सामाजिक सञ्जालमा भाइरल 'कक्रोच पार्टी' अब दिल्लीको सडकमा उत्रिने, शिक्षामन्त्रीको राजीनामा माग्दै
जेठ २१, २०८३ १२:४१
काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल बनेको 'कक्रोच जनता पार्टी' ले विरोध प्रदर्शनको घोषणा गरेको छ । पार्टीले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो । कक्रोच पाटीले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै आगामी शनिबार शान्तिपूर्ण विरोध प्रदर्शनका लागि आह्वान गरेको थियो ।
प्रदर्शनको जानकारी गराउन पार्टीले बुधबार आफ्नो पहिलो पत्रकार सम्मेलन पनि अयोजना गरेको थियो । ‘भारतको राजनीतिक बहसको शैली परिवर्तन गर्ने’ उद्देश्यसहित सामाजिक सञ्जालबाट सुरु भएको कक्रोच जनता पार्टीले बुधबार तीन जना प्रवक्ताको नाम पनि घोषणा गरेको थियो ।
साथै, पार्टीका संस्थापक अभिजित दिपके, लद्दाखका अभियन्ता सोनाम वाङ्चुक तथा पार्टीका अन्य सदस्यहरू पनि शनिबार दिल्लीमा भेला हुने र प्रदर्शनका लागि अनुमति माग्ने जनाएको छ । पार्टीले भारतभरका युवाहरूलाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।
कक्रोच जनता पार्टीले स्नातक तहको राष्ट्रिय प्रवेश परीक्षा (NEET) र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (CBSE) को परीक्षासम्बन्धी विवादको विरोधमामा प्रदर्शन गर्ने र भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्ने जनाएको छ । सामाजिक सञ्जालमा सुरु भएको यस अभियानलाई कलाकारदेखि सामाजिक अभियन्तासम्मले साथ दिन थालेका छन् ।
सामाजिक अभियन्ता तथा शिक्षक सोनाम वाङ्चुकले केही दिन अघि मात्रै कक्रोच पार्टीको अभियानमा सहभागी हुने निर्णय गरेका थिए । दक्षिण भारतीय कलाकार प्रकाश राजले पनि एक्समा पोष्ट गर्दै ‘ककरोच आन्दोलन’ प्रति ऐक्यबद्धता जनाएका छन् । उनले शनिबारको प्रदर्शनमा आउने प्रयास गरिरहेको पनि जानकारी गराएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १२:४९
