close

खुलेको ५ दिनमै इन्स्टाग्राममा कक्रोच जनता पार्टी भाजपाभन्दा लोकप्रिय, किन हुँदैछ यति धेरै भाइरल ?

टेकपाना टेकपाना

जेठ ७, २०८३ ११:२

खुलेको ५ दिनमै इन्स्टाग्राममा कक्रोच जनता पार्टी भाजपाभन्दा लोकप्रिय, किन हुँदैछ यति धेरै भाइरल ?

काठमाडौँ । भारतको राजनीतिमा अहिले एउटा अनौठो र अप्रत्याशित लहर देखिएको छ । स्थापना भएको मात्र ५ दिनमै कक्रोच जनता पार्टी (सीजेपी) नामक एउटा व्यङ्ग्यात्मक राजनीतिक अभियानले भारतीय जनता पार्टी (भाजपा) जस्तो विश्वकै ठुलो भनिएको दललाई इन्स्टाग्राम फलोअर्सको सङ्ख्यामा पछाडि पारेको छ ।

यो समाचार तयार पार्दासम्म यसको इन्स्टाग्राम अकाउन्टमा फलोअर सङ्ख्या १०.६ मिलियन (करिब ११ मिलियन) नाघिसकेको छ । जबकि सत्तारुढ भाजपाको ८.७ मिलियन फलोअर मात्र रहेका छन् । यो सबै घटनाको सुरुवात गत १५ मेको दिन भारतका मुख्य न्यायाधीश सूर्य कान्तले अदालतको सुनुवाइका क्रममा दिएको एउटा अभिव्यक्ति पश्चात भएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी एउटा मुद्दाको सुनुवाइ गर्दै उनले बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रिय एक्टिभिस्टहरूलाई साङ्लो (कक्रोच) र परजीवीसँग तुलना गरेका थिए । उनले भनेका थिए, "अहिले साङ्लो जस्ता युवाहरू छन्, जसले कतै रोजगारी पाउँदैनन् र कुनै पेशामा ठाउँ पाउँदैनन् । तिनीहरूमध्ये कोही मिडियाकर्मी बन्छन्, कोही सामाजिक सञ्जाल इन्फ्लुएन्सर र आरटीआई एक्टिभिस्ट बन्छन् र सबैलाई आक्रमण गर्न थाल्छन् ।"

मुख्य न्यायाधीशको यो टिप्पणीले भारतका लाखौँ बेरोजगार र सङ्घर्षरत युवाहरूको आत्मसम्मानमा गहिरो चोट पुर्‍यायो । सामाजिक सञ्जालमा आक्रोश फैलिन थालेपछि ३० वर्षीय अभिजित दिपकेले एउटा ठट्टाको रूपमा प्रश्न गरे, "यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला ?" यही ठट्टाले १६ मेमा कक्रोच जनता पार्टीको रूप लियो ।

को हुन् पार्टीका संस्थापक अभिजित दिपके ?

यो भाइरल मुभमेन्टका पछाडि ३० वर्षीय अभिजित दिपके रहेका छन् । उनी अमेरिकाको बोस्टन विश्वविद्यालयमा जनसम्पर्क (Public Relations) विषयमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थी हुन् । रोचक कुरा त के छ भने दिपके यसअघि आम आदमी पार्टी (आप) को सामाजिक सञ्जाल टोलीमा स्वयंसेवकको रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनले सन् २०२० को दिल्ली विधान-सभा चुनावमा मिम (Meme) मार्फत गरिने डिजिटल प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

दिपकेका अनुसार यो मुभमेन्ट कुनै योजनाबद्ध अभियान नभई युवाहरूको वास्तविक आक्रोशको उपज हो । उनले भनेका छन्, "सत्तामा बस्नेहरूले नागरिकलाई साङ्ला र परजीवी ठान्छन् भने उनीहरूले यो पनि बुझ्नुपर्छ कि साङ्लाहरू सडेगलेको ठाउँमै जन्मिन्छन् । आजको भारत त्यस्तै भएको छ ।"

किन भाइरल भइरहेको छ यो पार्टी ?

यो पार्टी भाइरल हुनुको मुख्य कारण यसले प्रयोग गरेको 'सेल्फ-डिप्रेकेटिङ' ह्युमर अर्थात् आफैँलाई व्यङ्ग्य गर्ने शैली हो । यसले आफ्नो विचारधारालाई धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक र अल्छीको रूपमा परिभाषित गरेको छ । पार्टीमा आबद्ध हुनका लागि राखिएका योग्यताहरू पनि निकै रोचक र व्यङ्ग्यात्मक छन् ।

जसमा जबरजस्ती वा आफ्नै रोजाइले बेरोजगार भएको हुनुपर्ने, शारीरिक रूपमा अल्छी तर दिमाग जति बेला पनि घुमिरहने, दिनको कम्तीमा ११ घण्टा अनलाइन बस्ने र व्यावसायिक रूपमा गुनासो वा आक्रोश पोख्न सक्ने जस्ता विषयहरू छन् ।

भारतमा बेरोजगारीको दर उच्च रहेको र युवाहरूले आफ्नो समस्या सुन्ने कोही नभएको महसुस गरिरहेका बेला यो 'साङ्ला' पहिचान उनीहरूका लागि एकताको सूत्र बनेको छ । "म पनि साङ्लो" (#MainBhiCockroach) भन्ने ह्याशट्याग सामाजिक सञ्जालमा निकै ट्रेन्डिङ भएको छ ।

व्यङ्ग्यभित्र लुकेको गम्भीर एजेन्डा

यसलाई केवल इन्टरनेटको ठट्टा मात्र भन्न मिल्ने स्थिति भने छैन । पार्टीले एउटा ५ बुँदे गम्भीर घोषणापत्र पनि सार्वजनिक गरेको छ, जसमा भारतका जल्दोबल्दा मुद्दाहरू समेटिएका छन् ।

मुख्य न्यायाधीशहरूलाई अवकाशपछि राज्यसभाको सिट वा सरकारी नियुक्ति दिन नपाइने, मतदाता नामावलीबाट वैध मत हटाउने निर्वाचन अधिकारीलाई कडा कारबाही हुनुपर्ने र संसद र विधानसभामा महिलाहरूलाई ३३ प्रतिशत होइन, ५५ प्रतिशत आरक्षण हुनुपर्ने माग राखिएको छ ।

त्यस्तै दल बदल गर्ने नेताहरूलाई २० वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाउनुपर्ने र युवाहरूमा राजनीतिक साक्षरता बढाउने विषय समेत पार्टीको एजेन्डाको रूपमा समेटिएका छन् ।

यस मुभमेन्टले भारतको चर्चित निट (NEET) परीक्षाको प्रश्नपत्र लिक र शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचारको विरुद्ध पनि आवाज उठाएको छ । दिल्लीका युवाहरूले साङ्लाको पोसाक लगाएर यमुना नदी सफा गर्ने जस्ता रचनात्मक विरोध प्रदर्शन पनि सुरु गरिसकेका छन् ।

विपक्षी दलहरूको समर्थन

यो अभियानको बढ्दो प्रभाव देखेर भारतका ठुला विपक्षी नेताहरूले पनि चासो देखाएका छन् । तृणमूल काँग्रेसका सांसदहरू महुवा मोइत्रा र कीर्ति आजादले यसमा ऐक्यबद्धता जनाएका छन् । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले त "भाजपा भर्सेस सीजेपी" भन्दै ट्विट नै गरेका छन् ।

केहीले यसलाई नेपाल र बङ्गलादेशमा भएका युवा आन्दोलनसँग तुलना गर्न थालेका छन् । तर संस्थापक दिपकेले भने भारतीय युवाहरू परिपक्व रहेको र उनीहरूले शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै आफ्नो असन्तुष्टि व्यक्त गर्ने बताएका छन् । उनले भनेका छन्, "हाम्रो तुलना अन्य देशको हिंसात्मक आन्दोलनसँग गरेर भारतीय युवाको अपमान नगर्नुहोस् ।"

अहिलेसम्मका लागि 'कक्रोच जनता पार्टी' दर्ता भएको आधिकारिक राजनीतिक दल त होइन । तर यसले भारतको स्थापित राजनीतिक शक्ति र संस्थाहरूलाई एउटा बलियो सन्देश भने दिएको छ । युवाहरूको आवाजलाई बेवास्ता गर्दा एउटा मिमले पनि सत्ताको जग हल्लाउन सक्छ भन्ने यो एउटा सशक्त उदाहरण हो 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ ११:२०