काठमाडौँ । सन् २००१ मा सार्वजनिक भएको माइक्रोसफ्टको अपरेटिङ सिस्टम ‘विन्डोज एक्सपी’ अहिले पनि सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टममध्ये एकका रूपमा चिनिन्छ । आधुनिक इन्टरफेस र छरितो पर्फमेन्सका कारण यसले विश्वभर लोकप्रियता कमाएको थियो ।
हाल विन्डोज एक्सपी कम्प्युटरमा इन्स्टल गर्न जटिल र समय लाग्ने भए पनि अब इन्टरनेट ब्राउजरमै सजिलै एक्सपी चलाउन सकिने प्लेटफर्म सार्वजनिक भएको छ ।
रेडिटमा एक प्रयोगकर्ताले आफ्नो अनुभव सार्वजनिक गर्दै ब्राउजरमै विन्डोज एक्सपी सञ्चालन गर्न मिल्ने वेबसाइटको जानकारी दिएका छन् । उनले ‘win32.run’ नामको वेबसाइटमार्फत पुराना दिन सम्झाउने विन्डोज एक्सपीको बुट-अप एनिमेसन र लोडिङ स्क्रिनसहितको अनुभव लिन सकिने उल्लेख गरेका छन् ।
यसमा पिनबल थ्रीडी, माइनस्वीपर, सोलिटेयरजस्ता प्रि-इन्स्टल गेमहरूसँगै फाइल स्टोर गर्न मिल्ने फाइल सिस्टमसमेत उपलब्ध गराइएको छ । साथै, माइक्रोसफ्टले नयाँ सिस्टम इन्स्टल गर्दा राख्ने म्युजिक र भिडिओहरु समेत यसमा सुन्न र हेर्न सकिनेछ ।
यसबाहेक, फ्ल्यास प्लेयर बन्द भइसकेपनि यस ब्राउजर संस्करणमा पुराना फ्ल्यास गेमहरु समेत सजिलै चलाउन सकिन्छ । साथै, विकसित गरिएको ‘माइक्रोसफ्ट वर्ड’ को नयाँ स्वरूप पनि यसमा प्रयोग गर्न सकिन्छ, जसमा अधिकांश फिचरहरू सहजै काम गर्छन् ।
यद्यपि, केही एप्लिकेसन पूर्ण रूपमा काम नगर्न सक्ने र इन्टरनेट ब्राउज गर्न नसकिने डेभलपर (रेडिट प्रयोगकर्ता)ले उल्लेख गरेका छन् । तर, पुरानो विन्डोज एक्सपी अनुभव लिन चाहनेका लागि यो वेबसाइट राम्रो विकल्प बनेको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ ९:२६
