close

फ्याक्टचेकः ‘घण्टी-घण्टी’ भन्दै जिस्काउने विद्यार्थीलाई एमाले कार्यकर्ताले कुटेको घटना गोकर्णेश्वरको

गोपाल साउद गोपाल साउद

फागुन ११, २०८२ १९:५८

फ्याक्टचेकः ‘घण्टी-घण्टी’ भन्दै जिस्काउने विद्यार्थीलाई एमाले कार्यकर्ताले कुटेको घटना गोकर्णेश्वरको

काठमाडौँ । सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा एक भिडिओ भाइरल बनिरहेको छ । जसमा एमालेको जुलुसमा सहभागी भएका पार्टी कार्यकर्ताहरूले एक पसल अघि स्कुले ड्रेसमा भएका विद्यार्थीहरूलाई कुटपिट गरिरहेको जस्तो देखिन्छ । 

Bipin Sapkota नाम गरेका एक फेसबुक प्रयोगकर्ताले राखेको भिडिओमा Yogesh Shrestha  नाम गरेका पाठकले टेकपानालाई मेन्सन गरेका छन् । अन्य प्रयोगकर्ताले समेत मेन्सन गरेको र सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको यो भिडिओको वास्तविकता बुझ्न टेकपानाले गरेको फ्याक्ट चेकमा दाबी सही रहेको पुष्टि भयो । 

दाबी

Bipin Sapkota नामक फेसबुक प्रयोगकर्ताले २३ फेब्रुअरी २०२६ का दिन २ः१० बजेको समयमा फेसबुकमा उक्त भिडिओ राख्दै क्याप्सनमा लेखेका छन्, “स्कुल पोसाकमा भएका विधार्थीहरु माथि एमाले कार्यकर्ताहरुले कुटपिट गरेका छन ��”

भिडिओमा एमालेको चुनाव चिन्ह सूर्य अङ्कित झन्डा देखिन्छ भने पार्टीका कार्यकर्ताले स्कुले ड्रेसमा भएका विद्यार्थीलाई मुक्कामुक्की गरिरहेका छन् । पृष्ठभूमिमा होहल्ला, चिच्याहट, गालीगलौज र सिसाका ग्लास फुटेको जस्तो आवाज सुनिएको छ । 

हेर्नुहोस्, भिडिओ, स्क्रिनशट र आर्काइभ लिङ्क । 

 

अनुसन्धान

भाइरल भिडिओको वास्तविकता पत्ता लगाउन सबैभन्दा पहिला टेकपाना फ्याक्टचेक डेस्कले दाबीमा उल्लेख भए जस्तै किवर्ड राखेर सामाजिक सञ्जालहरूमा सर्च गर्‍यो । ‘एमाले विद्यार्थी कुटपिट’ किवर्ड राखेर सर्च गर्दा २३ फेब्रुअरी २०२६ का दिन ३ः२० बजेको समयमा The Introvert नामक फेसबुक पेजले सोही भिडिओ अपलोड गरेको भेटियो । जसको क्याप्सनमा लेखिएको छ, “विद्यार्थी कुट्दै एमाले कार्यकर्ता: चुनावी प्रचार गरीरहेका बेला घण्टी बजाएको निहुँमा एमाले कार्यकर्ताद्वारा विद्यार्थीहरू माथी कुटपिट भएको छ”

हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

भिडिओ कयौँ प्रयोगकर्ता तथा पेजहरूबाट पोस्ट भइरहेको देखिएपछि हामीले भिडिओ‌को विश्लेषण गर्‍यौँ । भिडिओको दृश्यमा घटनास्थलमा बेकरी क्याफेको एउटा बोर्ड पनि देखियो । हेर्नुहोस्, स्क्रिनशट । 

जसमा लेखिएको छ-CAKE CORNER BAKERY । त्यसपछि हामीले CAKE CORNER BAKERY गुगलमा राखेर सर्च गर्‍यौँ । जसबाट सुरुमै एउटा केक तथा बेकरी पसल भेटियो ।  त्यसमा राखिएका फोटोको साइनबोर्ड र भाइरल भिडिओमा देखिएको साइनबोर्डको अक्षर तथा डिजाइन उस्तै देखियो । जहाँ ठेगना लेखिएको छ- गोकर्णेश्वर-८, अत्तरखेल, काठमाडौँ । हेर्नुहोस्, तलको स्क्रिनशट ।

उक्त लोकेसनमा नेभिगेसन गरेर गुगलको स्ट्रिट भ्युबाट हेर्दा भाइरल भिडिओमा देखिएको बेकरी पसल र गुगल सर्चमा भेटिएको बेकरी पसल एउटै भएको पत्ता लाग्यो ।

 

त्यसपछि हामीले घटनाको विषयमा यकिन गर्न पसलको साइन बोर्डमा देखिएको मोबाइल नम्बरमा फोन गर्‍यौँ । कल रिसिभ गर्ने पसल सञ्चालकले घटना घटेको पुष्टि गरे । 

उनको माध्यमबाट उक्त घटनाका एक जना प्रत्यक्षदर्शीसँग टेकपाना फ्याक्टचेक डेस्कले कुराकानी गर्‍यो । त्यसक्रममा उनले भने-

“९/१० कक्षामा पढ्ने स्कुले विद्यार्थी पसलमा चिया खाइरहेका थिए । त्यही बेलामा एमालेको जुलुस आयो । जुलुस गइरहेको बेला विद्यार्थीहरूले ‘घण्टी घण्टी’ भन्दै जिस्किए । तर जुलुसमा रहेका एमाले कार्यकर्ताले गालीगलौज गर्दै ती विद्यार्थीलाई कुटपिट गरेर हिँडे । पसलका चियाका ग्लासहरू समेत फुटाइदिए । कुटपिटमा परेका विद्यार्थीहरू यहीँको भेनस पब्लिक स्कुलका हुन् । घटना ११/१२ बजेतिरको हो । दुई तीन जना विद्यार्थीमाथि हातपात भएको छ । सम्झाएर गएको भए पनि हुने, त्यसरी कुटपिट गर्न नहुने थियो । ती बच्चाहरूले नै प्रहरीलाई समेत सम्पर्क गरेर बोलाएका थिए ।”

गोकर्णेश्वर क्षेत्र काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्छ । जहाँ एमालेबाट रामेश्वर फुयाँल यही २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार छन् । फुयाँलसँग सम्पर्क गर्दा उनको फोन उठेन ।

त्यसपछि हामीले बौद्ध प्रहरीका डीएसपी सन्तोष रोक्कालाई फोन सम्पर्क गर्‍यौँ । उनले सो घटनाको पुष्टि गरे । 

डीएसपी रोक्काले भने, “विद्यार्थी चिया खाएर बसिरहेका रहेछन् । जिस्काएपछि प्रचार टोलीका मान्छेहरू विद्यार्थीतिर आइलागेको भन्ने बुझियो । धकेलाधकेल भएको देखिन्छ । त्यहाँ प्रचार गर्ने टोली पक्षले नै उनीहरूको मान्छेलाई छेकेर आफ्नो तिर लगेको भन्ने आयो । हामीले दुवै पक्षलाई भेटेर सम्झाई बुझाई गरेर पठाएका थियौँ । त्यस्तो कुनै ठुलो चोटपटक लागेको छैन ।” 

दाबी

स्कुल पोसाकमा भएका विद्यार्थीहरू माथि एमाले कार्यकर्ताहरूले कुटपिट गरे ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ता Bipin Sapkota, The Introvert लगायत ।

तथ्य

सामाजिक सञ्जालमा भाइरल भएको "नेकपा (एमाले) का कार्यकर्ताले स्कुले विद्यार्थीमाथि कुटपिट गरे" भन्ने दाबी र भिडिओ सत्य रहेको पुष्टि भएको छ । यो घटना काठमाडौँको गोकर्णेश्वर-८, अत्तरखेलस्थित 'केक कर्नर बेकरी' अगाडि २३ फेब्रुअरी २०२६ (सोमबार) दिउँसो भएको हो । प्रत्यक्षदर्शी र प्रहरीका अनुसार, एमालेको चुनावी जुलुस गइरहेका बेला चिया खाइरहेका विद्यार्थीहरूले 'घण्टी-घण्टी' (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह) भन्दै जिस्क्याएपछि प्रचार टोलीमा रहेका कार्यकर्ताहरू आक्रोशित भई विद्यार्थीमाथि जाइलागेका थिए । कुटपिटमा पर्नेहरू स्थानीय भेनस पब्लिक स्कुलका ९/१० कक्षामा पढ्ने विद्यार्थी थिए। सो क्रममा एमाले कार्यकर्ताले पसलका चियाका ग्लासहरू समेत फुटाइदिएका थिए । बौद्ध प्रहरी वृत्तका डीएसपी सन्तोष रोक्काले घटनाको पुष्टि गर्दै जुलुसका मान्छे र विद्यार्थीबीच धकेलाधकेल र सामान्य हातपात भएको बताएका छन् । प्रहरीले दुवै पक्षलाई भेटेर सम्झाई-बुझाई गरी पठाएको थियो ।

निष्कर्ष

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा एमाले जुलुसका क्रममा स्कुले ड्रेसमा रहेका केही विद्यार्थीमाथि हातपात भएको दाबी गरिएको थियो । स्थान पहिचान, प्रत्यक्षदर्शी तथा प्रहरी स्रोतसँगको पुष्टि अनुसार उक्त घटना वास्तविक भएको र प्रचार टोलीका केही व्यक्तिहरूले विद्यार्थीमाथि हातपात गरेको पुष्टि भयो ।

त्यसैले, “एमाले कार्यकर्ताले स्कुले विद्यार्थीमाथि कुटपिट गरेका छन्” भन्ने दाबी तथ्यपरक देखिएको छ । प्रहरीका अनुसार घटना सामान्य धकेलाधकेल र हातपातसम्म सीमित भए पनि विद्यार्थीमाथि हातपात भएको तथ्य भने पुष्टि भएको हो ।

दाबी सही हुँदा प्रयोग हुने चिन्ह

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८२ २०:१४