close

सामसङको नयाँ पोर्टेबल प्रोजेक्टर, जुनसुकै स्थानलाई १०० इन्चसम्मको ठुलो स्क्रिनमा बदल्न सक्ने

टेकपाना टेकपाना

साउन ३, २०८३ १४:३१

सामसङको नयाँ पोर्टेबल प्रोजेक्टर, जुनसुकै स्थानलाई १०० इन्चसम्मको ठुलो स्क्रिनमा बदल्न सक्ने

काठमाडौं । सामसङले आफ्नो चर्चित पोर्टेबल प्रोजेक्टरको नयाँ संस्करण द फ्रिस्टाइल प्लस सार्वजनिक गरेको छ । कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि र अत्याधुनिक सेन्सर एकीकृत गर्दै जुनसुकै स्थानलाई क्षणभरमै व्यक्तिगत सिनेमाघरमा परिणत गर्न सक्ने दाबीका साथ यो स्मार्ट प्रोजेक्टर ल्याएको हो ।

यस वर्षको सुरुमा आयोजित सीईएस २०२६ मा पहिलो पटक प्रदर्शन गरिएको यो अत्याधुनिक प्रोजेक्टरको बजार मूल्य १,१९९.९९ अमेरिकी डलर (करिब १ लाख ८५ हजार रुपैयाँ) तोकिएको छ । यो नयाँ प्रोजेक्टर यसअघिको दोस्रो पुस्ताको द फ्रिस्टायलभन्दा थप परिष्कृत र प्रविधियुक्त रहेको छ । जसको मूल्य तत्कालीन समयमा ८०० डलर (अहिले अमेजनमा ७९८ डलर) रहेको थियो ।

हाल यो प्रोजेक्टर सामसङको आधिकारिक वेबसाइट र निश्चित खुद्रा बिक्रेताहरूमार्फत खरिदका लागि उपलब्ध भइसकेको छ । यो नयाँ प्रोजेक्टर अत्यन्तै आकर्षक, पातलो र हलुका डिजाइनमा उपलब्ध छ, जसले गर्दा यसलाई सजिलैसँग जुनसुकै ठाउँमा बोकेर लैजान सकिन्छ ।

यो प्रोजेक्टरको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यसमा रहेको एड्भान्स एआई क्षमता हो । यसमा समावेश थ्रिडी अटो किटोन र वाल क्यालिब्रेसन प्रविधिले कोठाको कुना, असमान सतह वा बुट्टेदार भित्ता जस्ता असहज ठाउँमा पनि प्रोजेक्सन गर्दा आउने समस्या (distortion) लाई स्वतः सुधारेर तस्बिरलाई समतल बनाइदिन्छ । यसले भित्ताको रङ र बुट्टा (pattern) लाई समेत पहिचान गरी सोही अनुसार तस्बिरको रङ र उज्यालोपन (brightness) लाई स्वतः समायोजन गर्छ ।

यसका साथै स्क्रिन फिट र अब्स्ट्याकल अभोइडेन्स फिचरले भित्तामा उपलब्ध खाली ठाउँ अनुसार प्रोजेक्सन साइज मिलाउने र प्रोजेक्सनको बाटोमा आउने अवरोधहरू स्वतः पत्ता लगाई तस्बिरको स्थान परिवर्तन गर्ने काम गर्छ । नयाँ उत्पादन सार्वजनिक गर्दै सामसङ इलेक्ट्रोनिक्स अमेरिकाका होम इन्टरटेनमेन्ट प्रमुख शेन हिग्बीले भनेका छन्, "द फ्रिस्टाइल प्लस मार्फत हामीले पोर्टेबल मनोरञ्जनको सीमालाई पुनः परिभाषित गरिरहेका छौँ । भित्ताको बुट्टा अनुसार समायोजन गर्ने, कोठाको प्रकाश क्यालिब्रेट गर्ने वा अवरोधहरू स्वतः छिचोल्ने जस्ता शक्तिशाली एआई क्षमताहरू एकीकृत गरेर हामीले प्रयोगकर्ताहरूलाई आफूले चाहेको स्थानमा स्वतन्त्र रूपमा कन्टेन्ट हेर्ने सुविधा दिएका छौँ । हाम्रो उद्देश्य प्रयोगकर्ताका लागि सहज 'प्वाइन्ट एन्ड प्ले' अनुभव सिर्जना गर्नु हो, जसले जुनसुकै ठाउँलाई तुरुन्तै इमर्सिभ अनुभवमा बदल्न सकोस् ।"

प्राविधिक पक्षतर्फ कुरा गर्दा यो प्रोजेक्टरले १०८० पिक्सेल फुल एचडी रिजोलुसनमा अधिकतम १०० इन्चसम्मको ठुलो स्क्रिन प्रोजेक्सन गर्न सक्छ । ४३० आईएसओ ल्युमेन्स ब्राइटनेस क्षमता भएको यस प्रोजेक्टरले परकलर (PurColor) र एचडीआर-१० प्लस प्रविधि सपोर्ट गर्छ । जसले भित्र कोठामा वा बाहिर खुला ठाउँमा पनि जीवन्त रङ, उत्कृष्ट कन्ट्रास्ट र डेप्थ प्रदान गर्छ । यसमा रियल-टाइम फोकसका लागि विशेष अल्ट्रासोनिक मोटर जडान गरिएको छ, जसले प्रोजेक्सन सतह र प्रोजेक्टर बीचको दुरी मापन गरी तुरुन्तै स्पष्ट फोकस मिलाउँछ ।

उत्कृष्ट भिजुअलसँगै यसमा सर्वोत्कृष्ट अडियोको पनि व्यवस्था गरिएको छ । डुअल-प्यासिभ वुफरसहितको बिल्ट-इन स्पिकरले ३६० डिग्री इमर्सिभ साउन्ड प्रदान गर्छ । थप शक्तिशाली आवाजका लागि यसमा क्यू-सिम्फोनी प्रविधि पनि दिइएको छ, जसको मद्दतले सामसङको मिल्दो साउन्डबार वा वाई-फाई स्पिकरसँग अडियोलाई सिङ्क्रोनाइज गर्न सकिन्छ ।

मनोरञ्जनलाई थप सहज बनाउन यसमा स्मार्ट हब र क्लाउड गेमिङको व्यवस्था गरिएको छ । प्रयोगकर्ताले कुनै पनि कन्सोल बिना नै सिधै गेमिङ हबबाट क्लाउड गेमहरू स्ट्रिम गर्न सक्छन् भने सामसङ टिभी प्लस मार्फत ७५० भन्दा बढी सब्सक्रिप्सन-रहित च्यानलहरू हेर्न सक्छन् । यसमा नयाँ भिजन एआई कम्प्यानियन थपिएको छ, जसमा सामसङका एड्भान्स एआई फिचरहरू एकल ड्याशबोर्डमा एकीकृत गरिएका छन् । प्रयोगकर्ताले बिक्सबी र जेमनाईको प्रयोग गरी आवाजकै भरमा प्रश्न सोध्न र विभिन्न सुझावहरू प्राप्त गर्न सक्छन् ।

कनेक्टिभिटीका लागि यसमा ग्यालेक्सी डिभाइसहरूबाट सिधै कन्टेन्ट प्रोजेक्सन गर्न ट्याप भ्यु वा स्मार्ट भ्यु र एप्पल डिभाइसहरूका लागि एयरप्ले २ सपोर्ट उपलब्ध छ । यो प्रोजेक्टर सञ्चालनका लागि बिजुलीको प्लग आवश्यक पर्ने भए तापनि घरबाहिर वा क्याम्पिङमा जाँदा यसलाई सजिलैसँग छुट्टै खरिद गर्न सकिने द फ्रिस्टाइल ब्याट्री बेस वा अन्य उपयुक्त यूएसबी-सी बाह्य ब्याट्रीसँग जोडेर निरन्तर प्रयोग गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८३ १४:३१