खल्ती एपमा ‘स्टक हब’ सेवा सुरु, नेप्सेको लाइभ अपडेटदेखि आईपीओ पाइपलाइनसम्म जानकारी पाइने
जेठ १४, २०८३ १८:१०
काठमाडौँ । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड (खल्ती) ले शेयर बजारसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ‘खल्ती स्टक हब’ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजना हुने 'खल्ती जात्रा २०८३' को उपलक्ष्यमा यो नयाँ फिचर सार्वजनिक गरेको हो ।
यस सेवामार्फत प्रयोगकर्ताले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को लाइभ डेटा, सर्वाधिक नाफा कमाउने र गुमाउने कम्पनीको सूची तथा आईपीओ पाइपलाइन लगायतका जानकारी खल्ती एपबाटै प्राप्त गर्न सक्नेछन् ।
योसँगै खल्ती लाइभ शेयर मूल्य हेर्न, आईपीओ ट्रयाक गर्न, विभिन्न क्याल्कुलेटरमार्फत लगानीको हिसाब गर्न र लाभांश तालिका बुझ्न सकिने नेपालको पहिलो डिजिटल वालेट बनेको छ ।
नेपालमा लाखौँ डिम्याट खाता रहे तापनि सही सूचना र भरपर्दो प्लेटफर्मको अभावले गर्दा ठुलो सङ्ख्याका लगानीकर्ताहरू दोस्रो बजारको कारोबारमा सक्रिय हुन सकेका छैनन् । खल्ती स्टक हबमार्फत कम्पनीले यही खाडललाई कम गर्दै शेयर बजारको पहुँचलाई सर्वसाधारणका लागि थप सहज र सरल बनाउने लक्ष्य राखेको छ ।
यो प्लेटफर्म शेयर किनबेच गर्ने माध्यम नभए तापनि यसले लगानीकर्ताहरूलाई ब्रोकरमार्फत कारोबार गर्नुअघि बजारको अवस्था विश्लेषण गर्न र सुसूचित निर्णय लिन मद्दत पुर्याउने कम्पनीले जनाएको छ ।
खल्ती स्टक हबमा रहेको लाइभ मार्केट ड्यासबोर्ड अन्तर्गत लाइभ नेप्से इन्डेक्स, टप गेनर्स तथा लुजर्स, टप टर्नओभर र सूचीकृत कम्पनीहरूको अन्तिम कारोबार मूल्यको रियल-टाइम जानकारी उपलब्ध छ ।
वालेटभित्रै पहिलोपटक ट्रान्जेक्सन, एभरेजिङ, एडजस्टमेन्ट, डिभिडेन्ड, कम्पाउन्डिङ र एसआईपी गरी ६ विभिन्न क्याल्कुलेटरहरू समावेश गरिएको छ ।
आगामी आईपीओको विवरण, आवेदन मिति, सूचीकृत कम्पनीहरूको लाभांश भुक्तानी तालिका र प्रमोटर शेयर अनलक हुने मितिको जानकारी पनि एकै ठाउँमा हेर्न सकिनेछ ।
प्रयोगकर्ताले खल्ती एप अपडेट गरी होम स्क्रिनमा रहेको ‘Khalti Stock Hub’ आइकनमा क्लिक गरेर यो सेवा उपयोग गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १८:१७
