close

सार्वजनिक यातायातका लागि नयाँ सवारी दर्ता बन्द गर्ने सरकारको निर्णय, ईभीदेखि टुकटुके पनि समेटिए

टेकपाना टेकपाना

जेठ ८, २०८३ ११:१

सार्वजनिक यातायातका लागि नयाँ सवारी दर्ता बन्द गर्ने सरकारको निर्णय, ईभीदेखि टुकटुके पनि समेटिए

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको क्षेत्रमा नयाँ सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले सातै प्रदेश र देशभरका सम्पूर्ण स्थानीय तहहरूलाई गरेको परिपत्र सार्वजनिक भएसँगै यो विषय बाहिरिएको हो ।

विभागले सातै प्रदेशका मन्त्रालयहरू र सबै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको छ । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सचिवालयले विभागबाट जारी परिपत्र आधिकारिक भएको पुष्टि गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक यातायातको रूपमा नयाँ सवारी साधन दर्ता गर्न नमिल्ने स्पष्ट पारेको छ ।

यो निर्णयले सार्वजनिक यातायातको क्षेत्रमा प्रयोग हुने बस, मिनिबस, माइक्रो, ट्याक्सीदेखि टुकटुके र विद्युतीय सवारी साधन (ईभी) को दर्ता समेत रोकिएको छ । तर व्यक्तिगत प्रयोजनका लागि भने सवारी साधनको नयाँ दर्ता यो निर्णयबाट प्रभावित हुने छैन ।

विभागको परिपत्र अनुसार सार्वजनिक सवारी तथा यातायातमा पर्न गएको असहजताको सम्बोधन गर्न यस्तो निर्णय लिइएको हो । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेको, अत्यधिक वायु प्रदूषण, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा कठिनाइ उत्पन्न भएको र इन्धनको बढ्दो मूल्यलाई विभागले कारणको रूपमा प्रस्तुत गरेको छ ।

यो निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा रहेको व्यवस्था बमोजिम गरिएको हो । उक्त दफाले वातावरण प्रदूषण, सवारीको चाप र सडकको अवस्था हेरी सार्वजनिक हितका लागि कुनै पनि किसिमको सवारी साधनको दर्ता रोक्का गर्न सक्ने अधिकार विभागलाई दिएको छ । विभागले सोही ऐनको दफा १४ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि यो रोक लगाएको हो ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १५:२१