फ्याक्टचेक: पोखरा-मुग्लिन सडकमा पहिरो भन्दै दुई वर्ष पुरानो झ्याप्ले खोलाको भिडिओ भाइरल
असार ३१, २०८३ १३:५
काठमाडौं । सामाजिक सञ्जालमा पोखरा-मुग्लिन सडक खण्डमा पहिरो गएको भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ । यात्रुबाहक बससहित ठुला मालबाहक गाडीहरूसमेत पहिरोमा पुरिएको देखिने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको हो ।
तर टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानमा उक्त भिडिओ दुई वर्ष पुरानो रहेको पुष्टि भएको छ । १२ असोज २०८१ मा नागढुङ्गा-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलामा गएको पहिरोको भिडिओलाई हालैको भन्दै भ्रम फैलाएको तथ्यजाँचका क्रममा पुष्टि भएको हो ।
दाबी
‘टिकटक’मा ‘kushalchhetry823’ युजरआईडीबाट १३ जुलाईमा पहिरोमा कयौँ गाडी पुरिएको देखिने भिडिओ शेयर भएको छ । पोखरा-मुग्लिन सडकमा पानी परेका कारण बाटो अवरुद्ध भएको भन्दै सचेत रहन आग्रह गर्दै भिडिओमा लेखिएको छ, “पोखरा मुग्लिङ सडक आज परेको पानीले अवरोध भएको छ”।
भिडिओमा यात्रुबाहक बससहित ठुला-ठुला कन्टेनरहरू पहिरोमा पुरिएको देख्न सकिन्छ । साथै बिच सडकमा ठुलो रुख ढलेको र पहिरोका कारण परेको लामो जाम, पहिरोको छेउछाउमा रेनकोट र छाता ओड्दै मानिसहरू हिँडिरहेको दृश्य समेत समावेश गरिएको छ । १८ सेकेन्ड लामो सो भिडिओलाई यो सामग्री तयार पार्दासम्म ३४ लाखभन्दा धेरैले हेरिसकेका छन् भने एक लाख ६० हजार लाइक र एक हजार ५३५ पटक कमेन्ट गरिएको छ । हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

अनुसन्धान
१३ जुलाईमा नै Raithanenepal नामको युट्युब च्यानलबाट पनि सोही भिडिओ सार्वजनिक भएको फेला पर्यो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “यस्तो छ अवस्था सबैजना सचेत हुनुहोला” । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

१३ जुलाईमा युट्युब च्यानल ‘@worldcup2026-s1h’ बाट पनि सोही भिडिओ शेयर भएको पाइयो । भिडिओको क्याप्सनमा लेखिएको छ, “पोखरा मुग्लिन सडक खण्ड आज देखि अबरुद्द भएको छ।” भिडिओ र स्क्रिनशट ।

हामीले उक्त भिडिओबाट किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्यौँ । खोज्ने क्रममा सन् २०२४ सेप्टेम्बर २८ (१२ असोज २०८१) मा सामाजिक सञ्जाल एक्समा ‘कान्तिपुर’ ले सोही भिडिओ राखेको फेला पर्यो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, ‘पहिरोले पुरिए गाडीहरू’ । भिडिओमा पृथ्वी राजमार्ग अन्तर्गत पर्ने झ्याप्ले खोलामा उक्त पहिरो गएको उल्लेख गरिएको छ । सो पोस्टको ह्यासट्यागमा समेत झ्याप्लेखोला ल्यान्डस्लाइड लेखिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

त्यसपछि हामीले झ्याप्ले खोलामा भिडिओ सार्वजनिक भएको मितिको आसपासमा गएको पहिरोको बारेमा समाचार खोज्यौँ । ‘पहिरो’, ‘झ्याप्लेखोला पहिरो’, “झ्याप्ले खोला पहिरो’, ‘मुग्लिन सडक पहिरो’ लगायतका किवर्ड राखेर २८ सेप्टेम्बर २०२४ को मितिदेखि एक हप्तासम्म सार्वजनिक भएको सामग्रीको बारेमा गुगल एड्भान्स सर्च गर्यौँ ।
खोज्ने क्रममा कान्तिपुरले भिडिओ सार्वजनिक गरेको पर्सिपल्ट अर्थात् १४ असोजमा ‘विमल खतिवडा’ को बाइलाइनमा सार्वजनिक गरेको ‘झ्याप्ले खोलामा भवितव्य कि लापरबाही ?’ शीर्षकमा प्रकासित गरेको समाचार फेला पर्यो । समाचार अनुसार मुग्लिन-नागढुङ्गा सडक खण्डअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलामा ११ असोज राति पहिरो गएको थियो । उक्त समाचारमा उल्लेख भए अनुसार नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर टाढा रहेको झ्याप्ले खोलामा छोटो दूरीमै करिब २३ वटा साना-ठूला पहिरो झरेर कयौँ गाडी पुरेको हो । उक्त समाचार तयार पार्दासम्म (१४ असोजमा) त्यहाँको पहिरोका कारण ३५ जनाको शव फेला परेको र उद्दार कार्य जारी नै रहेको उल्लेख गरिएको छ । पढ्नुहोस् समाचार ।
दाबी
पोखरा-मुग्लिन सडक खण्डमा ठुलो पहिरो गएको भन्दै भिडिओ सार्वजनिक ।
दाबीकर्ता
टिकटक प्रयोगकर्ता ‘kushalchhetry823’, युट्युब च्यानलहरू ‘Raithanenepal’ र ‘@worldcup2026-s1h’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू।
तथ्य
अनुसन्धानका क्रममा यो भिडिओ हालको नभई दुई वर्ष पुरानो (२८ सेप्टेम्बर २०२४) पाइएको हो । कान्तिपुर लगायतका मूलधारका सञ्चार माध्यमले सो समयमा यो भिडिओ सार्वजनिक गरेका थिए । भिडिओमा देखिएको पहिरो पोखरा-मुग्लिन सडक खण्डको नभई मुग्लिन-नागढुङ्गा सडक खण्डअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलाको हो । झ्याप्ले खोला नागढुङ्गा चेकपोस्टबाट करिब २.७ किलोमिटरको दूरीमा पर्दछ । ११ असोज २०८१ राति झ्याप्ले खोलामा ठुलो पहिरो जाँदा कयौँ गाडीहरू पुरिएका थिए ।
निष्कर्ष
पोखरा-मुग्लिन सडक खण्डमा पहिरो गएको भन्दै ११ असोज २०८१ (करिब दुई वर्ष पहिले) मा धादिङको झ्याप्ले खोलामा गएको पहिरोको भिडिओ शेयर गर्दै भ्रम फैलाइएको हो ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८३ १३:९
