साओमी १७-टी सिरिज सार्वजनिक हुँदै, १४४ हर्ज डिस्प्ले, ५x जुम क्यामेरासँगै शक्तिशाली चिपसेट हुने
जेठ ५, २०८३ १४:१
काठमाडौँ । साओमी १७-टी सिरिजको फ्ल्यागशिप स्मार्टफोन आगामी हप्ता २८ मे का दिन विश्व बजारमा सार्वजनिक हुँदैछ । यसैबिच टिपस्टर @DigitalChatStation र पहिले बाहिरिएका आधिकारिक रेन्डरहरूमार्फत यो नयाँ लाइनअपको डिस्प्ले, क्यामेरा र चिपसेट सम्बन्धी स्पेसिफिकेसनहरू लिक भएका छन् ।
प्राप्त जानकारी अनुसार यस फ्ल्यागशिपमा स्ट्यान्डर्ड र प्रो गरी दुई वटा मोडेलहरू हुनेछन् । यसको स्ट्यान्डर्ड भर्सनमा ६.५९ इन्चको स्क्रिन हुन सक्ने अनुमान गरिएको छ भने प्रो भर्सनमा ६.८३ इन्चको साओमी भिजन केयर २ सहितको १४४ हर्ज आई-केयर डिस्प्ले हुनेछ । दुवै डिभाइसमा १.५के (1.5K) रिजोलुसन र १४४ हर्ज रिफ्रेश रेट सहितको फ्ल्याट फ्रन्ट प्यानल हुनेछ ।

प्रोसेसरको कुरा गर्नुपर्दा दुवै फोनहरूमा फाइभ-जी सपोर्ट उपलब्ध हुनेछ । साओमी १७-टी मा डाइमेन्सिटी ८५०० प्रोसेसर प्रयोग हुनेछ भने प्रो भर्सनमा अल-बिग-कोर लिडिङ पर्फर्मेन्स सहितको मिडियाटेक डाइमेन्सिटी ९५०० मोबाइल एसओसी कनेक्सन हुनेछ ।
क्यामेरा सेटअप अन्तर्गत साओमी १७-टी सिरिजका सबै फोनहरूमा लाइका लेन्स र विशेष ५ एक्स पेरिस्कोप सुपर टेलिफोटो सेन्सर हुनेछ । जसले १२०x एआई अल्ट्रा जुमसम्म सपोर्ट गर्ने बताइएको छ ।

यसमा लाइका समिलक्स अप्टिकल लेन्समार्फत लाइका लाइभ मोमेन्टको सुविधा पनि दिइएको छ । साओमी १७-टी प्रोमा ओम्निभिजन ओभी५०क्यू (OV50Q) मुख्य क्यामेरा सेन्सर हुनेछ । यो प्रिमियम मोडेलहरूको लागि हाई-पर्फर्मेन्स प्रदान गर्ने ५० मेगापिक्सेल सीएमओएस इमेजिङ सोलुसन हो । यसमा १/१.३ इन्चको अप्टिकल सेन्सर छ र यसले LOFIC प्रविधिको प्रयोग गर्दछ । जसले उत्कृष्ट रङ, फिडेलिटी, डाइनामिक रेन्जका साथै कम उज्यालो भएको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न मद्दत गर्दछ ।
ब्याट्री र चार्जिङको सन्दर्भमा कुरा गर्नुपर्दा यस डिभाइसमा ७००० एमएएचको सिलिकन-कार्बन ब्याट्री हुनेछ । जसले १०० वाट वायर्ड र ५० वाट वायरलेस हाइपरचार्जलाई सपोर्ट गर्दछ ।
सफ्टवेयर तर्फ यो फोन साओमी हाइपरओएसबाट सञ्चालित साओमी हाइपरएआई फिचरहरूले सुसज्जित हुनेछ । नयाँ लिकले यस फोनको बारेमा सबै जानकारीहरू स्पष्ट पारिसकेको छ र अब आधिकारिक रूपमा सार्वजनिक हुने कुराको मात्र प्रतीक्षा बाँकी छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ १४:२
