोलीले छापा मारी अनुसन्धान सुरु गरेको, गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । 

यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय प्रमुख एवं कर्मचारी र महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतो रहेको अख्तियारले जानकारी दिएको छ । मिलेमतोमा यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनबाट सञ्चालन भएको सवारीचालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्दा अनुत्तीर्ण भएका परीक्षार्थीबाट विभिन्न वर्गका सवारीचालक अनुमतिपत्र दिनका लागि वर्ग अनुसारको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म रकम लिने गरेको उजुरी परेको थियो ।

छापाका क्रममा यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका सहायक पाँचौँ तहका कर्मचारी इन्द्रजित गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद बरामद गरिएको छ । सोही स्थानबाट कर्मचारी गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिइएको बताइएको छ । 

त्यसैगरी, कार्यालय प्रमुख विष्णु भट्टराईसहित अन्य कर्मचारी र महालक्ष्मी, गुरुङ, कुमार ड्राइभिङ सेन्टरका सञ्चालकहरूको मोबाइल ३१ थान, ल्यापटप २ थान र अन्य कागजातहरू पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १, २०८२ ८:३६