close

फ्याक्टचेकः राइड शेयरिङ गर्ने मोटरसाइकलमा अनिवार्य कालो नम्बर प्लेट राख्नुपर्ने भन्दै भाइरल समाचार भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ २०, २०८३ ९:४७

फ्याक्टचेकः राइड शेयरिङ गर्ने मोटरसाइकलमा अनिवार्य कालो नम्बर प्लेट राख्नुपर्ने भन्दै भाइरल समाचार भ्रामक

काठमाडौँ । गएको शनिबारदेखि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्लेटफर्ममा राइड शेयरिङ गर्ने मोटरसाइकलले अब अनिवार्य रूपमा कालो नम्बर प्लेट राख्नुपर्ने दाबीसहितका समाचार र पोस्ट भाइरल भइरहेका छन् । १५ जेठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा पेस गरेको आर्थिक विधेयक २०८३ लाई आधार बनाएर यस्तो दाबी गरिएको हो ।

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको देखिएको छ । आर्थिक विधेयक २०८३ मा राइड शेयरिङ गर्ने दुईपाङ्ग्रे सवारीसाधनका लागि कालो नम्बर प्लेट राख्नुपर्ने कुनै पनि व्यवस्था उल्लेख गरिएको छैन । उक्त विधेयकले केवल कर (५ प्रतिशत भ्याट) मात्र प्रस्ताव गरेको हो । 

विधेयकमा समावेश सोही प्रस्तावित व्यवस्थालाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सँग जोडेर भ्रम फैलाइएको देखिएको हो । यस विषयमा अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले पनि हालसम्म यस्तो कुनै व्यवस्था नगरिएको स्पष्ट पारेका छन् ।

दाबी

१६ जेठ २०८३ मा रातोपाटी डटकमले ‘राइड सेयरिङ गर्ने दुई पाङ्ग्रेलाई अब कालो नम्बर प्लेट, वार्षिक कर पनि तोकियो’ शीर्षकमा समाचार राख्यो । समाचारको भित्रि भागमा लेखिएको छ, “रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने भएका छन् । सरकारले ल्याएको नयाँ आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो । 

यसपटकदेखि दुई पाङ्ग्रे सवारी साधनलाई समेत भाडाको सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरिएको छ । यसरी दर्ता हुने सवारी साधनको कालो नम्बर प्लेट दिने व्यवस्था यातायात ऐन २०४९ मा छ…।” 

हेर्नुहोस् ओरिजिनल समाचार, आर्काइभ र स्क्रिनशट । यो समाचार रातोपाटीले सामाजिक सञ्जाल फेसबुकमा पनि शेयर भएको छ ।

अनुसन्धान

तथ्यजाँचका क्रममा ‘कालो नम्बर प्लेट’, ‘Black Number Plate’ जस्ता किवर्ड राखेर गुगल सर्च गर्दा नोटबजार (ओरिजिनल आर्काइभ), जनरक्षा (ओरिजिनल आर्काइभ), बिजनेस भ्युज (ओरिजिनलआर्काइभ), नेपाल अटो (ओरिजिनल आर्काइभ), नयाँ सडक (ओरिजिनल आर्काइभ), खबर डबली (ओरिजिनल आर्काइभ) नामक अनलाइन सञ्चार माध्यमले सोही दाबी सहितका समाचार तथा पोस्ट राखेको फेला पर्‍यो । यी सबैले आर्थिक विधेयक २०८३ ले अनिवार्य रूपमा राइड शेयरिङ गर्ने दुई पाङ्ग्रे सवारीले कालो नम्बर प्लेट जडान गर्नुपर्ने दाबी गरेका छन् । 

 

  

 

 

उज्यालो अनलाइन डटकमले फेसबुक पेजमा ‘राइड सेयरिङमा प्रयोग हुने सवारीसाधनमा छुट्टै कालो नम्वर प्लेट राख्नुपर्ने र रातो नम्बर प्लेट भएको सवारीसाधनले राइड सेयरिङ गर्न नपाउने व्यवस्था गरिएको तपाइँलाई कस्तो लाग्यो?’ भन्दै पोस्ट राखेको छ । हेर्नुहोस् पोस्ट

त्यस्तै फेसबुक र इन्स्टाग्राममा ‘sharesanskar’ नामक फेसबुक पेजले राइड शेयरिङ गर्ने मोटरसाइकल र स्कुटरले कालो नम्बर प्लेट राख्नुपर्ने भन्दै पोस्ट राखेको फेला पर्‍यो । इन्स्टाग्राममा २८०० भन्दा बढी लाइक आएको सो पोस्टमा ७१ ओटा कमेन्ट छन् (हेर्नुहोस् पोस्ट) । साथै फेसबुकमा पनि राखिएको यस पोस्टमा ६२४ रियाक्सन, ७७ कमेन्ट आएका छन् भने ८ पटक शेयर गरिएको छ । हेर्नुहोस् पोस्ट

ग्याजेटबाइट नामक फेसबुक पेजले पनि अङ्ग्रेजीमा पोस्ट राख्दै निजी (रातो नम्बर प्लेटका) मोटरसाइकले राइड शेयरिङ गर्न नपाउने दाबी गरेको छ । हेर्नुहोस् पोस्ट । जनता न्युज नामक फेसबुक पेजले पनि सोही दाबीसहित पोस्ट राखेको छ । 

हेर्नुहोस् पोस्ट १, पोस्ट २ । जनबोली टिभी नामको पेजले पनि सोही दाबीसहित पोस्ट राखेको फेला पर्‍यो । हेर्नुहोस् पोस्ट । आरओई नेटवर्क नामक फेसबुक पेजको दाबी पनि उही छ । हेर्नुहोस् पोस्ट । हिमाली पत्रिका नामक फेसबुक पेजले पनि सोही दाबीसहितको पोस्ट राखेको छ (फोटोमा भने सरकारी नम्बर प्लेट अर्थात् सेतो नम्बर प्लेटमा रातो नम्बर भएको राखिएको छ)। हेर्नुहोस् पोस्ट

 

  

यसबारे तथ्यजाँच गर्न टेकपाना फ्याक्टचेक डेस्कले आर्थिक विधेयक २०८३ विश्लेषण गर्‍यो । सो विधेयकमा उल्लेख गरिएका राइड शेयरिङ सम्बन्धी व्यवस्था समेटिएका बुँदाको स्क्रिनशट तल राखिएको छ । 

यहाँ कतै पनि नम्बर प्लेट उल्लेख गरिएको छैन । समूह ९ मा राइड शेयरिङ शब्द उल्लेख छ । तर, सो समूहले ‘हवाई यातायात’, ‘राइड शेयरिङ प्लेटफर्म मार्फत प्रदान गरिने यातायात तथा ढुवानी सेवा र केबुलकार बाहेकलाई सार्वजनिक यात्रु वाहक  यातायात तथा ढुवानी सेवाका रूपमा परिभाषित गरेको छ । 

त्यस बाहेक अन्य बुँदामा राइड शेयरिङलाई करको सन्दर्भका रूपमा मात्र उल्लेख गरिएको छ । त्यस्तै राइड शेयरिङलाई यस विधेयकले कुनै पनि रूपमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सँग जोडेको देखिँदैन । सार्वजनिक यातायातका रूपमा प्रयोग हुने सवारी साधनमा कालो नम्बर प्लेट हुनुपर्ने व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ को खण्ड (क) ले उल्लेख गरेको छ । 

 

तर, यस ऐनले राइड शेयरिङ सेवालाई नियमन गर्दैन वा समेटेको छैन । त्यसैले आर्थिक विधेयकमा राइड शेयरिङलाई कतै पनि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सँग जोडेको छैन । विधेयकमा राइड शेयरिङ गर्ने दुई पाङ्ग्रे सवारीले कालो नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भनिएको पनि छैन । 

तथ्यजाँचका क्रममा टेकपाना फ्याक्टचेक डेस्कले आर्थिक विधेयक, राइड शेयरिङ र कालो नम्बर प्लेट अनिवार्य भनिएको विषयबारे थप जानकारी लिन अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्साललाई सम्पर्क गर्‍यो । ‘अब राइड शेयरिङ गर्ने दुई पाङ्ग्रे सवारी साधनले अनिवार्य रूपमा कालो नम्बर प्लेट राख्नुपर्ने बाध्यकारी व्यवस्था आर्थिक विधेयकले गरेको हो ?’ भनी डेस्कले प्रश्न गर्‍यो । 

यस्तो छ प्रवक्ता लम्सालको जवाफः

यातायात व्यवस्था विभागमा दर्ता गर्ने प्रयोजनका लागि (जसरी हाल ट्याक्सीहरू कालो प्लेटमा दर्ता हुन्छन्) यहाँ एउटा छुट्टै उपशीर्षक राखिएको छ । यद्यपि, राइड शेयरिङ गर्ने सवारी साधनले अनिवार्य रूपमा कालो प्लेट नै बनाउनुपर्छ भन्ने कतै उल्लेख छैन । त्यसैले रातो प्लेट भएका र कालो प्लेट भएका दुवै प्रकारका सवारी साधनले यो सेवा सञ्चालन गर्न पाउँछन् । यातायात व्यवस्था विभागले यसको दर्ता र नियमनका लागि तयारी गरिरहेकाले यस विषयलाई उपशीर्षक दिएर छुट्टै राखिएको हो ।

अर्कोतर्फ, भ्याट (मूल्य अभिवृद्धि कर) को विषय दर्ताभन्दा पूर्ण रूपमा फरक छ । दुई पाङ्ग्रे सवारी साधन रातो नम्बर प्लेटको भए पनि ‘म राइड शेयरिङ सेवा दिन्छु’ भन्ने बित्तिकै ऊ भ्याटको दायरामा आउनु पर्दछ र कर तिर्नु पर्दछ । हालको बजेट व्यवस्था अनुसार राइड शेयरिङ सेवाबापत ५ प्रतिशत भ्याट लाग्ने स्पष्ट पारिएको छ । तसर्थ, राइड शेयरिङ गर्नेहरू अनिवार्य रूपमा भ्याटको दायराभित्र आउनुपर्नेछ भने यसको नियमन सम्बन्धी अन्य विषय यातायात व्यवस्था विभागले भविष्यमा छुट्टै गर्ने नै छ ।"

यी विभिन्न तथ्यहरूबाट राइड शेयरिङ सेवा दिने दुई पाङ्ग्रे सवारी साधनले अनिवार्य रूपमा कालो नम्बर प्लेट लिनुपर्ने भन्ने दाबी भ्रामक पुष्टि हुन्छ ।

दाबी

सरकारले बजेटमार्फत ल्याएको आर्थिक विधेयक २०८३ अनुसार अब राइड शेयरिङ गर्ने दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) ले अनिवार्य रूपमा कालो नम्बर प्लेट राख्नुपर्ने । रातो नम्बर प्लेट भएका दुई पाङ्ग्रेले राइड शेयरिङ गर्न नपाउने । 

दाबीकर्ता 

रातोपाटी डटकम, नोटबजार, जनरक्षा, बिजनेस भ्युज, नेपाल अटो, नयाँ सडक, खबर डबली जस्ता अनलाइन सञ्चार माध्यम र उज्यालो अनलाइन, sharesanskar, ग्याजेटबाइट, जनता न्युज, जनबोली टिभी, आरओई नेटवर्क, हिमाली पत्रिका लगायतका फेसबुक तथा इन्स्टाग्राम पेजहरू लगायत अन्य अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जाल पेज एवं प्रयोगकर्ता ।

तथ्य 

आर्थिक विधेयकमा उल्लेख नभएको: आर्थिक विधेयक २०८३ मा राइड शेयरिङ गर्ने सवारीसाधनले कालो नम्बर प्लेट राख्नुपर्ने वा नम्बर प्लेट परिवर्तन गर्नुपर्ने कुनै पनि व्यवस्था गरिएको छैन ।

कर सम्बन्धी व्यवस्था मात्र गरिएको: उक्त विधेयकमा राइड शेयरिङलाई करको दायरामा ल्याउने प्रस्ताव मात्र गरिएको छ । नयाँ व्यवस्था अनुसार राइड शेयरिङ सेवाबापत ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने उल्लेख छ ।

ऐनसँगको सम्बन्ध: यस विधेयकले राइड शेयरिङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सँग जोडेको छैन । उक्त ऐनले हाल राइड शेयरिङलाई समेट्दैन ।

मन्त्रालयको स्पष्टीकरण: अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार राइड शेयरिङ गर्ने सवारीसाधनले अनिवार्य रूपमा कालो प्लेट राख्नुपर्ने व्यवस्था गरिएको छैन । रातो र कालो दुवै प्लेट भएका सवारी साधनले यो सेवा सञ्चालन गर्न पाउँछन् । तर उनीहरू अनिवार्य रूपमा कर (भ्याट) को दायरामा भने आउनुपर्नेछ ।

निष्कर्ष

आर्थिक विधेयक २०८३ ले राइड शेयरिङ सेवालाई करको दायरामा ल्याई ५ प्रतिशत भ्याट प्रस्ताव गरेको भए तापनि यसले कालो नम्बर प्लेट अनिवार्य गरेको छैन । राइड शेयरिङ गर्ने दुईपाङ्ग्रे सवारीसाधनले अनिवार्य रूपमा कालो नम्बर प्लेट राख्नुपर्ने र रातो प्लेटले सेवा दिन नपाउने भनी फैलाइएको दाबी भ्रामक हो ।

 

दाबी भ्रामक हुँदा प्रयोग हुने चिन्हदाबी भ्रामक हुँदा प्रयोग हुने चिन्ह

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ ११:७