close

गोरुमाथि निर्दयी व्यवहार गरी भिडिओ बनाउने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

जेठ २१, २०८३ १६:९

गोरुमाथि निर्दयी व्यवहार गरी भिडिओ बनाउने व्यक्ति पक्राउ

काठमाडौंं । गोरुलाई निर्दयी व्यवहार गरी सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका वडा नं. १ बस्ने ३६ वर्षीय जालिराम थापा मगर रहेका छन् ।

चार-पाँच दिनयता सामाजिक सञ्जालमामा एउटा भिडिओ भाइरल भएको थियो । उक्त भिडिओमा मगरले आफ्नो खेतबारीमा गोरु जोतिरहेको अवस्थामा गोरु थाकेर हिँड्न नसकी खेतमा बसेपछि गोरुको नाक र मुख माटोमा गाडी दिने, कुटपिट गर्ने र अमानवीय व्यवहार गरेको देखिन्छ ।

पशुमाथि गरिएको उक्त क्रूर र निर्दयी व्यवहारको भिडिओका आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानले बिहीबार उनलाई नियन्त्रणमा लिएको हो । प्युठान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मगरमाथि मुलुकी अपराध संहिता २०७४ को 'पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने' कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ परेका मगरलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १६:१४