close

खल्तीले ल्यायो ‘सुपर वालेट’ सुविधा, पैसा जम्मा गर्दा बैंकमा जस्तै ब्याज आउने

टेकपाना टेकपाना

बैशाख २९, २०८३ १९:४२

खल्तीले ल्यायो ‘सुपर वालेट’ सुविधा, पैसा जम्मा गर्दा बैंकमा जस्तै ब्याज आउने

काठमाडौँ । डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ (आइएमई खल्ती लिमिटेड) ले नेपाली वालेटमा रहेको ब्यालेन्समा ब्याज दिने सुविधा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा अन्तर्गत प्रयोगकर्ताले वालेटमा रहेको रकममा प्रत्यक्ष ब्याज पाउने कम्पनीले जनाएको छ ।

खल्तीका अनुसार प्रयोगकर्ताले आफ्नो वालेटको ब्यालेन्समा वार्षिक २.७५ प्रतिशतका दरले ब्याज पाउनेछन् । यो ब्याज दैनिक आधारमा गणना गरिने र मासिक रूपमा स्वतः प्रयोगकर्ताको वालेटमा जम्मा हुनेछ । ब्याजदर बैंकको मानक दरका आधारमा समय-समयमा परिवर्तन हुन सक्ने जनाइएको छ ।

सुपर वालेट नाम दिइएको यो सुविधा कुनै पनि बैंक भ्रमण नगरी खल्ती एपमार्फत नै सुरु गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए । खल्ती वालेटलाई भुक्तानी गर्ने माध्यम मात्र नबनाई बचत गर्ने विकल्प बनाउन यो सेवा सुरु गरिएको उनको भनाइ छ । यसअघि खल्तीसँग मर्ज हुनुअघि आइएमई पेले पनि ब्याज सेवा दिएको थियो । 

यो सुविधा प्राप्त गर्नका लागि प्रयोगकर्ताको अकाउन्ट केवाईसी भेरिफाई भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको वा वालेटमा १,००० रुपैयाँ ‘ओभरनाइट ब्यालेन्स’ कायम गरेको हुनुपर्ने सर्त राखिएको छ ।

यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध हुने र मर्चेन्ट वा पीओएस (POS) खाताहरू योग्य नहुने सीईओ रेग्मीले स्पष्ट पारे ।

“नेपालको ठुलो जनसंख्या आज पनि औपचारिक बैंकिङ प्रणालीभन्दा बाहिर छ । सुपर वालेटमार्फत हामीले विद्यार्थी, किसान, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बचतको संस्कार सिकाउन र वित्तीय अनुशासनमा राख्न मद्दत गर्नेछौं,” उनले भने ।

यसअघि यो सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताका लागि उपलब्ध गराइएकोमा अब खल्तीका सम्पूर्ण योग्य प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ २०:२०