close

एआईले निम्त्याउने रोजगारी संकटबाट श्रमिकहरूलाई जोगाउन क्यालिफाेर्नियामा कार्यकारी आदेश जारी

टेकपाना टेकपाना

जेठ ८, २०८३ ९:३७

एआईले निम्त्याउने रोजगारी संकटबाट श्रमिकहरूलाई जोगाउन क्यालिफाेर्नियामा कार्यकारी आदेश जारी

काठमाडौँ । अमेरिकी राज्य क्यालिफोर्नियाले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण उत्पन्न हुने रोजगारी संकटबाट श्रमिकहरूलाई जोगाउने उद्देश्यले विशेष कार्यकारी आदेश जारी गरेको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले भविष्यमा श्रम बजार र साना व्यवसायमा एआईले पार्ने प्रभावका लागि तयारी गर्न देशमै पहिलो पटक यस्तो किसिमको आदेश जारी गरिएको बताएका छन् । 

बिहीबार हस्ताक्षर गरिएको उक्त आदेश मार्फत रोजगारी, तलब, कर्मचारी कटौती र श्रम असमानतालाई एआईले कसरी नयाँ रूप दिन सक्छ भन्ने विषयमा अध्ययन गर्न क्यालिफोर्नियाका सरकारी निकायहरूलाई निर्देशन दिइएको छ । सफ्टवेयर र ग्राहक सेवादेखि मिडिया, स्वास्थ्य, वित्त र ढुवानीजस्ता क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेका बेला यो निर्णय आएको हो । 

क्यालिफोर्नियालाई टेक्नोलोजी हब मानिन्छ । ओपनएआई, गुगल, मेटा, एन्थ्रोपिक लगायत विश्वका प्रमुख एआई कम्पनीहरू पनि क्यालिफोर्नियामै अवस्थित छन् । एआईले रोजगारी सिर्जना गर्छ कि नष्ट गर्छ भन्ने विश्वव्यापी बहसको केन्द्र पनि अहिले यही राज्य बनेको छ ।

कार्यकारी आदेशअनुसार क्यालिफोर्नियाको रोजगार विकास विभागले आगामी ९० दिनभित्र एआईसँग सम्बन्धित रोजगारी प्रभाव ट्र्याक गर्ने सार्वजनिक ड्यासबोर्ड सञ्चालनमा ल्याउनुपर्नेछ । बेरोजगारी बीमा तथ्याङ्क र श्रम बजारका सूचकहरूको आधारमा कुन क्षेत्र र कुन समुदाय एआईका कारण सबैभन्दा बढी प्रभावित हुन सक्छन् भन्ने अध्ययन गरिने भएको छ ।

गभर्नर न्युसमले एआईबाट सिर्जना हुने आर्थिक अवसर ठुला प्रविधि कम्पनीहरू मात्र नभइ श्रमिक र समुदायले पनि पाउनुपर्छ भन्ने उद्देश्यले आदेश ल्याइएको बताएका छन् । आदेशमा एआईका कारण प्रभावित कामदारका लागि सुरक्षात्मक नीतिहरू पुनरावलोकन गर्न पनि भनिएको छ । यसअन्तर्गत सेवाबाट हटाइने कर्मचारीका लागि क्षतिपूर्ति, पुनःतालिम कार्यक्रम तथा ठुलो मात्रामा कर्मचारी कटौती हुँदा अग्रिम सूचना दिनुपर्ने क्यालिफोर्नियाको कानुनी व्यवस्थाको समीक्षा गरिने उल्लेख छ ।

यो निर्णय प्रविधि क्षेत्रमा बढ्दो रोजगारी कटौतीबिच आएको हो । पछिल्लो केही वर्षदेखि ठुला कम्पनीहरुले कर्मचारी घटाउँदै एआईमा लगानी बढाइरहेका छन् । विश्लेषकहरूका अनुसार इन्ट्री लेभलका रोजगारीहरू एआईबाट सबैभन्दा बढी प्रभावित हुन सक्ने देखिन्छ । क्यालिफोर्निया गभर्नरको आदेशले “वर्क शेयर” कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।

यस कार्यक्रमअन्तर्गत कम्पनीहरूले कर्मचारी हटाउनुको सट्टा काम गर्ने समय घटाउन सक्ने र कर्मचारीले आंशिक बेरोजगारी भत्ता पाउने व्यवस्था हुन्छ । साथै, एआईबाट हुने आर्थिक लाभलाई श्रमिकमैत्री बनाउन कर्मचारी स्वामित्व र सार्वजनिक हितमा लगानीका नयाँ मोडलहरू पनि अध्ययन हुने भएको छ ।

क्यालिफोर्निया पछिल्ला वर्षहरूमा एआई नियमनमा सबैभन्दा सक्रिय अमेरिकी राज्यका रूपमा उदाएको छ । राज्यले एआई विकासकर्ता कम्पनीहरूलाई पारदर्शिता, सुरक्षा परीक्षण र प्रशिक्षण डेटाबारे खुलासा गर्न बाध्य पार्ने विभिन्न कानुनहरू समेत अघि बढाइसकेको छ ।

अमेरिकामा एआई नियमनबारे राजनीतिक मतभेद बढिरहेका बेला यो कदम आएको हो । क्यालिफोर्नियाले कडा निगरानी र श्रमिक सुरक्षामा जोड दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यधिक नियमनले चीनसँगको प्रतिस्पर्धामा असर गर्न सक्ने भन्दै सङ्घीय स्तरको एआई आदेश स्थगित गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ ९:३७