फोनपे नेटवर्कमा ‘युनियनपे’ लाइभ, नेपालभरका २० लाख बढी मर्चेन्टमा क्यूआर भुक्तानी सहज
जेठ १५, २०८३ १२:५५
काठमाडौँ । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेले आफ्नो क्यूआर स्किममा विश्वप्रसिद्ध युनियनपे इन्टरनेसनललाई एकीकृत गरेको छ । योसँगै अब चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिङ्गापुर लगायत विश्वभरका युनियनपे प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा क्यूआर भुक्तानी गर्न सक्नेछन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा यो सहकार्यको औपचारिक घोषणा गरियो । यो एकीकरणपछि अब अन्तर्राष्ट्रिय पर्यटकहरूले नेपाल भ्रमणका क्रममा आफ्नै देशमा प्रयोग गरिरहेकै युनियनपे एपमार्फत नेपालका पसल, होटल र व्यवसायहरूमा भुक्तानी गर्न सक्नेछन् ।
सहकार्यका बारेमा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले युनियनपे जस्तो विश्वकै ठुलो नेटवर्कलाई फोनपेमा आबद्ध गराउन पाउनु गौरवको कुरा भएको बताए । उनका अनुसार, यसले नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा चिनाउनुका साथै देशलाई 'ग्लोबल पेमेन्ट रेडी' गन्तव्यको रूपमा स्थापित गरेको छ ।
त्यस्तै, युनियनपे इन्टरनेसनलका उपाध्यक्ष झुआङ बेईले नेपालको विकसित क्यूआर नेटवर्क र फस्टाउँदो पर्यटन अर्थतन्त्रमा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले फोनपेका २० लाख मर्चेन्ट टचपोइन्टमार्फत युनियनपे प्रयोगकर्ताले आफ्नै देशमा जस्तै सुलभ डिजिटल भुक्तानीको अनुभव लिन सक्ने उल्लेख गरे ।
नेपालको पर्यटन अर्थतन्त्रका लागि यो कदम 'गेम चेन्जर' सावित हुने अपेक्षा गरिएको छ । सन् २०२५ मा नेपालले ११.५ लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गरेको थियो, जसमा चीन र एसियाली मुलुकका युनियनपे प्रयोगकर्ताहरूको ठुलो हिस्सा थियो ।
फोनपेले यसअघि नै भारतको युपीआई, अलिपे+ लगायत दक्षिण एसिया र आसियान क्षेत्रका १३ भन्दा बढी देशका भुक्तानी प्रणालीहरूसँग सहकार्य गरिसकेको छ ।
फोनपेले नेपालका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत २० लाखभन्दा बढी मर्चेन्टहरूलाई सेवा प्रदान गर्दै आएको छ । उता, युनियनपेले १८३ देशमा आफ्नो उपस्थिति जनाउँदै नेपालका सबै वर्गका बैंक र भुक्तानी प्रदायकहरूसँग साझेदारी विस्तार गरेको छ ।
नेपालमा मात्रै युनियनपेका १ करोडभन्दा बढी भौतिक र भर्चुअल कार्डहरू जारी भइसकेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १४:१७
