नेपाल र श्रीलंकाबिच क्रस-बोर्डर क्यूआर भुक्तानी सुरु, ४ लाख बढी मर्चेन्टमा स्क्यान गर्न सकिने
बैशाख ३०, २०८३ १५:२२
काठमाडौँ । नेपाल र श्रीलंकाबिच अन्तर-देशीय मोबाइल भुक्तानी सेवा सुरु भएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र श्रीलंकाको लंकापे बीचको सहकार्यमा यो डिजिटल अन्तरआबद्धता सुरु भएको हो ।
श्रीलंकाको कोलाम्बोमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ श्रीलंका, एनसीएचएल र लंकापेका प्रतिनिधिहरूले संयुक्त रूपमा यस सेवाको घोषणा गरेका हुन् ।
यस सुरुवातसँगै श्रीलंका भ्रमण गर्ने नेपाली पर्यटक तथा व्यवसायीहरूले कनेक्ट आईपीएस वा सहभागी मोबाइल बैंकिङ्ग एपमार्फत श्रीलंकामा रहेका चार लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टहरूमा सिधै स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।
हाल यो सेवा प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले 'इसुअर' (Issuer) बैंकको रूपमा सुरु गरेको छ । बैंकले जारी गरेका डलर कार्ड वा अन्य उपकरणहरूलाई कनेक्ट आईपीएस एपसँग लिङ्क गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिनेछ ।
आगामी दिनमा अन्य बैंकका मोबाइल बैंकिङ्ग एपहरूमा पनि यो सुविधा विस्तार गर्ने योजना रहेको एनसीएचएलले जनाएको छ ।
एनसीएचएलले हाल १० भन्दा बढी राष्ट्रिय स्तरका डिजिटल भुक्तानी पूर्वाधारहरू सञ्चालन गर्दै आएको छ भने लंकापे श्रीलंकाको राष्ट्रिय भुक्तानी सञ्जाल हो ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८३ १५:२२
