close

सधैँ आन्दोलन देख्ने नयाँबानेश्वर यसपटक बन्यो विक्षिप्त, सेना परिचालनपछि यस्तो छ जनजीवन

उन्‍नत सापकोटा उन्‍नत सापकोटा

भदौ २६, २०८२ १३:७

सधैँ आन्दोलन देख्ने नयाँबानेश्वर यसपटक बन्यो विक्षिप्त, सेना परिचालनपछि यस्तो छ जनजीवन

काठमाडौँ । नयाँ बानेश्वरवासीका लागि जुलुस, धर्ना, प्रदर्शन, बन्द, लाठीचार्ज, अश्रुग्यास नौलो दृश्य होइन । राजनीतिक गतिविधिका कारण नयाँ बानेश्वर सधैँ केन्द्रमा रहने गर्छ । बानेश्वरलाई राजनीतिक गतिविधिको केन्द्रमा राख्न निकै ठुलो भूमिका संघीय संसदले खेल्दै आएको छ । 

कुनै न कुनै रूपमा बानेश्वर राज्यका उच्च ओहदाका व्यक्तिहरू, संवैधानिक निकाय, मन्त्री, सांसद, कर्मचारी, व्यापारीदेखि आम सर्वसाधारण ठोक्किने क्षेत्रमा पर्छ । उनीहरूको आउजाउ सधैँ हुने नै गर्छ ।

तर, २३ र २४ भदौमा भएको हिंसात्मक विध्वंसले बानेश्वरलाई क्षतविक्षत बनाइदिएको छ । जेन-जी पुस्ताले देशमा व्याप्त चरम विकृति र भ्रष्टाचार अन्त्यको माग राख्दै आह्वान गरेको शान्तिपूर्ण आन्दोलन एकाएक नियन्त्रण बाहिर पुग्यो । जसलाई दबाउन राज्यले अधिकतम बल प्रयोग गर्दा अहिलेसम्म प्रहरीसहित ३० जना युवाको मृत्यु भइसकेको छ । 

कलेज पोसाकमै शान्तिपूर्ण आन्दोलनमा होमिएका युवा/विद्यार्थीमाथि संसद भवन वरपर ड्याङ्ड्याङ् टाउको र छातीमा गोली दागियो । हिंसात्मक बनेको आन्दोलन रोकिनु त परको कुरा भोलिपल्ट २४ भदौमा प्रदर्शनकारी झन् आक्रोशित बने ।

देशव्यापी रूपमा आन्दोलन चर्कियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भए । तैपनि आन्दोलन थामिएन । बरु झन् उदण्ड र हिंस्रक बन्यो । प्रधानमन्त्री, शीर्षस्थ नेता, सांसददेखि व्यापारीका घर, कार्यालय, शोरुम, सुपरमार्केटमा अराजक समूहले तोडफोड, आगजनी र लुटपाट मच्चायो । 

बैंक तथा वित्तीय संस्थामा पनि आगजनी, तोडफोड र लुटपाट भयो । संघीय संसद, सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी, कारागार सबै केही निमेषमै खरानी भयो । प्रहरीले भीड नियन्त्रण गर्न चलाएका गोली संसद भवन वरपरका निजी घरका झ्याल, ढोका र भित्तासम्म पुगे । प्रहरीले आन्दोलन थेग्न सक्ने कुनै अवस्था रहेन । प्रहरीले आत्मसमर्पण गर्दै आफूलाई कमाण्ड दिएका ठाउँ प्रदर्शनकारीलाई सुम्पिँदै, हात जोडेर निस्किँदा हतियार खोसियो, मरणासन्न हुने गरी कुटपिट गरियो । 

संघीय संसदको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नेपाली सेनाले डोहोर्‍याउँदै निकाल्दा बाहिर जम्मा भएको हजारौँको भीडले आक्रमण गर्‍यो । न पुरुष न महिला भीडले कसैलाई छोडेन । केही दयालु मन भएका आन्दोलनकारीले अराजक जत्थालाई रोक्न भरपुर प्रयास गर्‍यो । ज्यान जोगाउन आफ्ना पोसाक फ्यालेरै भित्री वस्त्रमा प्रहरीहरू गल्ली गल्ली भाग्न बाध्य भए । व्यक्तिगत घर, रेस्टुरेन्टमा लुकेर ज्यान जोगाए । 

प्रहरीले हात उठाएपछि संघीय संसद भवनमा तोडफोड र आगजनी गरियो । त्यो दृश्य बानेश्वरवासीका लागि सबैभन्दा अप्रिय र कारुणिक थियो । बानेश्वरको गरिमा दनदनी बलेर आगोको लप्काले बेर्दा देख्दा अधिकांश नि:शब्द बने । सधैँ आन्दोलन देखेका यहाँका स्थानीय मर्माहत बने । अघिल्लो दिन रक्तपातले सन्नाटा छाएको बानेश्वर, भोलिपल्टको विध्वंसले थप छियाछिया बने । संसद भवनको तीन नम्बर गेट (पानीट्यांकी) आडैमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा पनि आक्रमण गरियो, लुटपाट मच्चियो । 

दिनभरको उग्र विध्वंस पछि २४ भदौको राति जब नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हाल्यो तब मात्रै स्थिति नियन्त्रणमा आउन थाल्यो । हवाई फायर गरेर भीडलाई तितरबितर बनाउनेदेखि लुटपाटमा संलग्नलाई सेनाले नियन्त्रणमा लियो ।

बुधबारदेखि भने नयाँ बानेश्वर क्षेत्रको स्थिति सामान्य बन्दै जान थालेको छ । दैनिक जनजीवन त्राससहित केही सुधारोन्मुख बन्न थालेको छ । बुधबार साँझबाट भने बानेश्वर क्षेत्रमा खाद्यान्न, तरकारी पसल खुल्न थालेका छन् । युवाहरूले बुधबारबाटै सरसफाइ थालिसकेका छन् । काठमाडौँ महानगरपालिकाले समेत सरसफाइ गर्दै बानेश्वर क्षेत्रलाई पुरानै स्थितिमा फर्काउने प्रयास गरिरहेको छ । 

बिहीबार बिहानैदेखि बानेश्वरका खाजाघर, खाद्यान्न, फलफूल पसल र सैलुनहरू खुलिरहेका छन् । अघिल्ला दिनको तुलनामा केही डर कम त भएको छ । तर, जलेको संघीय संसद भवनको स्वरूपले जोकोहीको अनुहार खुल्न दिएको छैन । मान्छे र निजी सवारीसाधनको आवतजावत बढ्न थालेको छ । फोहोर बोक्ने गाडी गुड्न थालेका छन् । इन्टरनेट, विद्युतसम्बन्धी काम हुन थालेका छन् ।  बानेश्वर क्षेत्र अहिले सेनाको नियन्त्रणमा आइसकेको छ । बाटो हिँड्ने बटुवा र सवारीसाधनको खानतलासीमा सेनाले कडाइ गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १३:४१