close

फ्याक्टचेकः मन्त्रीले ‘काठमाडौंका ८० प्रतिशत युवाले २ लाख कमाउँछन्’ भनेका छैनन्, भ्रम छरियो

शिव बस्नेत शिव बस्नेत

साउन ११, २०८२ १०:५

फ्याक्टचेकः मन्त्रीले ‘काठमाडौंका ८० प्रतिशत युवाले २ लाख कमाउँछन्’ भनेका छैनन्, भ्रम छरियो

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले ‘काठमाडौंमा ८० प्रतिशत युवाले घरमै बसी २ लाखभन्दा बढी कमाउँछन्’ भनेर अभिव्यक्ति दिएको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार तथा पोस्टहरू भाइरल भएका छन् । मन्त्रीको उक्त अभिव्यक्तिको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चर्को आलोचना गरिरहेका छन् । तर, टेकपाना फ्याक्टचेकले गरेको तथ्य-जाँचमा मन्त्री पन्तले त्यस्तो नभनेको र उनको भनाइलाई तोडमोड गरेर भ्रम फैलाएको पाइएको छ ।

दाबी

२६ जुलाई (शनिबार) २०२५ ‘शिक्षा’ नामक फेसबुक पेजले शिक्षामन्त्री रघुजी पन्तलाई उद्धृत गर्दै एउटा पोस्ट गर्‍यो । पेजले लेखेको क्याप्सनमा भनिएको छ, ‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरु जसले जागिर खाँदैनन्‌ । तर पनि उनीहरुले घर बसि बसि २ लाख भन्दा धेरै कमाउने गरेका छन् । त्यसको कारण भनेको विदेशका विभिन्न कम्पनीबाट काम लिएर ल्याप्टपबाट काम गरी पठाउने गरेका छन् । यस्तो जागिरबाट नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ । यसलाई विकास गर्न सक्यो भने ८ खर्बसम्म ल्याउन सक्छौं ।’

यो सामग्री तयार पार्दासम्म ‘शिक्षा’ पेजको पोस्टले २४ सय बढी रियाक्सन र ३६७ कमेन्ट पाएको छ भने २० पटक शेयर भएको छ । हेर्नुहोस्  ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट:

 

अनुसन्धान

यस विषयमा टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान गर्दा यो दाबी सामाजिक सञ्जालमा भाइरल भइरहेको पाइयो । ३५ लाखभन्दा बढी फलोअर भएको फेसबुक पेज ‘ताजा खबर’ले पनि आइतबार (२७ जुलाई २०२५) मा ‘शिक्षा’ पेजकै जस्तो व्यहोरासहित पोस्ट गरेको छ । उक्त पोस्टमा लेखिएको छ, शिक्षामन्त्री रघुजी पन्त भन्छन्- ‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरू जसले जागिर खाँदैनन् तरपनि उनिहरूले घर बसि बसि २ लाख भन्दा धेरै कमाउने गरेका छन्। त्यसको कारण भनेको विदेशका विभिन्न कम्पनिबाट काम लिएर ल्याप्टपबाट काम गरि पठाउने गरेका छन्। यस्तो जागिरबाट नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ ।’

हेर्नुहोस् उक्त पोस्टको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट:

 

 

अनुसन्धानका क्रममा यस्तै दाबीसहितका सामग्री विभिन्न समाचार पोर्टलहरूमा पनि प्रकाशित भएको पाइयो । उकेरा डटकमले शनिबार मध्यान्ह १२:३८ बजे ‘काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा भनिएको छ- ‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरु जसले जागिर खाँदैनन् तरपनि उनिहरूले घर बसि बसि २ लाख भन्दा धेरै कमाउने गरेका छन्। त्यसको कारण भनेको विदेशका विभिन्न कम्पनिबाट काम लिएर ल्याप्टपबाट काम गरि पठाउने गरेका छन्। यस्तो जागिरबाट नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ,’ उनले भने, ‘यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छौँ।’ हेर्नुहोस् उकेराको समाचारको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।

 

 

त्यस्तै, अर्थ डबलीले पनि '८० प्रतिशत युवाहरूले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री पन्त' शीर्षकमा समाचार प्रकाशित गरेको छ । हेर्नुहोस् उक्त समाचारको ओरिजिनल लिङ्कआर्काइभ लिङ्क । कालिका खबरले पनि '८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री पन्त' शीर्षकमा समाचार प्रकाशित गरेको छ । हेर्नुहोस् उक्त समाचारको ओरिजिनल लिङ्कआर्काइभ लिङ्क । 

यस्तै दाबीसहित सामाजिक सञ्जालमा थुप्रै पोस्टहरू भेटिन्छन्, जसमा सयौँ प्रयोगकर्ताले मन्त्री पन्तलाई लक्षित गर्दै आलोचनात्मक टिप्पणी गरेका छन् ।

टेकपानाले तथ्य जाँच्ने क्रममा मन्त्री पन्तले उक्त अभिव्यक्ति शनिबार, २६ जुलाई, २०२५ मा नेकपा एमालेको काठमाडौं महानगरपालिका-१५ वडा कमिटीले आयोजना गरेको 'एसईई टपर्स सम्मान तथा शुभकामना' कार्यक्रममा दिएको फेला पार्‍यो । उक्त कार्यक्रमको भिडिओ नेपाल न्युज बैंक (Nepal News Bank) को युट्युब च्यानलमा भेटियो । भिडिओको ५ मिनेट ४६ सेकेन्डपछि मन्त्री पन्तले भनेका छन्:

“मैले तपाईंहरूलाई भन्छु, अहिले काठमाडौँमा ८० देखि १ लाख मान्छे, त्यस्ता छन् युवाहरू, जसले कुनै जागिर खाँदैनन्, तर महिनाको अढाई लाख, तीन लाखदेखि ५०-६० हजार घरै बसीबसी कमाउँछन् । त्यो भनेको के हो भन्दाखेरि, विदेशका विभिन्न कम्पनीबाट, कम्पनीसँग काम लिएर यहाँ आफ्नो ल्यापटपमा काम गरेर उहाँ पठाएर उहाँबाट विदेशी पैसा ल्याउँछन् । र अहिले यस्तो जबबाट नेपालमा झन्डै वर्षको एक खर्ब रुपैयाँ आइराख्या छ र यो क्षेत्रलाई डेभलप गर्ने हो भने, हामी ८-१० खर्ब रुपैयाँसम्म ल्याउन सक्छौँ भन्छन् यो क्षेत्रमा लाग्ने मान्छेहरूले ।”

भिडिओमा मन्त्री पन्तले '८० हजारदेखि एक लाख' युवा भनेको स्पष्ट सुन्न सकिन्छ । तर, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यसलाई ‘८० प्रतिशत’ भनेर गलत रूपमा प्रचार गरियो । उनले भाषणमा उल्लेख गरेको संख्यालाई प्रतिशतमा बदलेर भ्रामक दाबीहरू फैलाइएको हो ।

उदेकलाग्दो त के छ भने, स्वयम् भिडिओ पोस्ट गर्ने नेपाल न्युज बैंकले समेत आफ्नो युट्युब भिडिओको शीर्षकमा ‘८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन्’ भनेर लेखेको छ, जसले भ्रम फैलाउन सहयोग पुर्‍याएको देखिन्छ । हेर्नुहोस् उक्त युट्युब भिडिओको ओरिजिनल लिङ्कआर्काइभ लिङ्क

 

दाबी

शिक्षामन्त्री रघुजी पन्तले काठमाडौंमा ८० प्रतिशत युवाले घरमै बसी दुई लाखभन्दा बढी कमाउँछन् भनेका छन् ।

दाबीकर्ता

ताजा खबर, शिक्षा, रुटिन अफ एजुकेसन जस्ता फेसबुक पेज तथा उकेरा, अर्थडबली, कलिका खबर लगायतका अनलाइन सञ्चारमाध्यम ।

तथ्य

शनिबार, २६ जुलाई, २०२५ मा शिक्षामन्त्री रघुजी पन्तले काठमाडौं महानगरपालिका-१५ वडा कमिटीले आयोजना गरेको ‘एसईई टपर्स सम्मान तथा शुभकामना’ कार्यक्रममा उक्त अभिव्यक्ति दिएका थिए । उक्त कार्यक्रमको भिडिओ नेपाल न्युज बैंकको युट्युब च्यानलमा उपलब्ध छ । भिडिओमा मन्त्री पन्तले ‘८० हजारदेखि एक लाख’ युवा भनेको स्पष्ट सुन्न सकिन्छ, तर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा त्यसलाई ‘८० प्रतिशत’ भनेर गलत रूपमा प्रचार गरियो । उनले उल्लेख गरेको संख्यालाई प्रतिशतमा बदलेर भ्रामक दाबीहरू फैलाइएको हो । स्वयम् भिडिओ पोस्ट गर्ने नेपाल न्युज बैंकले समेत आफ्नो युट्युब भिडिओको शीर्षकमा ‘८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन्: शिक्षामन्त्री’ भनेर लेखेको छ, जसले भ्रम फैलाउन सहयोग पुर्‍याएको देखिन्छ ।

निष्कर्ष

शिक्षामन्त्री रघुजी पन्तले आफ्नो भाषणका क्रममा ‘८० प्रतिशत’ भनेका थिएनन्, बरु ‘८० हजारदेखि एक लाख’ युवाले घरबाटै काम गरेर आम्दानी गरिरहेको बताएका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालले उनको भनाइमा उल्लेख भएको संख्या ‘८० हजार’ लाई ‘८० प्रतिशत’ मा बदलेर गलत र अतिरञ्जित प्रचार गरेको टेकपाना फ्याक्टचेकबाट पुष्टि भएको छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८२ १०:३८