सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रद्द
पुस २५, २०८२ १४:३४
काठमाडौँ । चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रद्द भएको छ । गुप्ताको अमेरिका भ्रमणलाई लिएर सामाजिक सञ्जाल लगायतमा उनको चर्को आलोचना भइरहेको थियो ।
फर्जी संस्थाबाट नक्कली निमन्त्रणा बनाई जेन-जी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन अमेरिका जान लागेको भन्दै मन्त्री गुप्ताको आलोचना भइरहेको थियो । मन्त्रिपरिषद्को २१ पुसको बैठकले मन्त्री गुप्तालाई उक्त कार्यक्रममा भाग लिन जान स्वीकृति प्रदान गरेको थियो ।
३ माघमा अमेरिकामा आयोजना हुने Role of NRNA Youth in the Development of Nepal Post Gen Z Revolution सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई क्याबिनेटले स्वीकृति प्रदान गरेको थियो ।
चौतर्फी आलोचनापछि अब भने मन्त्री गुप्ता अमेरिका नजाने निर्णयमा पुगेको उनको सचिवालयका सदस्य विनोद रिमालले जानकारी दिए । "अब मन्त्रीज्यू त्यहाँ जाने खास कार्यक्रम छैन । किनभने मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत भएपछि मात्रै आयोजकले कार्यक्रमको कार्यतालिका बनाउँछ । स्वीकृति आउन समय लाग्यो । कार्यक्रमको मिति नजिक आएसँगै अब जाने कार्यक्रम छैन । भिसा प्रोसेसिङलगायतलाई समय पनि पुग्दैन । त्यो काम नै गरेको थिएन । त्यही भएर कार्यक्रम रद्द भयो," रिमालले टेकपानासँग भने ।
आयोजकले सबै खर्च ब्यहोर्ने सर्तमा मन्त्री गुप्ता र उनका एकजना सहयोगी मात्रै कार्यक्रममा जाने तयारी रहेको रिमालले बताए । तर, चौतर्फी प्रश्न उठेपछि त्यसलाई सम्बोधन पनि हुने हिसाबले अमेरिका जाने कार्यक्रम रद्द गरिएको हो ।
रिमालका अनुसार मन्त्री गुप्ताले पछिल्लो समय नेपाली डायस्पोरालाई पनि आफ्ना नीति तथा कार्यक्रममा समेट्ने प्रयास थालेकाले राज्यलाई पनि आर्थिक भार नपर्ने गरी आयोजना गर्न लागिएको उक्त कार्यक्रमलाई अवसरका रूपमा लिँदै सहभागिता जनाउन चाहेका थिए ।
किन विवादित बन्यो मन्त्री गुप्ताको भ्रमण ?
८ जनवरी २०२६ मा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका दुई फरक फरक पत्र सार्वजनिक भए । सतेन्द्र साह अध्यक्ष रहेको समितिले एउटा र विकास उप्रेती अध्यक्ष रहेको अर्को समितिले फरक फरक विज्ञप्ति जारी गरेका छन् ।
एनआरएनए अमेरिकामा गत वर्ष विवादका कारण दुई पटक चुनाव भएको थियो । जुलाईमा भएको चुनावमा विकास उप्रेती अध्यक्षको रूपमा निर्विरोध चयन भएका थिए । त्यसैगरी, अर्को महिना अगस्टमा भएको दोस्रो निर्वाचनबाट सतेन्द्र साह अध्यक्ष चुनिएका थिए ।
एनआरएनएको केन्द्रिय नेतृत्वमा पनि महेश श्रेष्ठ र डा बद्री केसीको समानान्तर समिति थियो । तर, गत महिना एनआरएनएको एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा बद्री केसीले एकता सम्बन्धी १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
अमेरिकामा पनि यही खालको विवादका कारण दुई वटा कार्यसमिति जन्मिन पुगेका थिए । मन्त्री गुप्तालाई विकास उप्रेती अध्यक्ष रहेको एनआरएनले अमेरिका लान खोजेको थियो ।
उक्त कार्यक्रममा सहभागी हुनका लागि लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै ब्यहोर्ने निर्णय गरिएको भन्दै नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने दाबी उप्रेती नेतृत्वको एनआरएनको थियो । द्रोण गौतम प्रवक्ता रहेको उप्रेती नेतृत्वको एनआरएनले भ्रामक, अप्रमाणित तथा अनर्गल टीका-टिप्पणीहरूको पछि नलागी, तथ्यमा सोचका साथ अघि बढ्न आग्रह गरेको छ ।
तर, सतेन्द्र साह नेतृत्वको एनआरएनले भने गैरआवासीय नेपाली सङ्घ अमेरिकाको नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि गरिरहेको भन्दै उप्रेती नेतृत्वको समितिलाई आक्षेप लगाएको छ ।
साहको नेतृत्वमा रहेको एनआरएनका प्रवक्ता सन्देश उप्रेतीले यस्ता गतिविधिहरू NRNA NCC USA को जानकारी, स्वीकृति तथा आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम, EIN नम्बर तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
“NRNA NCC USA संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था हो । संस्थाको नाम, EIN तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने भएकाले यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको छ । संस्थासँग असम्बन्धित गतिविधिहरू NRNA NCC USA सँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले हामी यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएका छौँ,” उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
NRNA NCC USA ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट पारेको छ । साथै, NRNA NCC USA को तर्फबाट अमेरिकामा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।
यो घटनालाई मध्यनजर गर्दै साह नेतृत्वको एनआरएनले गैरकानुनी तथा अनधिकृत गतिविधिहरू सम्बन्धी सम्पूर्ण विवरण अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराउने तयारी रहेको जनाएको छ ।
हुनत गुप्तामाथि केही दिनदेखि राजीनामा दिन दबाब बढिरहेको छ । गैरराजनीतिक दलको वर्तमान सरकारका मन्त्री गुप्ता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दा उनीहरूसँगै देखिएका थिए । रास्वपा सभापति रवि लामिछाने, बालेन र घिसिङलाई मिलाउन मन्त्री गुप्ताले समेत भूमिका खेलेका थिए । त्यसपछि गुप्तामाथि राजीनामा दिनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ ।
पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १४:५५
