close

क्यानको आधिकारिक वेबसाइटमा प्रतिबन्धित बेटिङ प्लेटफर्मको बिगबिगी, हजारौँ अवैध लिङ्क फेला

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ १, २०८३ १९:२८

क्यानको आधिकारिक वेबसाइटमा प्रतिबन्धित बेटिङ प्लेटफर्मको बिगबिगी, हजारौँ अवैध लिङ्क फेला

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक वेबसाइट (cricketnepal.org.np) मा नेपाल सरकारले प्रतिबन्ध लगाएका अनलाइन सट्टेबाजी (बेटिङ) प्लेटफर्मका लिङ्क फेला परेका छन् । वेबसाइटका विभिन्न पेजमा हजारौँ बेटिङ तथा जुवा प्लेटफर्मका लिङ्क भेटिएका हुन् ।

गुगल सर्च इन्जिनमा ‘site:cricketnepal.org.np “bet”’ सर्च गर्दा बेटिङ प्लेटफर्मको लिङ्क भएका कैयौँ पेज देखिन्छन् । यसबाहेक वेबसाइटका कुनै पनि पेज खोली ‘भ्यु पेज सोर्स’ जाँच गर्दा त्यहाँ दुई हजार बढी शंकास्पद लिङ्क रहेको पाइएको छ, जसमा ठुलो संख्यामा बेटिङ साइट समावेश छन् । 

सामान्य प्रयोगकर्ताका लागि वेबसाइटको ‘फ्रन्टइन्ड’मा यी लिङ्क नदेखिए पनि भित्री ‘सोर्स कोड’ मा यस्तो अवैध सामग्रीको भारी मात्रामा उपस्थिति देखिएको हो ।

साइबर सुरक्षा विश्लेषक विजय लिम्बुले यो घटनापछाडि तीन प्रमुख कारण हुनसक्ने बताए । उनका अनुसार पहिलो- वेबसाइट निर्माण गर्ने डेभलपर कम्पनी वा सम्बन्धित डेभलपरले नै आर्थिक लाभका लागि जानाजानी ‘ब्याकलिङ्क’ हरू राखेको हुन सक्छ । दोस्रो- वेबसाइटको ‘कन्टेन्ट म्यानेजमेन्ट सिस्टम’ ह्याक गरी अनधिकृत व्यक्तिले यी लिङ्क इन्जेक्ट गरेको हुन सक्छ । र तेस्रो- ‘सप्लाई चेन अट्याक’मार्फत डेभलपरको सोर्स कोड रेपोजिटरीमा पहुँच बनाएर ह्याकरले कोड परिवर्तन गरिदिएको हुन सक्ने सम्भावना छ ।

लिम्बु टेकपानासँग भन्छन्, “एसईओको दुनियाँमा वेबसाइटको र्‍याङ्क बढाउन टप र्‍याङ्क भएको वेबसाइटमा लिङ्क राखिन्छ । यहाँ पनि वेबसाइटको ‘अथोरिटी’ को दुरुपयोग गर्दै भित्रि तहमा ‘हिडन ट्याग’ वा ‘इन-एचआरएफ’ कोड प्रयोग गरी लिङ्क राखिएको देखिन्छ । यो सामान्य त्रुटि नभई वेबसाइटको सिस्टममा गरिएको सुनियोजित छेडखानी हो ।”

साइबर सुरक्षा अनुसन्धानकर्ताका अनुसार यस्तो गतिविधिले क्यानको वेबसाइट प्रयोग गर्ने हजारौँ प्रयोगकर्ता अनजानमै खतरनाक वा अवैध साइटमा डाइभर्ट हुने र उनीहरूको व्यक्तिगत डेटा चोरी वा डिभाइसमा मालवेयरको जोखिम उच्च रहन्छ । यस्ता ‘ब्ल्याक ह्याट एसईओ स्पाम इन्जेक्सन’ ले वेबसाइटलाई गुगलको ‘ब्ल्याकलिस्ट’ मा पार्न सक्छ, जसले संस्थाको विश्वसनीयता र डिजिटल उपस्थितिमा अपूरणीय क्षति पुर्‍याउँछ ।

टेकपानाले क्यानलाई यस घटनाबारे जानकारी दिन खोज्दा उल्टै क्यान प्रवक्ता छुम्बी लामाले वेबसाइटमा कुनै समस्या नरहेको जिकिर गरे । उनले भने, “क्यानको वेबसाइटमा बेटिङका लिङ्क हुनु असम्भव कुरा हो । सायद कसैले नक्कली वेबसाइट बनाएर यस्तो हल्ला फैलाएको हुन सक्छ ।” पुन: सम्पर्कमा आएका उनले भने, “मैले हाम्रो प्राविधिक टोलीसँग बुझ्दा वेबसाइटमा त्यस्तो केही समस्या नभएको जानकारी आएको छ ।”

प्रवक्ता लामाले असम्भव दाबी गरे पनि टेकपानाले फेला पारेको प्राविधिक तथ्य र विज्ञको विश्लेषणले वेबसाइटमा गम्भीर सुरक्षा त्रुटि रहेको देखिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८३ १९:२९