नास्टलाई उच्च स्तरीय अनुसन्धान केन्द्र बनाउने सुझाव एक हप्ताभित्र दिन मन्त्री पुनको निर्देशन
असोज २३, २०८२ १२:३७
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई उच्च स्तरीय अनुसन्धान केन्द्र बनाउने गरी आवश्यक सुझाव दिन निर्देशन दिएका छन् । बुधबार नास्टमा दुई घण्टासम्म छलफल र ल्याबहरूको अवलोकन गरेपछि एक हप्ता भित्र सुझाव पेस गर्न उनले निर्देशन दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले नास्टसँग उच्च स्तरीय भवन र ल्याब रहेको उल्लेख गरेका हुन् । त्यसैले उपलब्ध पूर्वाधार अनुसारको काम नास्टले गर्नुपर्नेमा उनको जोड छ । उनले लेखेका छन्, "३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ । नास्टलाई उच्चकोटिको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ता भित्र दिन निर्देशन दिएको छु ।"
यस्तै बुधबार नै शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा पनि छलफल भएको उनले जानकारी दिए । शिक्षामन्त्री पुनका अनुसार आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा १०० अङ्कभारको कम्प्युटर विषय अनिवार्य गरिँदै छ । यसका लागि सोही अनुसारको पाठ्यक्रम विकास गर्न निर्देशन दिइएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउन निर्देशन दिइएको उनले जानकारी दिए । शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेका विद्यालयहरू मर्ज गर्ने योजना, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यापकहरूको नियुक्ति गर्न देशैभर लागु हुने गरी कार्यविधि बनाउने लगायतका विषयमा पनि छलफल भएको उनले बताएका छन् ।
पछिल्लो अध्यावधिक: असोज २३, २०८२ १२:४२
