close

विश्वकै पहिलो १०,००० निट्स ब्राइटनेस भएको फोन अनर एक्स-८० प्रो म्याक्स, ब्याट्री ११,००० एमएएच

टेकपाना टेकपाना

असार ७, २०८३ ८:९

विश्वकै पहिलो १०,००० निट्स ब्राइटनेस भएको फोन अनर एक्स-८० प्रो म्याक्स, ब्याट्री ११,००० एमएएच

काठमाडौं । अनरको नयाँ स्मार्टफोन एक्स-८० प्रो म्याक्स १०,००० निट्सको पिक ब्राइटनेस युक्त डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन हुने भएको छ । यो फोन चीनमा भोलि २२ जुनको दिन सार्वजनिक हुँदैछ ।

यो फोनमा ६.८ इन्चको १.५ के (२७८८×१२८०) ओलेड डिस्प्ले रहेको छ । जसमा १२० हर्ज रिफ्रेश रेट र १.३ एमएमको निकै स्लिम बेजल छ । १०,००० निट्सको ब्राइटनेस 'लोकल पिक' (सानो उज्यालो भागमा मात्र) हो भने फुल-स्क्रिनमा यसले २,००० निट्सको उत्कृष्ट ब्राइटनेस दिनेछ । साथै, स्क्रिन फ्लिकरबाट आँखालाई जोगाउन यसमा ३,८४० हर्ज पीडब्लूएम डिमिङ प्रविधि प्रयोग गरिएको छ ।

ब्याट्री र डिजाइनको कुरा गर्नुपर्दा यो फोनको अर्को मुख्य इन्जिनियरिङ सफलता यसको ११,००० एमएएच क्षमताको शक्तिबाली ब्याट्री हो । यति ठुलो ब्याट्री भए तापनि यो फोन मात्र ८.०८ एमएम पातलो छ र यसको तौल जम्मा २०३ ग्राम छ । यसले ९० वाटको वायर्ड फास्ट चार्जिङ र २७ वाटको रिभर्स चार्जिङ सपोर्ट गर्छ । जसले अन्य डिभाइस पनि चार्ज गर्न मद्दत गर्छ ।

यो फोन निकै बलियो गरी बनाइएको छ । यसले एसजीएस गोल्ड लेबल फाइभ-स्टार ड्रप रेजिस्टेन्स प्राप्त गरेको छ । जसको अर्थ यो ३ मिटरको उचाइबाट खस्दा पनि सुरक्षित रहन्छ । धुलो र पानीबाट बचाउन यसमा आईपी-६६/आईपी-६९/आईपी-६९/आईपी-६९-के रेटिङ दिइएको छ । अनरले फोन पहिलो पटक खसेर स्क्रिन फुटेमा नि:शुल्क स्क्रिन परिवर्तनको सुविधा पनि दिने घोषणा पनि गरेको छ ।

मिड-रेन्जको यो फोनमा स्न्यापड्रागन ६ जेन ५ प्रोसेसर प्रयोग गरिएको छ । फोटोका लागि यसमा ५० एमपी ओआईएस रियर क्यामेरा र ८ एमपीको सेल्फी क्यामेरा रहेको छ । साथै अप्टिकल फिंगरप्रिन्ट स्क्यानर पनि समावेश छ ।

पर्फर्मेन्सलाई निरन्तरता दिन र उत्कृष्ट बनाउन यसमा 'हमिङबर्ड आर्किटेक्चर २.०' सफ्टवेयर लेयर राखिएको छ । जसले छोटा भिडिओ प्लेब्याकलाई ४०% सम्म स्मुथ बनाउने दाबी गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ७, २०८३ ८:१६