close

चिकित्सकको उपाधि बिनै स्वास्थ्य परामर्श र बिरामी जाँचेको आरोपमा ‘डा. चेतना पौडेल’ पक्राउ

थिइन् सामाजिक सञ्जालमा सक्रिय

टेकपाना टेकपाना

असार ११, २०८३ १५:११

चिकित्सकको उपाधि बिनै स्वास्थ्य परामर्श र बिरामी जाँचेको आरोपमा ‘डा. चेतना पौडेल’ पक्राउ

काठमाडौं । आफूलाई नेपालको पहिलो नेचुरोपेथिक (प्राकृतिक चिकित्सा) विशेषज्ञ दाबी गर्दै सामाजिक सञ्जालमा स्वास्थ्य परामर्श दिँदै आएकी चेतना पौडेल पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको हो ।

चिकित्सकको उपाधि नलिई सो उपाधि प्रयोग गरेको र नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभई अवैध रूपमा बिरामीको उपचारमा संलग्न भएको आरोप उनीमाथि लगाइएको छ ।

पौडेलले फेसबुकमा ‘DrChetana Paudel’ नामको पेजमार्फत स्वास्थ्यसम्बन्धी विभिन्न सल्लाह (टिप्स) दिँदै आएकी थिइन् । उनले आफूलाई 'नेपालको पहिलो नेचुरोपेथिक विशेषज्ञ' र 'फङ्सनल मेडिकल विशेषज्ञ' का रूपमा प्रस्तुत गर्ने गरेकी थिइन् । फेसबुकमा उनका एक लाख २४ हजारभन्दा बढी र टिकटकमा १२ हजारभन्दा बढी फलोअर छन् ।

चन्द्रागिरि नगरपालिका-८ स्थित ‘स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट’ सञ्चालन गर्दै आएकी पौडेलले अनुमति बिना नै बिरामीलाई आधुनिक चिकित्सा पद्धति (एलोपेथिक) बाट उपचार गर्ने र औषधि सिफारिस गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिल, बाँसबारीले गरेको नियमित अनुगमनका क्रममा उनले अवैध रूपमा बिरामी जाँच गर्ने र औषधि पुर्जी (प्रेस्क्रिप्सन) लेख्ने गरेको प्रमाण फेला परेको थियो । त्यसपछि काउन्सिलले कारबाहीका लागि सीआईबीमा उजुरी दिएको थियो ।

काउन्सिलको उजुरीपछि ब्युरोले प्रारम्भिक अनुसन्धान सकेर मंगलबार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । मंगलबार नै चन्द्रागिरि-८ बाट पक्राउ परेकी पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ‘इलाज सम्बन्धी कसुर’ अन्तर्गत थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

 



 

 

पछिल्लो अध्यावधिक: असार ११, २०८३ १५:११