close

'ट्रेड सिक्रेट' चोरेर छुट्‍टै स्टार्टअप खोलेका ह्वावेका १४ जना पूर्व कर्मचारीलाई जेल सजाय

टेकपाना टेकपाना

साउन २०, २०८२ १४:५८

'ट्रेड सिक्रेट' चोरेर छुट्‍टै स्टार्टअप खोलेका ह्वावेका १४ जना पूर्व कर्मचारीलाई जेल सजाय

काठमाडौँ । चीनको सङ्घाईस्थित एक अदालतले ह्वावे टेक्नोलोजीका १४ जना पूर्व कर्मचारीलाई कम्पनीको चिप-सम्बन्धित व्यापारिक रहस्य चोरेको आरोपमा जेल सजाय सुनाएको छ । सरकारी स्वामित्वको सेक्युरिटिज टाइम्स अखबारले शनिबार यसको जानकारी दिएको हो ।

२८ जुलाईमा सङ्घाई तेस्रो मध्यस्त जन अदालतले जुन्पाई कम्युनिकेसन टेक्नोलोजीका १४ जना कर्मचारीलाई ६ वर्षसम्मको जेल सजायका साथै आर्थिक जरिबाना तोकेको छ । जुन्पाई ह्वावेको चिप विकास एकाई हाईसिलिकनका इन्जिनियरहरूले स्थापना गरेको स्टार्टअप हो ।

सेक्युरिटिज टाइम्सको रिपोर्टअनुसार हाईसिलिकनका पूर्व अनुसन्धानकर्ता झाङ कुनले सन् २०१९ मा ह्वावे छाडेका थिए । उनले सन् २०२१ को मार्चमा वाई-फाई कम्युनिकेसन चिप्स विकास गर्न जुन्पाई स्थापना गरेका थिए । उनले आफ्ना केही पूर्व सहकर्मीहरूलाई पनि स्टार्टअपमा सामेल गराएका थिए ।

ह्वावे टेक्नोलोजीले जुन्पाईविरुद्ध तीव्र रूपमा कारबाही अगाडि बढाएको थियो । सन् २०२३ को अगस्टमा प्रकाशित एक कानुनी दस्ताबेज अनुसार, ह्वावेको सहायक कम्पनी साङ्घाई हाईसिलिकन टेक्नोलोजीले जुन्पाई र त्यसका सहायक कम्पनीहरूको ९ करोड ५० लाख युआन (करिब १ करोड ३१ लाख अमेरिकी डलर) बराबरको सम्पत्ति रोक्का गर्न सङ्घाई बौद्धिक सम्पत्ति अदालतमा निवेदन दिएको थियो ।

यस घटनाले चीनको सेमिकन्डक्टर उद्योगमा ठूलो तरङ्ग ल्याएको छ । हालसम्म अदालतले आफ्नो वेबसाइटमा फैसला प्रकाशित गरेको छैन । दोषी ठहर गरिएका इन्जिनियरहरूले पुनरावेदन गर्नेछन् वा छैनन् भन्ने पनि स्पष्ट छैन । ह्वावेले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १४:५८