close

आगामी माघभित्र काठमाडौँ र पाेखरामा फाइभजी सेवा सुरु गर्न प्रधानमन्त्रीकाे निर्देशन

टेकपाना टेकपाना

साउन ३०, २०८२ १७:५४

आगामी माघभित्र काठमाडौँ र पाेखरामा फाइभजी सेवा सुरु गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी माघ महिनाभित्र काठमाडौँ र पोखरामा फाइभजी सेवा सुरु गर्न निर्देशन दिएका छन्  । बिहीबार सिंहदरबारमा मन्त्रीहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने क्रममा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा फाइभजी सेवा सुरु गर्न नसके मन्त्री हुनुको अर्थ नरहने बताए । उहाँले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिट (कक्ष) उपयोग गर्न र सेक्युरिटी प्रेसलाई शीघ्र सञ्चालनमा ल्याउन पनि आग्रह गरेका छन् ।

सञ्चारमन्त्री गुरुङले पनि चालु आर्थिक वर्षभित्रै नेपालमा फाइभजी सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराएर फाइभजी परीक्षणको अनुमति दिएको थियो ।

सोही अनुमतिअनुसार टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा २०७९ माघदेखि काठमाडौंको बबरमहल, सुन्धारा तथा पोखरा र वीरगन्जका आफ्ना कार्यालयहरूमा फाइभजीको आन्तरिक परीक्षण सुरु गरेको थियो । तर, आन्तरिक परीक्षण सुरु भएको लामो समय बितिसक्दा पनि फाइभजी सेवा आम प्रयोगकर्ताको पहुँचमा पुग्न सकेको छैन ।

पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १८:३