close

इन्स्टाग्राम फलोअर्समा भाजपालाई उछिनेको केही घण्टामै भारतमा कक्रोच पार्टीको एक्स खाता बन्द

टेकपाना टेकपाना

जेठ ७, २०८३ १५:३५

इन्स्टाग्राम फलोअर्समा भाजपालाई उछिनेको केही घण्टामै भारतमा कक्रोच पार्टीको एक्स खाता बन्द

 

काठमाडौँ । भारतमा कक्रोच जनता पार्टीको एक्स खाता बन्द भएको छ । इन्स्टाग्राम फलोअर्सको सङ्ख्यामा भारतीय जनता पार्टी (भाजपा) लाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट भारतमा बन्द भएको हो । हाल अमेरिकामा रहेका पार्टीका संस्थापक अभिजित दिपकेले आफ्नो एक्स अकाउन्टमा पोस्ट गर्दै भारतमा कक्रोच पार्टीको एक्स ह्यान्डल बन्द भएको जानकारी गराएका छन् । भारत बाहेक अन्य देशहरूमा भने पार्टीको एक्स ह्यान्डल चालु रहेको छ ।

यो पार्टीले बिहीबार नै इन्टाग्राम फलोअर्सको संख्यामा भाजपालाई पछि पारेको थियो । यो समाचार तयार पार्दासम्म इन्टाग्राममा भाजपाका ८.८ मिलियन फलोअर्स छन् भने कक्रोच जनता पार्टीका १३.९ मिलियन छन् । एक्समा पनि यसको फलोअर्स संख्या २ लाख नाघिसकेको छ । यता, पार्टीका संस्थापक दिपके भारतमा पार्टीको मुख्य एक्स ह्यान्डल बन्द भएपछि तत्काल नयाँ अकाउन्ट खोलेर भारतीय फलोअर्स जोड्ने प्रयास गरेका छन् ।

गत १५ मेको दिन भारतका मुख्य न्यायाधीश सूर्य कान्तले अदालतको सुनुवाइका क्रममा दिएको एउटा अभिव्यक्तिका कारण सुरु भएको कक्रोच पार्टीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । मुख्य न्यायाधीशले भारतका बेरोजगार युवा र एक्टिभिस्टहरूलाई साङ्लो (कक्रोच) सँग तुलना गरेका थिए । यहि अभिव्यक्तिपछि सुरु भएको कक्रोच पार्टीमा अहिले लाखौँ युवाहरु जोडिने क्रम जारी रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १२:१२