close

नर्वेका आधारभूत विद्यालयमा जेनेरेटिभ एआई प्रतिबन्ध, कक्षाकोठामा पुस्तकको प्रयोग बढाउने

टेकपाना टेकपाना

असार ७, २०८३ ९:३०

नर्वेका आधारभूत विद्यालयमा जेनेरेटिभ एआई प्रतिबन्ध, कक्षाकोठामा पुस्तकको प्रयोग बढाउने

काठमाडौं । नर्वेले आधारभूत तहका विद्यार्थीहरूका लागि जेनेरेटिभ एआई उपकरणहरूको प्रयोगमा लगभग पूर्ण प्रतिबन्ध लगाएको छ । साथै, सिकाइमा नकारात्मक प्रभाव पर्न नदिन निम्न माध्यमिक र माध्यमिक तहका बालबालिकाको शिक्षामा समेत यसको प्रयोगलाई सीमित गरिएको नर्वेका प्रधानमन्त्री जोनस गार स्टोरेले बताएका छन् ।

शैक्षिक नतिजामा व्यापक गिरावट देखिएपछि नर्वे सरकारले सन् २०२४ मा विद्यालयहरूमा स्मार्टफोन प्रतिबन्ध लगाएको थियो । साथै, कक्षाकोठामा अनुशासन बढाउन शिक्षकहरूलाई थप अधिकार पनि दिएको छ । रोयटर्समा प्रकाशित रिपोर्टअनुसार एआईको प्रयोगले साना बालबालिकाले आफ्नो शिक्षाको महत्वपूर्ण चरणहरू छोड्ने जोखिम बढाएको नर्वेका प्रधानमन्त्रीले बताएका छन् ।

“विद्यालयमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रा बालबालिकाले पढ्न, लेख्न र गणित गर्न सिक्नु हो,” स्टोरेले भने । गत शुक्रबार जारी गरिएका नयाँ मापदण्डहरू आगामी अगस्टको अन्त्यमा सुरु हुने नयाँ शैक्षिक वर्षदेखि लागु गरिने भएको छ । नर्वे सरकारका अनुसार ६ देखि १३ वर्ष उमेरका अर्थात् कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले सामान्य रूपमा एआई प्रयोग गर्न पाउने छैनन् । तर १४ देखि १६ वर्ष उमेरका निम्न माध्यमिक तहका विद्यार्थीहरूले भने शिक्षकको निगरानीमा सावधानीपूर्वक एआई उपकरण प्रयोग गर्न सक्नेछन् ।

उच्च माध्यमिक तहका (१७ देखि १९ वर्ष उमेरका विद्यार्थीहरू) विद्यार्थीहरूले पनि थप शिक्षा र रोजगारीका लागि तयार हुन एआईलाई उचित रूपमा प्रयोग गर्न सिक्नुपर्नेछ । नर्वेले सन् १९९० को दशकदेखि कक्षाकोठामा कम्प्युटर प्रयोग अपनाउन थालेको थियो । सन् २०१० देखि आईप्याड सार्वजनिक भएपछि ट्याबलेटको प्रयोग पनि विस्तार गरेको थियो । यसले पुस्तक र हातले लेख्ने (ह्यान्डराइटिङ) मा निर्भरता घटाएको थियो ।

तर गत शुक्रबार प्रकाशित वक्तव्यमा नर्वे सरकारले कक्षाकोठामा पुस्तकहरूको प्रयोग बढाउनका लागि कोष उपलब्ध गराउने कानुन प्रस्ताव गर्ने पनि जनाएको छ । यसले कम्प्युटर ट्याबलेटतर्फ बढ्दो प्रवृत्तिलाई उल्ट्याउने संकेत गरेको छ । नर्वे सरकारले गत अप्रिलमा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने योजना पनि घोषणा गरेको थियो । 

पछिल्लो अध्यावधिक: असार ७, २०८३ ९:३१