फ्याक्टचेक: सुशीला कार्कीको ‘औकात’ छैन भन्दै बालेनले पोस्ट गरेको भनिएको भाइरल स्क्रिनशट फेक
बैशाख ३१, २०८३ १७:५२
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री सुशीला कार्कीमाथि तीखो टिप्पणी गरेको दाबीसहितका स्क्रिनशटहरू व्यापक रूपमा भाइरल भइरहेका छन् । उक्त स्क्रिनशटमा प्रधानमन्त्री बालेनले कार्कीलाई आफ्नो पारिवारिक सम्बन्धमाथि टिप्पणी गर्ने ‘औकात’ नभएको भन्दै थर्काएको देखाइएको छ । तर उक्त स्क्रिनशट फेक रहेको टेकपाना तथ्यजाँचका लागि गरिएको अनुसन्धानका क्रममा पुष्टि भएको छ ।
केही दिनअघि पूर्वप्रधानमन्त्री कार्कीले युट्युबर दिवाकर साहले ‘आमा’ भनेर सम्बोधन गर्दा आक्रोशित हुँदै “अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू,” भनेकी थिइन् । सोही सन्दर्भलाई लिएर बालेनले जवाफ दिँदै पूर्वप्रधानमन्त्री कार्कीलाई थर्काएको जस्तो देखिने फेक स्क्रिनशट भाइरल गराइएको हो ।
दाबी
फेसबुक पेज ‘World News Today’ ले ११ मार्च २०२६ दिउँसो १२:३७ मा एक पोस्ट सार्वजनिक गरेको छ । उक्त पोस्टमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भेरिफाइड फेसबुक पेजमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँग सम्बन्धित विषयमा गरिएको टिप्पणीको स्क्रिनशट राखिएको छ । उक्त स्क्रिनशट शेयर गर्दै क्याप्सनमा लेखिएको छ, “सहयोग गरेको नाममा मालिक बन्न नखोज्नुस!!💯✅🙏💯💯” ।
सो स्क्रिनशटमा बालेनको पेजबाट कार्कीले निर्वाचनमा मतदान गरेको तस्बिरसहित यस्तो लेखेको देखिएको छ, “सहयोग गरेको नाममा 'मालिक' बन्न नखोज्नुस्। मलाई कसैले बनाएको होइन, जनताले ल्याएको हो। आपनो कद र पदको ख्याल गर्नु, अरूको पारिवारिक सम्बन्धमाथि टिप्पणी गर्ने तपाईको औकात छैन।” उक्त पोस्टमा २१ सय भन्दा धेरैले रियाक्ट गरेका छन् । २६८ पटक कमेन्ट र ८५ पटक शेयर गरिएको छ ।
हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
११ मार्च २०२६ बिहान १०:५८ मा ‘Shambhu Aryal’ नामका फेसबुक प्रयोगकर्ताले समान किसिमको दाबीसहित स्क्रिनशट सार्वजनिक गरेको पाइयो । तर उक्त स्क्रिनशटमा सुशीला कार्कीको ‘World News Today’ ले सार्वजनिक गरेको भन्दा फरक तस्बिर प्रयोग भएको छ ।
पोस्ट सार्वजनिक गर्दै अर्यालले सुशीला कार्की प्रधानमन्त्री हुँदा कानुनको कुन धारा प्रयोग भएको थियो भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्, “समयको खेल !! आज संविधानका एक एक धारा पल्टाउने र नैतिकताबादका सब्द रच्ने पुर्व प्रधानमन्त्री श्री सुशील कार्की ज्यु आफू प्रधानमन्त्री बन्दा नेपालको कुन संविधानको कुन धारा अन्त्रगत आफू प्रधानमन्त्री बनेक थिइन यो पनि आम नेपाली नागरिकहरु सामु राखिदिए हुन्थियो कि ????”
सो पोस्टमा यो सामग्री तयार पार्दा सम्ममा ३८ सय भन्दा धेरैले रियाक्ट, ५३० पटक कमेन्ट र १७२ पटक शेयर भएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

फेसबुक प्रयोगकर्ता ‘अमृत कुमार ओली’ ले पनि सोही तस्बिरसहितको स्क्रिनशट शेयर गरेको पाइयो । ११ मार्च बिहान ६:३६ मा शेयर गरिएको उक्त स्क्रिनशटमा लेखिएको छ, “पेज जसले चलाएपनी ठिकै लेख्या छ ,मिलाएर लेख्या छ ,कालो पहिरन भित्रको लुकेको वास्तविकता लेखेको छ।✅✅😂😂🤫🤫” उक्त पेजमा ४१८ जनाले रियाक्ट गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

बालेनले पूर्वप्रधानमन्त्री कार्कीलक्षित पोस्ट गरेको जस्तो देखिने स्क्रिनशट भाइरल भएको पाइएपछि हामीले ‘बालेन सुशीला पोस्ट’, ‘मलाई कसैले बनाएको होइन जनताले ल्याएको हो’, ‘सहयोग गरेको नाममा मालिक’, ‘औकात छैन बालेन’ लगायतका किवर्ड राखेर गुगल, फेसबुक, इन्स्टाग्राम, एक्स, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्च गर्यौँ । तर, बालेनले पूर्वप्रधानमन्त्री कार्कीको बारेमा कुनैपनि टिप्पणी गरेको समाचार फेला परेन ।
बरु युट्युबरसँग पूर्वप्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा आक्रोश पोख्दै “अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू ।” बताएको भिडिओ र उक्त भिडिओमा आधारित भएका समाचारहरू फेला परे ।
त्यसपछि हामीले बालेनले पोस्ट गरेको दाबी गरिएको भेरिफाइड फेसबुक पेजमा उक्त पोस्ट खोज्यौँ । उक्त पेजमा अन्तिम पोस्ट ९ मेमा सार्वजनिक भएको देखिन्छ । सेतो सर्ट र धर्के पाइन्ट लगाएको उक्त तस्बिरमा यो सामग्री तयार पारिरहँदा ९ लाख २४ हजारभन्दा बढीले रियाक्ट गरेका छन् । सो पोस्टभन्दा पछाडि उक्त पेजबाट अन्य कुनैपनि पोस्ट भएका छैनन् ।
प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा केही पोस्ट गर्ने बित्तिकै उक्त पोस्ट निकै भाइरल हुने गरेको छ । यदि बालेनले पूर्वप्रधानमन्त्री कार्कीको बारेमा नकारात्मक कुनै टिप्पणी गरेमा सामाजिक सञ्जालमा स्वाभाविक रूपमा यसको चर्चा र आलोचना हुने थियो । तर, त्यस्तो भएको देखिँदैन ।
त्यसपछि हामीले सामाजिक सञ्जालका पोस्टहरूलाई नियालेर सूक्ष्म विश्लेषण गर्यौँ । ‘World News Today’ ले शेयर गरेको पोस्टमा राखिएको तस्बिरको दायाँतर्फ फेसबुकको रिल्समा हुने लाइक बटन देख्न सकिन्छ । फेसबुक पोस्टमा रिल्समा हुने रियाक्सन बटन हुनु अस्वाभाविक हो । सोही बटनको छेवैमा जेमिनाई एआईको लोगो पनि देखिएको छ ।

हामीले उक्त तस्बिर डाउनलोड गरी एआई तस्बिर डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मा राखेर हेर्दा तस्बिरमा एआईको प्रयोग भएको पाइयो । हाइभ मोडेरेसनले उक्त तस्बिर ७१.८ प्रतिशत डिप फेक भएको निष्कर्ष निकाल्यो ।

त्यसपछि हामीले अन्य दाबीहरूमा प्रयोग भएको बालेनको स्क्रिनशटको विश्लेषण गर्यौँ । बालेनको स्टाटस भएको दाबीसहितका स्क्रिनशटमा नै कार्कीको फरक फरक तस्बिर प्रयोग हुनुले उक्त स्क्रिनशट फेक भएको हुनसक्ने तर्फ संकेत गर्छ । विश्लेषण गर्ने क्रममा पनि उक्त स्क्रिनशटमा विभिन्न प्राविधिक त्रुटि देखिए ।
स्क्रिनशटमा देखिएका प्राविधिक त्रुटि
-
फन्ट र रेन्डरिङ: फेसबुकको आधिकारिक एपमा प्रयोग हुने फन्ट र यो तस्बिरमा देखिएको फन्टमा भिन्नता छ । अक्षरको मोटाइ र ‘जस्ट नाउ’ लेखिएको स्थानको बनावट अस्वाभाविक देखिन्छ ।
-
इमेज कम्प्रेसन: तस्बिरलाई जुम गरेर हेर्दा अक्षरको वरिपरि ‘ब्लर’ वा अनावश्यक पिक्सेल देखिन्छन् । यसले यो वास्तविक स्क्रिनशट नभई ग्राफिक्स सफ्टवेयरमा बनाइएको हुन सक्ने सङ्केत गर्छ ।
-
अलाइनमेन्ट: प्रोफाइल नाम, ‘जस्ट नाउ’ को समय र ग्लोब आइकनको दूरी आधिकारिक फेसबुक ढाँचासँग ठ्याक्कै मेल खाँदैन ।
-
अस्वाभाविक भाषा: सार्वजनिक पदमा बसेका व्यक्तिले प्रयोग गर्ने भाषा र यो पोस्टमा प्रयोग गरिएको ‘औकात छैन’ जस्ता शब्द ‘उत्तेजक’ देखिन्छन् ।
-
तस्बिर र अक्षरको मेल: माथि बालेनको स्टाटस जस्तो देखिने भाग छ भने तल पूर्वप्रधानमन्त्री सुशीला कार्कीको तस्बिर छ । कार्कीको फोटो र स्टाटसबिचको दूरी पनि अस्वाभाविक छ ।

यी विभिन्न तथ्यबाट प्रधानमन्त्री बालेनले पूर्वप्रधानमन्त्री कार्कीलाई उत्तेजक शैलीमा थर्काएको दाबी गर्दै फैलाइएको पोस्ट मिथ्या पुष्टि हुन आयो ।
दाबी
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै आफ्नो परिवारिक सम्बन्धको बारेमा बोल्ने कुनै ‘औकात’ नभएको भन्दै धम्की दिए ।
दाबीकर्ता
फेसबुक पेज ‘World News Today’, फेसबुक प्रयोगकर्ताहरू ‘Shambhu Aryal’, ‘अमृत कुमार ओली’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो आधिकारिक फेसबुक पेजमा पछिल्लो समयमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीलक्षित कुनै पनि पोस्ट गरेको पाइएन । मर्यादामा रहनुपर्ने एक प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री कार्कीविरुद्ध त्यस किसिमको धम्कीपूर्ण वा उत्तेजक टिप्पणी गरेको भए सञ्चारमाध्यमहरूले त्यसलाई प्राथमिकताका साथ समाचार बनाउने थिए । तर, कुनै पनि विश्वसनीय सञ्चारमाध्यमले यस विषयमा कुनै समाचार प्रकाशित गरेका छैनन् ।
साथै, भाइरल बनाइएको स्क्रिनशटलाई प्राविधिक रूपमा विश्लेषण गर्दा त्यसमा प्रयोग गरिएको फन्ट, अक्षरको मोटाइ, 'जस्ट नाउ' (Just now) लेखिएको स्थान र अलाइनमेन्ट फेसबुकको आधिकारिक ढाँचासँग मेल खाँदैनन् । कतिपय भाइरल पोस्टहरू तयार पार्न आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गरिएको पाइएको छ, जसले यो सामग्री पूर्ण रूपमा बनावटी भएको पुष्टि गर्छ ।
निष्कर्ष
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गरी आधिकारिक पेजमा “सहयोग गरेको नाममा 'मालिक' बन्न नखोज्नुस्। मलाई कसैले बनाएको होइन, जनताले ल्याएको हो। आपनो कद र पदको ख्याल गर्नु, अरूको पारिवारिक सम्बन्धमाथि टिप्पणी गर्ने तपाईको औकात छैन।” भन्दै पोस्ट गरेका छैनन् । भाइरल स्क्रिनशट पूर्णतः मिथ्या हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १८:१९
